विवेकशील साझा पार्टीले महाधिवेशनमा व्यक्ति र विचारका आधारमा दलहरूलाई सहभागी गराएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा विवेकशील साझाले राप्रपाबाहेकका पार्टीलाई निमन्त्रणा गरेको हो ।
प्रवक्ता प्रकाशचन्द्र परियारले निश्चित मापदण्डका आधारमा पुराना र ठूला पार्टी र वैकल्पिक शक्तिका रूपमा रहेका दलहरूलाई बोलाइएको बताए । प्रवक्ता परियारका अनुसार महाधिवेशनमा पुराना दलका रूपमा कांग्रेस, एमाले र माओवादी तथा लोकतान्त्रिक र वैकल्पिक शक्तिको मर्म बोकेका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, एकीकृत समाजवादीका नेता घनश्याम भुसालसहित दर्जन दललाई बोलाइएको थियो । बैठकमा ठूला दलबाट भने पदाधिकारी तहका नेताहरू सहभागी भएनन् ।
प्रवक्ता परियारले नयाँ पत्रिकासँग भने, ‘महाधिवेशनमा सहभागी हुन हामीले मापदण्ड बनाएका थियौँ । पुराना पार्टीका रूपमा कांग्रेस, एमाले र माओवादी र नयाँ वैकल्पिक मर्म भएका पार्टीलाई बोलाइएको हो । व्यक्ति र विचारलाई हेरेर बोलाएका थियौँ । संविधानको भावनाविपरीत विचार बोकेकाले राप्रपालाई बोलाएनौँ । हामीले ठूला पार्टीका अध्यक्ष तहका नेताहरूलाई बोलाएका थियौँ, तर पछिल्लो पुस्ताका नेताहरू सहभागी हुनुभयो ।’ कार्यक्रममा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले महाधिवेशनसँगै विवेकशील साझाले फेरि वैकल्पिक राजनीतिलाई स्थापित गर्ने बताइन् । उनले विवेकशील साझाले समाधानमुखी राजनीति गर्ने बताइन् । महाधिवेशन शनिबार सम्पन्न हुनेछ ।