Skip This
भैरहवा विमानस्थलमा ५६ दिनदेखि अन्तर्राष्ट्रिय उडान ठप्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २९ आइतबार
  • Saturday, 27 July, 2024
नवीन अर्याल काठमाडाैं
२o७९ माघ २९ आइतबार o९:oo:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलमा ५६ दिनदेखि अन्तर्राष्ट्रिय उडान ठप्प

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ २९ आइतबार o९:oo:oo

खराब मौसममा पनि जहाज अवतरण गराउन मार्गदर्शन गर्ने प्रणाली ‘आइएलएस’ धावनमार्गमा जडान गरिए पनि सञ्चालनमा भारतको असहयोग 

खराब मौसमको कारण देखाउँदै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा ५६ दिनदेखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ३१ अर्ब रुपैयाँ खर्चिएर निर्माण गरिएका राष्ट्रिय गौरवको आयोजनामा ३ पुसदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

विमानस्थल उद्घाटनकै दिनदेखि नियमित उडान गर्दै आइरहेको कुवेतको जजिरा एयरवेजले खराब मौसमका कारण भैरहवा उडान स्थगित गरेको छ । यस्तै, भैरहवा–मलेसियामा चार्टर्ड उडान गरिरहेको हिमालय एयरलाइन्सले पनि उडान रोकेको छ । ‘अहिले पनि मौसम खुलेको समयमा फाट्टफुट्ट चार्टर्ड उडान भइरहेका छन्, तर नियमित उडान ठप्प नै छ,’ जिबिआइएका प्रवक्ता सुवास झाले भने, ‘अहिले बाक्लो हुस्सु लागेर उडान रोकिएको हो, मौसम खुल्नेबित्तिकै उडान सुरु गर्ने जजिराले बताएको छ ।’   

खराब मौसम तथा रातको समयमा पनि जहाज अवतरण गराउन सकिने अत्याधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) उपकरण विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । तर, भारतले आइएलएस सञ्चालनमा अनुमति नदिँदा हिउँदमा उडान स्थगित गर्नुपरेको हो । आइएलएस सञ्चालनमा ल्याउँदा भारतीय आकाश पनि प्रयोग हुने भन्दै भारतले अनुमति दिन मानेको छैन । 

आइएलएस उपकरणमार्फत आठ सय मिटर भिजिबिलिटीसम्म जहाज अवतरण गराउन सकिन्छ । तर, अहिले न्यूनतम १८ सय मिटर भिजिबिलिटीसम्म इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) उडान–अवतरण भइरहेको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार आइएलएस प्रणाली सञ्चालनमा ल्याउन विमानस्थलको सम्पूर्ण विवरण एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)मा प्रकाशित गर्नुपर्छ । ‘एआइपीमा विवरण प्रकाशित नगरी आइएलएस सञ्चालन गर्न पाइँदैन, त्यो प्रकाशित गर्न पनि भारतको लिखित सहमति चाहिन्छ,’ प्रवक्ता झाले भने । भारतीय असहयोगकै कारण क्यानले विमानस्थलमा आइएलएस उपकरण सञ्चालनमा ल्याउन नसकेको हो । आइएलएस रेडियो नेभिगेसन प्रणाली हो, जसले रातको समय र खराब मौसम भएको अवस्थामा पनि जहाजलाई अवतरण गराउन छोटो दूरीका सूचनाहरू पठाएर मार्गदर्शन गर्ने गर्छ ।  

हिउँदमा बिहानको समयमा बाक्लो हुस्सु लागेर भिजिबिलिटी करिब शून्यमै झर्ने गरेको प्रवक्ता झाले बताए । ‘आइएलएस भइदिएको भए पनि विमानस्थल चौबिसै घन्टा खुल्थ्यो भन्ने होइन, कतिपय समय बाक्लो हुस्सुले २० मिटर परसम्म पनि देख्न सकिँदैन,’ उनले भने, ‘तर, आठ सय मिटरसम्मको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने हुँदा आइएलएस सञ्चालनमा आउँदा हिउँदमा धेरै राहत हुने थियो ।’  

