
पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतंककारीको प्रयासलाई प्रहरीले असफल तुल्याइदिएको दाबी गरिएको छ।
पेसावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मंगलबार मध्यरातितिर ठूलो संख्याका आतंककारीहरू शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए।
मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठूलो संख्यामा आएका उनीहरूको प्रयासलाई असफल तुल्याएको पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ।
पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो संख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पुर्याउने गरी आएका आतंककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताए।
सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास गरेका थिए र प्रहरीले यसैगरी असफल तुल्याएको थियो। त्यसैले यसपटक आतंककारीहरू ठूलो संख्यामा आएका बताइएको छ।
रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतंककारीहरूलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतंककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिए।