१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २८ शनिबार
  • Friday, 09 May, 2025
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा
२o७९ माघ २८ शनिबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतीय विदेशसचिव काठमाडौं आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २८ शनिबार o६:o७:oo

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपालको औपचारिक भ्रमणका लागि सोमबार आउँदै छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार क्वात्राको नेपाल भ्रमण सार्वजनिक गरेका छन् । दुई वरिष्ठ अमेरिकी अधिकारीको नेपाल भ्रमण सकिएलगत्तै भारतीय विदेशसचिवको नेपाल भ्रमण हुन लागेको हो । 

कूटनीतिक स्रोतका अनुसार क्वात्राको मुख्य मिसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्ने र प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने हो ।

दुई दिनका लागि आउन लागेका क्वात्राको विदेशसचिवका रूपमा पहिलोपटक नेपाल यात्रा हुन लागेको हो । विदेशसचिव हुनुअघि क्वात्रा नेपालमा भारतका लागि राजदूत थिए । नेपालमा राजदूत छँदै उनलाई भारत सरकारले विदेशसचिव नियुक्त गरेको थियो भने नेपालबाट बिदाइ भएर दिल्ली गएलगत्तै पदभार ग्रहण गरेका थिए ।

परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेका क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रसचिव पौड्याल र क्वात्राबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ जहाँ कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ । 

विदेशसचिव क्वात्राको नेपाल भ्रमणअघि नै प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमणका लागि कूटनीतिक स्तरमा तयारी सुरु भइसकेको छ । कूटनीतिक स्रोतहरूका अनुसार विदेशसचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई औपचारिक रूपमा मोदीको निमन्त्रणापत्र र मोदीको सन्देश दिनेछन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई पठाएको बधाईपत्र १५ पुसमा भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका थिए । यद्यपि, बधाईपत्रमा निमन्त्रणा उल्लेख थिएन । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि क्वात्राले टेलिफोन गरेर बधाई दिएका थिए । क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका लागि प्रधानमन्त्री मोदीका तर्फबाट निमन्त्रणा सुनाएका थिए । प्रधानमन्त्री प्रचण्डले नै आफू निकट भविष्यमा भारत भ्रमण गर्ने सार्वजनिक गरिसकेका छन् । 

परराष्ट्रसचिव भरतराज पौड्यालले २८ र २९ भदौमा भारतको औपचारिक भ्रमणका क्रममा क्वात्रालाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । शुक्रबार जारी विज्ञप्तिमा परराष्ट्रले क्वात्राको भ्रमण नियमित भ्रमण आदानप्रदानको सिलसिलामा हुन लागेको र यसले नेपाल–भारत समबन्ध थप विस्तार र गहिरो बनाउने विश्वास व्यक्त गरेको छ ।