जुनसुकै समयमा आइएलएस सञ्चालनका लागि आफूहरू तयार रहेको बताउँदै प्रवक्ता झाले भने, ‘हाम्रो तर्फबाट तयारी पूरा छ, यदि केही काम गर्न बाँकी भए एआइपीमा ४२ दिनको सूचना प्रकाशित गरेपछि पनि सम्पन्न गर्न सकिन्छ, अहिले भारतको लिखित सहमति कुरेका छौँ ।’ सरकारले आइएलएस सञ्चालन गर्नका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने हवाईविज्ञको सुझाव छ । भारतले नेपाललाई पश्चिमतर्फका हावाई प्रवेश बिन्दु दिन पनि अटेर गरिरहेको छ । भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि पश्चिमतर्फको हवाई प्रवेश बिन्दु सहज र कम खर्चिलो हुन्छ । अहिले पश्चिमा मुलुकबाट आएका जहाजहरू पनि सिमरा पुगेर भैरहवातर्फ मोडिनुपर्ने बाध्यता छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवा विमानस्थल सञ्चालनका लागि सहजीकरण गरिदिन भारत सरकारसँग कुराकानी गरिरहेको बताएका छन् ।  

फाट्टफुट्ट चार्टर्ड फ्लाइट
भैरहवामा ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा शुल्क शतप्रतिशत छुट गरिएको हुँदा चार्टर्ड फ्लाइट भैरहवा आउने गरेको झाले बताए । सोमबार मात्रै भारतीय आध्यात्मिक गुरु एवं कथावाचक मोरारी बापु चार्टर्ड विमानबाट लुम्बिनीमा आएका छन् ।  

यसै पनि वायुसेवा कम्पनीले भैरहवामा हवाई यात्रु नभएको भन्दै उडान गर्न मानिरहेका थिएनन् । वैदेशिक रोजगारीमा जानेहरूका लागि पनि भैरहवामा आवश्यक सेवाप्रदायक संस्थाहरूको उपस्थिति नहुँदा समस्या परिरहेको छ । भर्खर मात्र भैरहवामा श्रम कार्यालय खुलेको छ । श्रमिकले दोस्रो श्रम स्वीकृतिका लागि अनिवार्य काठमाडौं धाउनैपर्छ । यस्तै, वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी, मेडिकल सेन्टर, ओरिन्टेसन क्लास र भिसा प्रोसेसलगायत सबै सेवाहरू काठमाडौंकेन्द्रित छन् । ती सेवाहरू भैरहवाबाट उपलब्ध भए मात्र यात्रुको संख्या बढ्ने वायुसेवा कम्पनीको भनाइ छ ।

नौ महिनामा ३१ हजार अन्तर्राष्ट्रिय यात्रु
२ जेठमा गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि हालसम्म ३१ हजार तीन सय ६७ यात्रुले सेवा लिएका छन्, जसमध्ये १३ हजार चार सय ६६ यात्रु आएका छन् भने १७ हजार नौ सय एक यात्रुले भैरहवाबाट विदेश यात्रा गरेका हुन् । हालसम्म भैरहवामा तीन सय १० अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन् । यो आँकडामा जजिरा, हिमालय र अन्य चार्टर्ड फ्लाइटको तथ्यांक समेटिएको छ ।

भैरहवामा नियमित उडान गर्ने जजिरा मात्रै हो । हिमालयले पनि मलेसियामा चार्टर्ड उडान गरेको हो । हालसम्म भैरहवाबाट जजिराले दुई सय १६ उडान अवतरणमार्फत २६ हजार आठ सय ४८ यात्रुलाई सेवा दिएको छ । जसमध्ये १३ हजार चार सय २३ यात्रु कुवेत हुँदै भैरहवा आएका छन् भने १३ हजार चार सय २५ यात्रु भैरहवाबाट विदेश गएका छन् । यस्तै, हिमालय एयरलाइन्सले भैरहवाबाट कुल ६८ चार्टर्ड फ्लाइट गरेर चार हजार चार सय ९९ यात्रुलाई सेवा दिएको छ । हिमालयका ३४ फ्लाइटबाट ३४ जना नेपाल आएका छन् भने अर्को ३४ फ्लाइटबाट चार हजार चार सय ६५ यात्रु मलेसिया हुँदै विभिन्न मुलुक गएका छन् । हिमालयले अगस्ट, नोभेम्बर र डिसेम्बरमा चार्टर्ड फ्लाइट गरेको थियो ।

