मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २६ बिहीबार ०८:२२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ऋण तिर्ने विषयमा विवाद हुँदा अपहरणको नाटक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २६ बिहीबार ०८:२२:००

काभ्रे खानीखोला गाउँपालिका– १ का ४२ वर्षीय जगतबहादुर भोलानले मंगलबार दिउँसो अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरे । उद्धार गर्न तीन लाख रुपैयाँ लिएर आउन पनि भने । भोलानकी श्रीमती तनावमा परिन् । फिरौती रकम लिएर जानुभन्दा प्रहरीकहाँ सहयोग माग्नु उनले उचित ठानिन् । हुर्रिएर उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । घटनाको बेलीविस्तार लगाइन् । उद्धारमा खटिएको प्रहरी अनुसन्धानपछि खुल्यो– भोलानले ऋण तिर्नको गाह्रोले अपहरणमा परेका नाटक गरेका रहेछन् । 

प्रहरीका अनुसार भोलानले चन्द्रागिरि नगरपालिका– १३ का ४७ वर्षीय विदुर बस्नेतसँग १० लाख रुपैयाँ ऋण लिएका थिए । कारोबार घाटामा गएकाले उनले ऋण तिर्न सकेनन् । ऋण असुल्न बस्नेतले पटक–पटक प्रयास गरे । तर, उनी असफल भइरहेका थिए । यही क्रममा उनले भोलानलाई मंगलबार कलंकीस्थित पिस ब्याम्बो रिसोर्टमा बोलाए । भोलानसँगै काभ्रे बनेपा नगरपालिका– ६ का ५३ वर्षीय कान्छामान जिम्बा र धादिङ थाक्रे गाउँपालिका– ५ का ४४ वर्षीय आशामान लामा पनि गए । 

रिसोर्टमा बस्नेतसँग चितवन राप्ती नगरपालिका– ५ भण्डाराका ३३ वर्षीय दिलीप विक र सर्लाही बरहथवा नगरपालिका– ६ का ४७ वर्षीय भोला महतो नुनिया थिए । रिसोर्टमा ६ जनाले मदिरा मगाए । त्यसपछि बस्नेतले १० लाख रुपैयाँको प्रसंग झिके । भोलानले तिर्न नसक्ने बताए । दुई पक्षबीच केहीबेर भानभन चल्यो । १० लाख नदिए घर जान नदिने भन्दै बस्नेत जंगिए । उनलाई सँगै बसेका विक र महतोले साथ दिए । विलखबन्दमा परेका भोलानले अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरे । सँगै तीन लाख रुपैयाँ लिएर आउन पनि भने । अर्को तीन लाख सँगै रहेका जिम्बासँग मागे । उनीसँग पनि रकम भएन । उनले पनि अपहरणमा परेको भन्दै आफन्तलाई फोन गरे । आत्तिएका परिवारजन सहयोगका लागि प्रहरी कार्यालय पुगे । प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना गुत्थी फेला पारेको हो ।

प्रहरीले घटनामा संलग्न बस्नेत र भोलानसहित चितवनका विक, सर्लाहीका महतो, काभ्रे बनेपाका जिम्बा र धादिङका लामालाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले लेनदेनको विषयमा विवाद हुँदा अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको बताए । ‘पक्राउ परेकामध्ये एकले १० लाख रुपैयाँ ऋण दिएका रहेछन् । तर, ऋणीले ऋण नतिरेका रहेछन् । मंगलबार दुवैबीच कुराकानी चल्दै गर्दा रकम तिर्ने सन्दर्भमा विवाद भयो । त्यसपछि ऋणीले अपहरण परेको भन्दै परिवारका सदस्यलाई फोन गरे । परिवारका सदस्य हामीकहाँ आए । अनुसन्धानपछि खुल्यो । घटना नक्कली रहेछ,’ उनले भने ।