१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश रावल सुर्खेत
२०७९ माघ २३ सोमबार ०६:१८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कर्णालीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण

तत्कालका लागि महिनामा एउटा प्रत्यारोपण गर्ने योजना

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ माघ २३ सोमबार ०६:१८:००

कर्णालीमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा काठमाडौं र सुर्खेतका चिकित्सकको टोलीले शनिबार २२ वर्षीय युवकमा उनकी आमाको मिर्गौला प्रत्यारोपण गरेको हो । युवक बर्दघाट नगरपालिका– ४, नवलपरासीका हुन् ।

उनलाई ४२ वर्षीया आमाले मिर्गौला दान दिएकी थिइन् । पाँच वर्षयता डायलाइसिस सेवा दिँदै आएको प्रदेश अस्पतालले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकको सहयोगमा प्रत्यारोपण सेवा सुरु गरेको हो । प्रत्यारोपण केन्द्रका चिकित्सक र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले सफल प्रत्यारोपण गरेको हो ।

केन्द्रबाट कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलगायत चिकित्सक तथा प्रदेश अस्पतालबाट डा. डम्बर खड्का, डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिस्ट डा. पुजन बल्ल र डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाहीलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए । 

कर्णालीमा भएको सफल प्रत्यारोपणले अब काठमाडौं नै धाउनुपर्ने बाध्यता बिस्तारै कम गर्न सकिने प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले बताए । ‘सुर्खेतमै प्रत्यारोपण हुने भएपछि कर्णालीका बिरामीलाई उपचारका लागि सहज हुन्छ । साथै, काठमाडौंकेन्द्रित विशेषज्ञ चिकित्सक पनि कर्णाली आउने सम्भावना बढ्यो । सेवा विस्तारले उपचारका लागि काठमाडाैं पुग्नुपर्ने बाध्यता घटाउने कोसिस गरेका छौँ,’ उनले भने ।

कर्णालीमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी धेरै भए पनि जनशक्ति अभावका कारण तत्कालका लागि महिनामा एउटा मात्रै प्रत्यारोपण गरिने अस्पतालले जनाएको छ । प्रदेश अस्पतालमा रहेका चिकित्सकले प्रत्यारोपण गर्न सक्ने अवस्था नहुँदासम्म सहित धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले नै सहयोग गर्नेछ । ‘केही समयसम्म प्रत्यारोपण केन्द्रको सहयोगमा शल्यक्रिया गर्ने र बिस्तारै सेवा विस्तार गर्ने योजनामा छौँ । अहिले हामीले महिनामा एउटा प्रत्यारोपणको तयारी गरेका छौँ,’ डा. खड्काले भने । 

अस्पतालले हाल १० डायलाइसिस मेसिनमार्फत दुई सिफ्टमा सेवा दिँदै आएको छ । शनिबारबाहेक ६ दिन सेवा दिँदै आएकोमा दैनिक २० जनाको डायलाइसिस हुन्छ । बिरामी बढे रातको समयमा पनि सेवा विस्तार गर्ने अस्पतालले जनाएको छ । कर्णाली प्रदेश अस्पतालले गत मंसिरमा मात्रै प्रत्यारोपणको लाइसेन्स पाएको थियो । 

डा. डम्बर खड्का, निर्देशक, प्रदेश अस्पताल सुर्खेत

सुर्खेतमै प्रत्यारोपण हुने भएपछि कर्णालीका बिरामीलाई उपचारका लागि सहज हुन्छ । साथै, काठमाडौंकेन्द्रित विशेषज्ञ चिकित्सक पनि कर्णाली आउने सम्भावना बढ्यो ।

सेवा विस्तारले उपचारका लागि काठमाडाैं पुग्नुपर्ने बाध्यता घटाउने कोसिस गरेका छौँ । केही समयसम्म प्रत्यारोपण केन्द्रको सहयोगमा शल्यक्रिया गर्ने र बिस्तारै सेवा विस्तार गर्ने योजनामा छौँ । अहिले हामीले महिनामा एउटा प्रत्यारोपणको तयारी गरेका छौँ ।