मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १३ शुक्रबार ०८:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचनसम्म पार्टीमा थप विवाद चाहँदैनन् देउवा

Read Time : > 2 मिनेट
२०७९ माघ १३ शुक्रबार ०८:५१:००

सरकार गठनको ३५ दिनपछि तय भएको कांग्रेस केन्द्रीय समिति बैठक अझै अनिश्चित, राष्ट्रपति निर्वाचनसम्म सार्ने रणनीति

हठकै कारण सरकारबाट बाहिरिनुपरेको अपजस खेप्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूविरुद्धको आवाज मत्थर बनाउन केन्द्रीय समिति बैठक पछि सार्दै लगेका छन् । सरकार गठनको विषयमा छलफलका लागि बोलाइएको समीक्षा बैठक लगातार सारेर उनले आफूविरुद्धको आवाजलाई मत्थर पार्ने रणनीति अख्तियार गरेको आकलन गरिएको छ । तीनपटक सारेर १५ माघमा तय भएको केन्द्रीय समिति बैठक फेरि अनिश्चित बनेको छ । पछिल्लो समय कांग्रेसलाई सरकार चलाउने चटारो पनि छैन । तत्काल राष्ट्रपति निर्वाचनको माहोल पनि छैन । तर, कांग्रेस कार्यसमिति बैठक भने विभिन्न बहानामा सरेको–सर्‍यै छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पछिल्लो समय केन्द्रीय समिति बैठक सर्नुलाई आन्तरिक कारण देखाउँछन् । भ्रातृ संस्थाको पूर्णतालगायत कारण बैठक सार्नुपरेको उनको भनाइ छ । ‘आन्तरिक तयारीका लागि केन्द्रीय समिति बैठक पटक–पटक सारिएको हो । यसमा अरू कुनै कारण छैन । भ्रातृ संस्थालाई पूर्णता दिनेलगायत गृहकार्य भइरहेको छ । राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ,’ उनले भने । स्रोतका अनुसार देउवाले राष्ट्रपति निर्वाचनसम्म पार्टीमा अतिरिक्त विवाद चाहेका छैनन् । जसकारण उनले राष्ट्रपति निर्वाचनसम्म बैठक सार्ने रणनीति बनाएका छन् । यसरी बैठक लम्बिँदा आफूविरुद्धको आवाज कमजोर बन्दै जाने देउवाको बुझाइ रहेको उनीनिकट स्रोतले बतायो ।

१० पुसमा कांग्रेस सरकारबाट बाहिर रहने अवस्था आएसँगै १२ पुसमा देउवाले २२ पुसका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका थिए । तर, २५ पुसमा पहिलो संसद् बैठक र २६ पुसमा प्रधानमन्त्रीले विश्वासको मत लिने कारण देखाउँदै बैठक २८ पुसलाई सारियो । २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यसम्पादन समिति बैठकबाट निर्णय भएपछि लगत्तै १५ माघमा केन्द्रीय समिति बैठक सारेको थियो । तर, तीनपटक सारेर सरकार गठनको ३५ दिनपछि तय भएको केन्द्रीय समिति बैठक फेरि अनिश्चित बनेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक सूचनामार्फत १५ माघका लागि तय भएको बैठक विशेष कारणवश अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पहिलो संसद् बैठक, सरकारलाई विश्वासको मत, सभामुख, उपसभामुख निर्वाचनको तयारीलगायत कारण बैठक सरिरहेको बताउँछन् । सरकारबाट बाहिरिएको तत्कालीन अवस्था र अहिले सरकारलाई विश्वासको मत दिएको अवस्थामा सरकार गठनका विषयमा उठेका आवाज उही रूपमा प्रस्तुत हुने अवस्था कम भएको उनको दाबी छ । अब कांग्रेस एक भएर राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने उनले बताए ।

सभापति देउवाले पार्टीभित्र छलफल नगरी सीमित विरश्वासपात्रलाई विश्वास गर्दा कारण संसद्को पहिलो पार्टी सरकारबाट बाहिर रहने अवस्था आएको भन्दै कांग्रेसभित्रै आलोचना हुँदै आएको छ । महामन्त्रीसहितका पदाधिकारीलाई समावेश नगर्दा दुर्घटना भोगेको आवाज उठिरहँदा पछिल्ला निर्णयमा उपसभापति, महामन्त्रीलगायत पदाधिकारीलाई सहभागी गराउँदै आएका छन् । देउवाले पार्टी पदाधिकारी र कार्यसम्पादन समिति बैठकबाट सरकारलाई समर्थन, सभामुख र उपसभामुखमा पार्टीका तर्फबाट उम्मेदवार खडा गर्ने निर्णय गराएका छन् । जसकारण उनले पहिलेकै जस्तो आक्रोशको सामना पार्टीभित्र गर्नुपरिरहेको छैन ।

कांग्रेसभित्र प्रतिपक्षका रूपमा रहेको शेखर–गगन समूहले राजीनामादेखि विशेष महाधिवेशनसम्मको मागसहित बैठकमा प्रस्तुत हुने तयारी गरेको थियो । इतर समूहका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल पछिल्लो समय केन्द्रीय समिति बैठक सानुपर्ने कुनै कारण नरहेको बताउँछन् । 

‘अहिले त केन्द्रीय सदस्य भन्न पनि लाजैमर्दो अवस्था छ । पार्टी व्यस्त रहनुपर्ने कुनै कारण छैन । पार्टीमा धेरै छलफलका विषय रहँदा–रहँदै पनि विचारलाई बन्धक बनाएर, केही व्यक्तिहरू सत्ता प्राप्तिका लागि लाग्दा कांग्रेसमा यो अवस्था आएको छ । यो लोकतान्त्रिक हुन सक्दैन,’ उनले भने, ‘पार्टी संरचनालाई गतिहीन बनाएर केही व्यक्तिले निर्णय गर्ने प्रवृत्ति पार्टीका हाबी भयो । यस्तो अवस्थामा पार्टीमा छलफल गर्ने वेलामा दुई–चारजनाले निर्णय लिने र सिंगो पार्टीले छलफल र प्रश्न गर्न नपाउने अवस्था लोकतान्त्रिक आचरणअनुरूपको हुन सक्दैन । बैठकमा आलोचना मात्रै हुँदैन । समस्या र उपायबारे पनि छलफल हुन्थ्यो । तर, नेतृत्व त्यसबाट तर्किन खोजेको छ ।’