मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
बेइजिङ एजेन्सी
२०७९ माघ १५ आइतबार १०:४८:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

चिनियाँ अध्ययन भन्छ– पृथ्वीको भित्री भागले घुम्न बन्द गरेको हुन सक्छ

Read Time : > 2 मिनेट
बेइजिङ एजेन्सी
२०७९ माघ १५ आइतबार १०:४८:००

पृथ्वीको भित्री भाग (इनर कोर)ले घुम्न बन्द गरेको अझ विपरीत घुम्न थालेको हुन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । पृथ्वी क्रस्ट (बाहिर परत), म्यान्टल र बाहिरी तथा भित्री कोर भाग मिलेर बनेको ग्रह पिण्ड हो । ठोस स्वरूपमा रहेको पृथ्वीको भित्री कोर बाहिरी परत (क्रस्ट) अर्थात् जमिनको सतहबाट लगभग पाँच हजार एक सय ५० किलोमिटर (३२ सय माइल) मुनि अवस्थित छ भने यसलाई तरल अवस्थामा रहेको बाहिरी कोरले अर्ध ठोस म्यान्टल (भित्री परत)बाट अलग राखेर पृथ्वी स्वयंको चक्कर कटाइभन्दा फरक गतिमा घुम्न अनुमति दिएको छ ।

करिब तीन हजार पाँच सय ४० किलोमिटर (२२ सय माइल) अर्धव्यास भएको भित्री कोर आकारमा लगभग मंगलग्रहजत्रै छ । पृथ्वीको यो भागमा मुख्यतः फलाम र निकल रहेका छन् भने पृथ्वीको द्रव्यमान (पिण्ड)को एकतिहाइ हिस्सा यसैले ओगटेको छ ।

पेकिङ विश्वविद्यालयका एसोसियट अनुसन्धान वैज्ञानिक यी याङ र अनुसन्धान प्राध्यापक सियाओडोङ सोङले सन् १९६० को दशकयता गरेको पृथ्वीको भित्री कोरबारेको अध्ययन नेचर जियोसाइन्स जर्नलमा सोमबार प्रकाशित भएको छ । उनीहरूले पृथ्वीको भित्री कोर कुन गतिमा घुमिरहेको छ भनेर अनुमान गर्न सन् १९६० यता पृथ्वीको भित्री कोरलाई प्रभावित पार्ने गरी गएका भूकम्पीय तरंगहरूको अध्ययन गरी निष्कर्ष निकालेका छन् । आफूहरूको निष्कर्ष अनपेक्षित रहेको उनीहरूले बताएका छन् । 

पहिले रेकर्ड गरिएका भित्री कोर भएर गएका कम्पनहरूमा समयक्रमसँगै परिवर्तन देखिए पनि सन् २००९ यताका यस प्रकारका भौगर्भिक हलचलमाथिका रेकर्डमा खासै परिवर्तन नदेखिएको र यो भित्री कोर घुम्न रोकिएको संकेत हुन सक्ने उनीहरूको निष्कर्ष छ । ‘हाम्रा अवलोकन आश्चर्यजनक छन् । तिनले हालैको दशकमा पृथ्वीको भित्री भाग घुम्न लगभग रोकिएको र सम्भवतः उल्टोतर्फ घुम्न लागेको हुन सक्ने संकेत दिन्छन्,’ उनीहरूले अध्ययनको निष्कर्षमा लेखेका छन् ।

‘तपाईंले सन् १९८०–९० बीचको दशकलाई हेर्नुभयो भने गतिमा स्पष्ट परिवर्तन देख्न सक्नुहुन्छ, तर तपाईंले सन् २०१०–२० को दशकको रेकर्डलाई हेर्नुभयो भने खासै परिवर्तन पाउनुहुन्न,’ सोङ थप्छन् ।

भित्री कोरको चक्कर कटाइ बाहिरी कोरमा उत्पन्न चुम्बकीय क्षेत्रद्वारा सञ्चालित हुन्छ र यसलाई म्यान्टलको गुरुत्वाकर्षण प्रभावले सन्तुलित गरेको हुन्छ । भित्री कोर कसरी घुम्छ भनेर जानियो भने त्यसले यी तह आपसमा कसरी अन्तत्र्रिmया गर्छन् र पृथ्वीको गहिराइमा कस्ता प्रक्रियाहरू हुन्छ भन्ने विषयमा प्रकाश पार्न सक्छ ।

