
नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक सुरु भएको छ ।भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका परराष्ट्रसचिव भरतराज पौड्यालबीच होटेल याक एन्ड यतीमा प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको हो ।
क्वात्रा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने जनाइएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।
विदेशसचिवको कार्यभार सम्हालेपछि क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।