
दमक नगरपालिका– १० आम्बाडीका अम्बरबहादुर विश्वकर्मा ८१ वर्ष लागे । भूमिहीन परिवारमा जन्मिएकाले जन्मँदै सुकुमबासी कहलिए । पूरै जीवन त्यही रूपमा बिताएका अम्बरबहादुरको हातमा जीवनको उत्तरार्धमा जग्गाधनी प्रमाणपुर्जा परेको छ । अर्थात्, उनी पनि जग्गाधनी भएका छन् । श्रीमती पवित्रासँगै आफ्नो फोटो टाँसिएको पुर्जा पाएपछि उनी दंग परेका छन् ।
‘पहाडमा जन्मिएँ । त्यहाँ पनि केही थिएन । ४० वर्षअघि दमक आएँ । अर्काको अँधिया गरेँ । दश धुर ऐलानी जग्गामा घर बनाएर बसेको थिएँ । सुकुमबासी हुँदाको पीडा र दुःख नसोध्नुस्,’ विश्वकर्माले कहालीलाग्दो विगत नकोट्याउन आग्रह गर्दै नयाँ पत्रिकासँग भने, ‘अरू ठाउँमा घर भत्काएको सुन्दा पनि हाम्रो नै भत्काएजस्तो लाग्थ्यो ।’
बिहीबार राष्ट्रिय भूमि आयोगले अम्बरबहादुरलाई दश धुर जग्गाको धनी प्रमाण पुर्जा दियो । जग्गाधनी प्रमाणपुर्जा हात परेपछि निकैबेरसम्म हेरिरहे । उनको अनुहारमा झल्किएको खुसी स्पष्ट देखिन्थ्यो, तर उनले भने शब्दमा बयान गर्न सकेनन् । उनले भने, ‘यो खुसी त कसरी भनौँ । मर्ने वेलामा भए पनि जग्गाधनी भएँ । अब कसैले सुकुमबासी भनेर हेप्दैन ।’
अम्बरबहादुर अहिले जहाँ बसिरहेका छन्, त्यही जग्गाको उनले लालपुर्जा पाएका हुन् । त्यहाँ उनको चित्राले बारेको झुप्रो छ । त्यही उनको संसार हो । ‘दश धुरमा मेरा पाँचजना छोराको परिवार र हामी बुढाबुढी बस्छौँ । जग्गा त अलिक कम भयो । तर, अब महलमा बसेजस्तै निद्रा लाग्ने भयो,’ उनी प्रफुल्ल सुनिए ।
धेरैपटक निर्वाचनका समयमा दलका नेताहरूले धनीपुर्जाको आश्वासन दिए । कहिल्यै पूरा भएनन् । अब त उनलाई धनीपुर्जा पाउने आशा नै हराइसकेको थियो रे ! ‘धनीपुर्जा त कतिपटक दिने भने नि ! तर, दिएनन्,’ उनले भने, ‘फारम पनि धेरैपटक भरियो । यसपटक मात्र धनीपूर्जा पाएँ ।’
वर्षौँसम्म भूमिहीन जीवन बिताएका झापाका २७ परिवारलाई राष्ट्रिय भूमि आयोगले दमक नगरपालिकासँगको सहकार्यमा जग्गाधनी प्रमाणपुर्जा वितरण ग¥यो । बाँकी रहेकालाई क्रमशः वितरण गर्ने आयोगले जनाएको छ
बिहीबार १९ धुर जग्गाको जग्गाधनी प्रमाणपुर्जा पाएपछि दमक– १० का निर्मलसिंह लिम्बूका आँखा हर्षका आँसुले भरिए । भूमिहीनको परिचय बदल्दै ‘भूमिपति’ हुँदा उनी भावुक देखिन्थे । ‘अब त कसैले सुकुमबासी भनेर हेप्दैन !’ उनले भने, ‘हिजोसम्म आफू बस्ने जमिन पनि आफ्नो थिएन । अब त यो धर्तीमा मेरो पनि कम्तीमा १९ धुरमा हक छ भन्न पाएँ ।’
दमक– १० की हिरामती धिमालको ससुराको नाममा जग्गा थियो । यद्यपि, उनीहरूको नाममा भने जग्गा थिएन । उनीहरूले अव्यवस्थित बसोवासीमा फर्म भरेका थिए । उनले एक लाख तीन हजार राजस्व तिरेपछि एक कट्ठा जग्गाको धनीपुर्जा पाइन् । ‘अब त आफ्नै जग्गा भयो । खुसी नहुने त कुरै छैन,’ उनले भनिन्, ‘अब जग्गाधनी भइयो । सधैँ आस मात्र देखाउँथे । यसपटक चाहिँ पूरा भयो ।’
राष्ट्रिय भूमि आयोगले दमक नगरपालिकासँगको सहकार्यमा बिहीबार दमक– १० का २७ घर भूमिहीन सुकुमबासी, भूमिहीन दलित सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण ग¥यो ।
पहिलो चरणमा २७ जनालाई वितरण गरिएको राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेले बताए । बाँकी रहेकालाई क्रमशः वितरण गरिँदै जाने उनको भनाइ थियो । पाण्डेका अनुसार झापामा ४८ हजार बढी भूमिहीन सुकुमबासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी छन् ।
हालसम्म दमक, गौरादह, बुद्धशान्ति र कन्काईका करिब दुई सयजनाले जग्गाधनी प्रमाणपुर्जा पाएको उनले बताए ।
‘हामीले जग्गाधनी प्रमाणपुर्जा दिएका छौँ । अब एक हप्ताभित्र मालपोत र नापीमा अद्यावधिक गराउनुपर्छ,’ पाण्डेले भने, ‘नापी र मालपोतमा स्रेस्ता, प्लट र रजिस्ट्रर पठाउँछौँ । त्यहाँ गएर अब धनीपुर्जा पाउनेले फोटो खिचाउनुपर्छ । दश वर्षसम्म बेचबिखन गर्न पाइँदैन ।’
मालपोत कार्यालय दमकका प्रमुख हिमालय बरालले यो आयोगले बाँडेको धनीपुर्जा तत्काल नै कार्यान्वयन हुने बताए । ‘यो समितिको सदस्य मालपोत पनि छ । यो विगतको जस्तो आयोग होइन,’ उनले भने, ‘शक्तिशाली आयोग हो । त्यसकारण जग्गाधनी प्रमाणपुर्जा कार्यान्वयन हुन्छ ।’