
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक महिनाको आफ्नो तलबसहित दानपेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् । गत ३ माघमा पद बहालीका क्रममा माला र खादा लिएर नआउन उनले आफन्त तथा शुभेच्छुकलाई आग्रह गर्नुभएको थियो । किराँतीले माला र खादाको खर्च दानपेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने घोषणा गरेका थिए ।
दानपेटिका शुक्रबारदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उनले बिदाबाहेक सात दिनमा संकलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख चार सय ४४ रुपैयाँ शिक्षामा खर्चिने उल्लेख गरेका हुन् ।
‘आमजनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दानपेटिकामा रकम हाल्न भन्यौँ, संकलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ,’ पर्यटनमन्त्री किराँतीले भनेका छन् ।
पर्यटनमन्त्रीको सचिवालयका अनुसार संकलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने र त्यसका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।