
संविधान र कानुनले अन्तर्जातीय विवाहलाई रोकेको छैन । बरु दलित–गैरदलितबीचको सामाजिक अन्तर्घुलनलाई बलियो बनाउन अन्तर्जातीय विवाहलाई प्रोत्साहन गरेको छ । समाजले दलित–गैरदलितबीचको अन्तर्जातीय विवाहलाई अझै अघोषित बन्देज गरेर राखेको सन्दर्भमा बुधबार सिराहाको लहानमा मधेसी समुदायकी गैरदलित युवती र दलित समुदायका युवकबीच अभिभावककै उपस्थितिमा हिन्दू धार्मिक संस्कारअनुसार विवाह भएको छ ।
लहान नगरपालिका– १८ का २४ वर्षीय राकेश विश्वकर्मा बुधबार बिहान आफ्ना अभिभावक, आफन्त, गाउँलेसहितको जन्ती लिएर लहान– ८ स्थित रौनियार सेवा सदनमा आएपछि दुलही बनेकी लहान– ६ की २३ वर्षीया कविता साहकी आमा, आफन्तहरूले दुलहा र जन्तीको आफ्नो परम्पराअनुसार स्वागत गरे । विवाहमा पण्डित बनेका ५२ वर्षीय पुष्पलाल साशंकरले गराएको स्वयम्बरमा दुलहा र दुलहीले औँठी र माला साटासाट गरे । त्यसपछि पण्डित साशंकरले मण्डपमा दुलहा–दुलहीलाई राखेर विवाहको संस्कार सम्पन्न गरे ।
दुलही पक्षका आफन्तले गोडधुवासँगै टीका लगाइदिएर दुलहा–दुलहीलाई दक्षिणा, उपहार दिए भने दुलहीकी आमा ४३ वर्षीया बबिता साहले एक्ली छोरीको कन्यादान गरिन् । ‘समाजमा जातीय छोइछिटो गरिने भए पनि मान्छे आखिर मान्छे नै हुन् । जन्मिँदै कोही ठूलो–सानो जात हुँदैन, कामले हुने हो,’ कन्यादानअघि दुलहीकी आमा बबिताले भनिन्, ‘छोरीले मन पराएपछि हामीले नाइँनास्ती गरेनौँ ।’
गाउँमै खेतीपाती र पुर्ख्याैली पेसा गर्दै आएका सोनेलाल विश्वकर्मा र प्रभादेवी विश्वकर्माका छोरा हुन्, राकेश । लहानमा सुनचाँदी कालिगढको काम गरिरहेका राकेशले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा १२ कक्षा उत्तीर्ण गरेका छन् । लहान– ६ की बबिताले श्रीमान् राजेश साहको देहान्तपछि दुःखजिलो गरेर कवितालाई पनि १२ कक्षासम्म पढाइन् । ‘दुई भाइ छोरा र एक्ली छोरी कवितासहित चारजनाको परिवारको किराना पसल चलाएर जीविका चलाउँदै आएकी छु,’ उनले भनिन् ।
पहिलो अन्तर्जातीय विवाह : पण्डित
सिराहाको धनगढीमाई नगरपालिका– १३ भोर्लेनी घर भएका पण्डित साशंकर आफूले करिब ३८ वर्षदेखि विवाहका कर्मकाण्ड चलाउँदै आएको भए पनि अन्तर्जातीय विवाह गराउने अवसर पहिलोपटक पाएको सुनाए ।
‘दलितलाई अझै मान्छेको श्रेणीमा नराख्ने समाजमा मधेसी समुदायकी दुलही, उनको अभिभावक र आफन्तले दलित युवकलाई दुलाहा स्वीकार गरी विवाह गराइदिनु पनि ठूलो सामाजिक क्रान्ति हो,’ उनले भने, ‘यसले समाजमा कथित दलित र गैरदलितबीचको जातीय विभेदको दूरी घटाउन सघाउँछ ।’
सामाजिक अभियन्ता तथा नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउत कुर्मीले मानव अधिकारको दृष्टिकोणले सबै मानव समान भए पनि जातीय समाजले दलितलाई विभेद गरिरहेको सन्दर्भमा मधेसी युवती र दलित युवकबीचको अन्तर्जातीय विवाहले ठूलो सामाजिक सन्देश बोकेको बताए । ‘यस्तो खालको विवाहले समाजमा जातीय सदभाव, मेलमिलाप, अन्तर्घुलन गर्न सहयोग पुर्याउँछ,’ उनले भने, ‘तुलनात्मक रूपले विवाह संस्कारको सन्दर्भमा कट्टर मानिने मधेसी समाज परिवर्तनका लागि प्रदेश र स्थानीय सरकारले पनि यस्तो खालको अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्न जरुरी छ ।’