मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ २६ बिहीबार १०:३८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायलमा संस्थागत नश्लभेदको चपेटामा प्यालेस्टिनी

हिंसा हाम्रा लागि वास्तविकता हो र न्याय एवं मर्यादाका लागि हुने संघर्षको पहिलो कदम भनेको हामी इजरायलीले हिंसाको सामना गर्नु नै हो

Read Time : > 2 मिनेट
२०७९ माघ २६ बिहीबार १०:३८:००

बुलडोजर हरेक दिन चलिरहेकै छन् । म बसेको जेरुसेलमको प्यालेस्टिनी इलाकामा इजरायली सेनाले प्रायः घर ध्वस्त पारिराख्छन् । विगत ५६ वर्षदेखि इजरायली सेनाले कब्जा गरेको सहरको पूर्वी भागमा विभेद र विस्थापन लामो समयदेखि जीवनको वास्तविकता बनेको छ । र, नयाँ उग्र–दक्षिणपन्थी इजरायली सरकारले जेरुसेलम भत्काउने कार्यलाई तेजीसाथ बढाएको छ । जनवरीमा मात्रै ३० भन्दा बढी भवन तहसनहस पारिएका छन् । 

पश्चिमा मिडियामा हाम्रो क्षेत्र हुने रक्तपात मुख्य समाचार हुने गर्छ । र, हालको अवस्थामा प्यालेस्टिनी जनताले सबैभन्दा धेरै हिंसात्मक, विनाशकारी र घातक अनुभव व्यहोरिरहेका छन् । कब्जामा लिइएको वेस्ट बैंकले सन् २०२२ मा दुई दशकयताकै सबैभन्दा ठूलो आतंक व्यहोर्‍यो । यही जनवरीमा ३१ प्यालेस्टिनी इजरायली धाबा बोलाइबाट मारिएका छन् ।

निराशा, दिक्दारी र अवसादको बादलले हामीलाई घेरेको छ । र, आँकडा मात्रैले हामीमाथि नृशंसताको व्याख्या हुन सक्दैन । हामी इजरायली सेनाको हतियारले मात्रै हिंसाको चपेटामा परेका छैनौँ । हामीमाथि हुने हिंसा संरचनागत एवं गम्भीर छन् । हामी प्यालेस्टिनीबाट कुनै प्रतिशोध साधिँदैन अर्थात् प्यालेस्टिनी जनता इजरायलीको सम्पत्ति जफत गर्न सक्दैनन् वा सैन्य अदालत प्रयोग गरेर हजारौँ इजरायलीलाई थुन्न सक्दैनन् । तसर्थ, कसैले इजरायली र प्यालेस्टिनी समान छन् भनेर तर्क गर्छ भने त्यो विश्लेषणात्मक वा नैतिक रूपमा गलत हुन्छ । यो संरचनागत हिंसाको प्रारूप मेरो जन्मस्थल जेरुसेलममा देख्न सकिन्छ ।

गत महिना एक प्यालेस्टिनी बन्दुकधारीले पूर्वी जेरुसेलममा सात इजरायलीको हत्या गरेलगत्तै इजरायलका राष्ट्रिय सुरक्षा हेर्ने मन्त्री इतामर बेन–गिर आक्रमणको प्रतिक्रियामा इजाजतपत्रविना बनेका प्यालेस्टिनीका घर भत्काउने क्रमलाई बढाउने घोषणा गरे । अधिकांश प्यालेस्टिनीका घर तारो बन्ने गरेका छन् किनभने यिनीसँग इजाजतपत्र छैन । वास्तवमा, मेरो सहरमा प्यालेस्टिनीका एकतिहाइ भवनमा इजाजतपत्र छैन, अर्थात् एक लाखभन्दा बढी प्यालेस्टिनी कुनै पनि वेला बेघर हुन सक्छन् । 

सन् १९६७ मा जब पूर्वी जेरुसेलममा इजरायलको कब्जा सुरु भयो, तब प्यालेस्टिनी बस्तीका लागि सार्वजनिक योजना बिरलै बने । सहरको पूर्वी भागमा यहुदी इजरायलीका लागि ५५ हजार घर निर्माण गरिएका थिए, तर प्यालेस्टिनीका लागि ६ सय मात्रै बनाइए, जहाँ कुनै सरकारी सुविधा भने उपलब्ध थिएन । 

