मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
२०७९ फाल्गुण ५ शुक्रबार ०८:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आर्थिक समस्या टार्न हेटौँडा सिमेन्ट ‘रोप–वे’ बेच्दै

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ५ शुक्रबार ०८:२२:००

आर्थिक अभावको मार खेपिरहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट उद्योगले रोप–वेलाई कवाडीका रूपमा लिलामी गर्ने भएको छ । हेटौँडा–९ मा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–वे लिलामी गर्ने तयारी गरेको हो ।

लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्रीबाट आएको पैसाले उद्योगमा देखिएको आर्थिक समस्यामा थोरै भए पनि सहयोग पुग्ने भएकाले लिलामी गर्न लागिएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए । भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर लामो रोप–वेको सिस्टमसँग जोडिएका टावर, तार र बकेटलगायतका फलामजन्य सामान लिलामी गर्न लागिएको हो ।

लामो समयदेखि बन्द रहेको रोप–वे पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको उद्योगको ठम्याइ छ । उद्योगका महाप्रबन्धक पाण्डेले ०६१ सालयता बन्द अवस्थामा रहेको रोप–वेको टावर, तार र बकेट गरी करिब १५ सय टन फलाम लिलामी गर्ने तयारी भएको बताए । उद्योगमा देखिएको आर्थिक समस्याको समाधानका लागि स्रोत जुटाउन पनि रोप–वे बेच्न लागेको उनको भनाइ छ । 

लामो समयदेखि एकै स्थानमा झुन्डिएका रोप–वेका बकेट कुनै पनि वेला खस्न सक्ने अवस्था छ । महाप्रबन्धक पाण्डेले रोप–वेको टावर रहेको र डब्बा झुन्डिएका स्थानका बासिन्दाहरूले समेत दुर्घटना हुन सक्ने भन्दै बारम्बार रोप–वे हटाउन उद्योगमा लिखित र मौखिक आग्रह गरिरहेको बताए । उनले भने, ‘प्रयोगविहीन भएर खिया लागेर बसेका रोप–वेका टावर र बकेटका कारण कुनै पनि वेला दुर्घटना हुन सक्छ । पुनः प्रयोग गर्न नसक्ने भएपछि दुर्घटनाको जोखिम लिनुभन्दा लिलाममा बेच्ने निष्कर्षमा पुगेका हौँ ।’ लिलामीको प्रक्रियाका लागि रोप–वेको मूल्यांकन समितिले प्रतिवेदन दिएपछि सोहीअनुसार लिलामीको सूचना निकाल्ने महाप्रबन्धक पाण्डेले बताए ।