मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १४ शनिबार ०९:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुनका गहना निर्यात ७० प्रतिशतले गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १४ शनिबार ०९:५९:००

चालू आर्थिक वर्ष ०७९/८० को पुस मसान्त (साउन–पुस)सम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा सुनका गरगहना निर्यात ६९.५२ प्रतिशतले घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

गत आवको पुस मसान्तसम्म ३४ करोड ४९ लाख रुपैयाँबराबरको ४० केजी तीन सय २८ ग्राम सुनका गरगहनाको निर्यात भएको थियो । तर, चालू आवको पुस मसान्तसम्ममा भने गरगहना निर्यात २३ करोड ९८ लाख रुपैयाँले घटेर १० करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । 

भन्सार विभागले एचएस कोड दिएपछि आव ०७७/७८ देखि नेपालबाट सुनका गहना निर्यात हुन थालेको थियो, जुन गत वर्षसम्म उत्साहजनक रूपमा बढ्दै गएको थियो । आव ०७७/७८ मा ३८ करोड ७१ लाख रुपैयाँको र गत आव ०७८/७९ मा ५३ करोड २७ लाख रुपैयाँबराबरका गरगहना निर्यात भएको थियो । तर, यो वर्ष भने सुनका गहना निर्यातमा भारी गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले काँचो सुनको अभाव भएपछि निर्यात प्रभावित भएको बताए । 

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले सुन आयात गर्ने दैनिक कोटा २० केजीबाट घटाएर १० केजीमा झारेको छ । त्यसरी आउने काँचो सुनले स्वदेशी माग धान्न मात्रै पुगेको छ । तर, निर्यात प्रयोजनका लागि बनाइने गहनाका लागि पर्याप्त हुन सकेको छैन । फलस्वरूप सुनका गहना निर्यात घटेको महासंघ अध्यक्ष शाक्य बताउँछन् । 

सरकारले निर्यात गर्ने व्यवसायीलाई छुट्टै सुन आयात गर्ने तथा विशेष व्यवस्था गर्ने बताएको थियो । तर, त्योअनुसार छुट्टै व्यवस्था नहुँदा निर्यात घट्न गएको शाक्यको भनाइ छ । पहिला अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको थियो । यो वर्ष त हङकङमा सुनका गहना नै निर्यात भएको छैन । यो वर्ष अस्ट्रेलियामा दुई करोड नौ लाख रुपैयाँ र अमेरिकामा आठ करोड ४१ लाख रुपैयाँका सुनका गहना निर्यात भएको छ । 

विशेष गरी विदेशमा बसोवास गर्ने नेपालीले यस्ता गहना माग गर्ने गर्छन् । गैरआवासीय नेपालीबाट यहाँको मौलिक गरगहनाको माग पछिल्लो समय बढ्दै गएको छ । विदेशमा बन्न नसक्ने डिजाइनका गहना पनि उनीहरूबाट माग हुँदै आएको छ । तर, पछिल्लो समय सुनको अभाव हुँदा उक्त माग पूर्ति गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । यसलाई प्रवर्द्धन गर्न सकेमा ठूलो मात्रामा विदेशी मुद्रा भित्र्याउन सकिन्छ । तसर्थ, यस मामलामा सरकारले विशेष सहयोग गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।