तर, अस्ट्रेलियन नेसनल युनिभर्सिटीका भू–भौतिकशास्त्री हार्भाेजे टिकालसिआइसी भित्रि कोरको चक्कर कटाईको गती र त्यसमा विभिन्नताको कुरा चाहि अझै पनि वहषकै विषय भएको ठान्छन् । उनि यो अध्ययनमा सहभागी भने थिएनन । ‘भित्री कोर पूर्ण विश्राममा आउँदैन,’ उनले भने, ‘यो अध्ययनको निष्कर्ष पृथ्वीको भित्री कोर एक दशकअघि अलिक छिटो घुमिरहेको थियोे, अहिले पृथ्वीको बाँकी भागको चक्कर कटाइसँग यसको गति मिलेको छ भन्ने हो । कुनै प्रलय भइरहेको छैन ।’ 

सोङ र याङ भने आफ्नो गणनाको आधारमा इलेक्ट्रोम्याग्नेटिक तथा गुरुत्वाकर्षण शक्तिमा आएको सानो असन्तुलनले पनि भित्री कोरको घुमाइलाई निकै ढिलो बनाउन, अझ उल्ट्याउन नै सक्ने तर्क गर्छन् । 

उनीहरू यो सात दशकको चक्र भएको विश्वास गर्छन् । सात दशक लामो यो चक्रको टर्निङ प्वाइन्ट सन् १९७० को दशकको सुरु भएको आफूहरूले सन् २००९/२०१० को डेटाबाट पत्ता लगाएको दाबी गरेका छन् । ‘द अर्थस् इनर कोर : रिभेल्ड बाई अब्जर्भेसनल सिस्मोलोजी’का लेखक टिकालसिआइसी यो अध्ययनको तथ्यांक विश्लेषण निकै राम्रो रहेको बताउँछन् । 

तथापि, यो रोचक समस्याबारे प्रकाश पार्न थप तथ्यांक र नवीन विधिहरू आवश्यक पर्ने बताउँदै अध्ययनका निष्कर्षलाई सावधानीपूर्वक लिइनुपर्ने उनको भनाइ छ । थप अध्ययन आवश्यक रहेको कुरामा सोङ र याङ पनि सहमत छन् ।

पृथ्वीको भित्री भाग : एक रहस्य 
आफ्नो किताबको एउटा पूरै अध्याय भित्री कोरको चक्कर कटाइमाथि समर्पित गरेका टिकालसिआइसी भित्री कोरको एक चक्र पछिल्लो अध्ययनले भनेको ७० वर्षभन्दा पनि २०–३० वर्षमा पूरा हुने बताउँछन् । 

उनले कोरको चक्कर कटाइको गतिमा भिन्नता किन हुन्छ र पृथ्वीको भित्री भागमा के हुन्छ भनेर बुझ्न कठिन किन हुन्छ पनि बताएका छन् । ‘हाम्रो अध्ययनको वस्तु हाम्रो पैतालाको हजारौँ किलोमिटर मुनि अवस्थित छ,’ उनले भने, ‘त्यसैले, हामी पृथ्वीको आन्तरिक स्वभाव अनुमान गर्न जियोफिजिकल अनुमान विधि प्रयोग गर्छौं । बहुविद्यागत निष्कर्षहरूले हाम्रो परिकल्पना र अवधारणात्मक फ्रेमवर्कलाई पुष्टि नगर्दासम्म ठ्याक्कै यही हो भन्न सावधानी अपनाउनुपर्छ ।’

‘तपाईं सिस्मोलोजिस्टहरूलाई पनि अपूर्ण वा सीमित उपकरणहरूको उपयोग गरेर मानिसका आन्तरिक अंगहरूको अध्ययन गर्ने मेडिकल डाक्टरजस्तै मान्न सक्नुहुन्छ । त्यसैले, प्रगतिका बाबजुद पृथ्वीको भित्री भागबारेको हाम्रो बुझाइ अझै पनि धमिलो नै छ । हामी अझै पनि खोजीकै चरणमा छौँ,’ उनले थपे ।