Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण ४ बिहीबार १५:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु, तर पाठ्यपुस्तक छैन

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार १५:३२:००

देशभरका हिमाली जिल्लामा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । मंसिरको अन्तिम सातासम्म वार्षिक परीक्षा लिएर शैक्षिक सत्र सम्पन्न हुने गर्छ ।

तर, शैक्षिक सत्र सुरु भइसके पनि जुम्लामा अझै पाठ्यपुस्तकको अत्तोपत्तो छैन । यो वर्ष मात्रै पाठ्यपुस्तक नपुगेको भने होइन । हरेक वर्ष शैक्षिक सत्र सुरु भएको दुई–तीन महिनासम्म पाठ्यपुस्तक नपुग्दा पठनपाठन सधैँ प्रभावित हुने गरेको छ ।

समयमा पाठ्यपुस्तक नपाएको विद्यार्थीको गुनासो गुनासोमै सीमित हुन्छन् । सरोकारवाला निकाय सुनुवाइ गर्न तत्पर देखिँदैनन् । विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक नपर्दा पठनपाठनमा समस्या भएको पातारासी गाउँपालिका– ७ रिनी गाउँस्थित सरस्वती माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा सरिता रोकायाले गुनासो गरिन् । ‘हरेक वर्ष यस्तै समस्या भोग्नुपरेको छ । तर सरोकारवाला निकाय बेखरझैँ हुन्छन्,’ उनले भनिन् । 

जिल्लाका सामुदायिक विद्यालयमा ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जुम्लाको सिँजा भेगमा पाठ्यपुस्तक विक्रेता दीपेन्द्र उपाध्यायका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुर्खेतले पुस्तक दिन मानेको छैन । केन्द्रीय कार्यालयबाट बिक्रीको अनुमति नआएको भन्दै सुर्खेत कार्यालयले पाठ्यपुस्तक नदिएको उनी बताउँछन् ।

जनक शिक्षाको सुर्खेत कार्यालयकै कारण पुस्तक अभाव भएको अर्का बिक्रेता जिपी स्टेसनरीका प्रोपाइटर गणेश रोकायाको दाबी छ । लामो समयदेखि जुम्लामा पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका उनले भने, ‘फागुन पहिलो सातामै पाठ्यपुस्तक जुम्ला पुग्नुपर्ने हो । हामीले पनि पाठ्यपुस्तक ल्याउन प्रयास गरेका हौँ । तर, जनक शिक्षा सामग्रीले दिन मानेको छैन ।’

शिक्षा समन्वय इकाइ जुम्लाका विद्यालय निरीक्षक मानबहादुर कुमालका अनुसार हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । तर, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले देशभर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने सार्वजनिक सूचना जारी गरेको छ । यसले गर्दा हिमाली जिल्लाका विद्यार्थी प्रभावित हुने विद्यालय निरीक्षक कुमाल बताउँछन् । उनले भने, ‘यता स्कुल खुलिसकेका छन् । तर, पाठ्यपुस्तक आउने छाँटकाँट छैन ।’