
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा भर्खरै बैठक सुरु भएको हो । बिहीबार बसेको संयुक्त बैठकले आफ्नो सरोकार सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो ।
अल्टिमेटमको समय आजै सकिँदै छ । त्यसअघि आजै पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल गरेका थिए ।
सो छलफलमा दुवैले गृहबाहेक अन्य मन्त्रालय लिन आग्रह गरेको बताइएको छ । यस्तै, सो मन्त्रालयमा पनि लामिछानेबाहेक अन्य सांसदलाई पठाउन आग्रह गरेकाले सो सम्बन्धमा निर्णय लिन रास्वपाको संयुक्त बैठक बसेको हो ।
यसअघि रास्वपले गृह मन्त्रालय नदिइए सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने बताउँदै आएको छ ।
सर्वोच्चको आदेशपछि सांसद गुमाएका सभापति लामिछाने गृह मन्त्रालयमा फर्किने प्रयासमा छन् । तर, प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा लामिछानेको पासपोर्ट विवाद छानबिनको विषय बनेकाले मन्त्री बनाउन अस्वीकार गर्दै आएका छन् ।