यसले प्यालेस्टिनीलाई निम्न गुणस्तरीय आवासमा बस्न बाध्य मात्रै नबनाई तिनलाई अल्पसंख्यक पनि बनाइरहयो । जेरुसेलममा प्यालेस्टिनीको संख्या ३७ प्रतिशत भए पनि प्यालेस्टिनीले आठ दशमलव पाँच प्रतिशत मात्रै जमिन पाए । प्यालेस्टिनी समुदायका हातमा जेरुसेलम नगरपालिकाले कब्जा गरिएका पूर्वी क्षेत्रमा समेत सन् १९९१ र २०१८ बीच १६ दशमलव पाँच प्रतिशत इजाजतपत्र मात्रै दिएको छ । यसर्थ प्यालेस्टिनीका कथित अवैध वा अस्वीकृत भवन बन्नु भेदभावमा आधारित आवास संकटको प्रतिक्रिया हो ।

पूर्वी जेरुसेलममा गत दश वर्षमा मात्रै एक हजार पाँच सय आठ प्यालेस्टिनी घर ध्वस्त पारिए । दुई हजार आठ सय ९३ प्यालेस्टिनी विस्थापित भएका छन्, जसमध्ये आधा बालबालिका थिए । कब्जा गरिएको वेस्ट बैंकमा पनि क्रूर वास्तविकता देख्न सकिन्छ । तथाकथित क्षेत्र ‘सी’मा (वेस्ट बेंकको ६० प्रतिशत हिस्सा) मा प्यालेस्टिनी विकासका लागि कुनै अनुमति छैन भने पनि हुन्छ । इजरायली अधिकारीले बारम्बार घर, सडक, सौर्य ऊर्जा जस्ता प्यालेस्टिनी पूर्वाधार नष्ट गर्दै आइरहेका छन् । इजरायलतर्फबाट अन्तर्राष्ट्रिय कानुनले समेत वर्जित गरिएका बस्ती बढिरहेका छन् भने प्यालेस्टिनी छरिएर बस्न बाध्य छन् ।  

जेरुसेलम र वेस्ट बैंकका सबै मानिस विनाश र बेदखली वृद्धिका कारण खतरामा छन् । यी विनाशको मूल्य सबैभन्दा बढी व्यक्ति विशेषले चुकाउँछ अर्थात् एक व्यक्तिका लागि घर ढल्नु उसको संसार ढल्नु हो । केटाकेटी रुन्छन्, पर्खाल ढल्छन् र आमाबाबुले के गर्ने वा कहाँ जाने भनेर निर्णय गर्न संघर्ष गर्छन् ।

इजाजतपत्र प्राप्त नगर्नु प्यालेस्टिनी सम्पत्ति ध्वस्त पार्ने एक मात्र कारण होइन । इजरायलका विस्तारवादी अधिकारीले सामूहिक दण्डका रूपमा पनि घर ध्वस्त वा सिलबन्दी गर्ने काम पनि गरिरहेका छन्, जुन अन्तर्राष्ट्रिय कानुनप्रतिकूल हो । कब्जा गरिएका क्षेत्रका जनतालाई जबर्जस्ती विस्थापन गर्नु युद्ध अपराध हो । 

प्यालेस्टिनीले दैनिक रूपमा अनुभव गर्ने संरचनागत हिंसामा यी ध्वंस र निष्कासन समाविष्ट छन् । अहिलेको इजरायली सरकारले विस्तारका नयाँ क्रूर अभिव्यक्तिलाई पछ्याउन सक्छ, तर विस्तारको जग भने सन् १९६७ देखि नै लेबरदेखि लिकुड पार्टीका सरकारले बसाएका हुन् । 

इजरायलमा न्यायिक सुधारका लागि भइरहेका विरोध प्रदर्शनमा प्यालेस्टिनीको कुनै समर्थन वा उत्साह छैन । सबै न्यायिक तहको स्वीकृतिमा सबै दलबाट निर्वाचित इजरायली राजनीतिज्ञले हाम्रो भूमि कब्जा गर्दै र दशकौँदेखि हामीलाई विस्थापित हुन बाध्य पार्दै आएका छन् । हालको गठबन्धनभित्र र बाहिरका धेरैले हामीमाथि जबर्जस्ती विस्तार एवं नश्लभेदी नीति लादेका छन् ।

हिंसा हाम्रा लागि वास्तविकता हो र न्याय एवं मर्यादाका लागि हुने संघर्षको पहिलो कदम भनेको हामीले हिंसाको सामना गर्नु हो । पीडितलाई नै दोषी देखाउने वा संवादमा रोक लगाउने प्रवृत्तिले हाम्रो दुःख झनै बल्झिनेछ । यो कुनै हिंसाको चक्र होइन, यो एक अपर्थाइड (संस्थागत नश्लभेद हो) र सारा विश्वले इजरायलमा अपर्थाइड लागू छ भनेर बुझ्न आवश्यक छ । 
(अबुखतेर जेरुसेलमका लेखक हुन्) द गार्डियनबाट