
आउँदो १ फागुनदेखि कञ्चनपुरको महेन्द्रनगरमा औद्योगिक व्यापार मेला हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुुलामञ्चमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुने भएको हो ।
‘कृषि उत्पादन र स्वरोगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ वाणिज्य संघले १४औँ संस्करण मेला सञ्चालन गर्न लागेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष हुन नसकेको मेला यसपटक ०७९ सालमा हुन लागेको छ । वाणिज्य संघले ०५७ सालदेखि मेला सञ्चालन गर्दै आएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले भने, ‘देशकै ध्यान कञ्चनपुर गराउने उद्देश्यले हामीले प्रधानमन्त्रीज्यूबाटै मेला उद्घाटन गर्न खोजेका छौँ ।’ प्रधानमन्त्रीको आगमनले यस क्षेत्रमा रहेका औद्योगिक, आर्थिक क्षेत्रका योजना अघि बढाउन मद्दत पुग्ने उनको भनाइ छ । आर्थिक गतिविधि वृद्धि गराउने, स्थानीय वस्तु तथा सेवा, पर्यटन, कलाको प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा लघु उद्यम, अटो प्रदर्शनी, कृषि गार्मेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको झल्किने लोक–संस्कृति प्रस्तुत गरिनेछ ।
महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यमी–व्यवसायी प्रकृतिका तीन सय स्टल हुनेछन् । ‘हामीले सुदूरपश्चिमको लोक–संस्कृति झल्किने गरी देउडा प्रतियोगितासमेत सचालन गर्छौँ, ‘उनले भने, ‘महोत्सव आर्थिक, सामाजिक एवं सांस्कृतिक केन्द्रित हुनेछ । कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंगबहादुर मल्लले संघले यसअघिदेखि गर्दै आएका यस क्षेत्रका विकासका योजनालाई समेत अघि बढाउने भूमिका निर्वाह गर्दै आएको र यसपटकको मेलाले थप काम गर्ने बताए । मेलाको प्रतिटिकटबाट एक रुपैयाँ छुट्याएर सामाजिक काम गर्ने उनको भनाइ थियो ।