छिटोभन्दा छिटो विमानस्थल चल्नुपर्छ : कृष्ण न्यौपाने, सिइओ, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी
भैरहवा विमानस्थलमा लगानी गर्नुपूर्व अहिले देखिएका समस्या अध्ययन हुनुपथ्र्यो । व्यावसायिक सम्भावना केलाएर मात्र यति ठूलो विमानस्थल बनाउनुपथ्र्यो । अब विमानस्थल कसरी चलाउने भनेर राज्य र निजी क्षेत्र लाग्नुपर्छ । एयरपोर्ट नचल्दा अर्बौँ लगानी जोखिममा पर्न सक्छ । प्रधानमन्त्री आफैँले भारतीय प्रधानमन्त्रीसँग प्रत्यक्ष कुराकानी गरेर आइएलएस उपकरण सञ्चालन गर्नेदेखि पश्चिम क्षेत्रबाट हवाई प्रवेश बिन्दु दिन पहल गर्नुपर्छ । छिटोभन्दा छिटो एयरपोर्ट चल्नुपर्छ  ।

आइएलएस जडान छ, तर चलेको छैन : सुवास झा, प्रवक्ता, जिबिआइए
भैरहवामा मौसम खराब भएपछि नियमित अन्तर्राष्ट्रिय उडान रोकिएको छ । मौसम खुल्दा फाट्टफुट्ट अन्तर्राष्ट्रिय उडान भइरहेको छ । विमानस्थलमा खराब मौसम र रातमा पनि अवतरण गर्न मार्गदर्शन गर्ने अत्याधुनिक उपकरण ‘आइएलएस’ जडान गरिएको छ । तर, भारत सरकारले लिखित सहमति नदिँदा सञ्चालनमा आउन सकेको छैन । अब मौसम खुल्नेबित्तिकै जजिरा एयरवेजले उडान सुरु गर्ने भनिसकेको छ ।

मौसम खुल्नेबित्तिकै उडान गर्छौँ : जजिरा 
खराब मौसमका कारण भैरहवामा उडान स्थगित जजिरा एयरवेजले मौसम खुल्नेबित्तिकै पुनः उडान सुचारु गर्ने जनाएको छ । जजिराको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभलले भैरहवा उडान गर्न तीनपटकसम्म गरेको प्रयास खराब मौसमका कारण रद्द गर्नुपरेको जनाएको छ । ‘मौसम खुल्नेबित्तिकै उडान गर्न तयार छौँ, तर मौसम तत्काल खुल्ने छाँटकाँट देखिएको छैन,’ जजिरा एयरवेजका एक प्रतिनिधिले भने, ‘अब मार्चको दोस्रो सातादेखि भैरहवामा नियमित उडान गर्ने तयारीमा जुटेका छौँ ।’ भैरहवामा मौसम खुलेपछि दिउँसोतिर विमानस्थल खुल्छ । तर, दिउँसो उडान गर्दा कनेक्टिङ फ्लाइटहरू छुट्ने जजिराले जनाएको छ । ‘भैरहवा विमानस्थल हाम्रो सधैँ प्राथमिकतामा छ, हामी दिउँसो उडान गर्न पनि तयार थियौँ, तर कनेक्टिङ फ्लाइट छुट्ने हुँदा समस्या परेको हो,’ जजिराका प्रतिनिधिले भने । क्यानले काठमाडौंबाट दैनिक तीनभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवा उडान गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेपछि हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइट गर्न थालेको थियो । हिमालयले पनि खराब मौसमलाई कारण देखाएर उडान स्थगित छ । तर, पछिल्लो समय क्यान ब्याक हुँदा हिमालयले भैरहवालाई त्यति प्राथमिकता दिएको छैन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) पनि भैरहवाबाट उडान गर्न आनाकानी गर्दै आइरहेको छ ।