मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १० मंगलबार १८:०४:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

पर्यावरणप्रेमी देवनारायणका सारथी गणेश, यसरी जोगाए हिमाली गिद्ध

Read Time : > 1 मिनेट
२०७९ माघ १० मंगलबार १८:०४:००

गणेश साह मिथिला वाइल्डलाइफ ट्रस्टसँग आबद्ध छन्। ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई आफ्नो गुरु बताउने उनी गुरुकै कारण योग्य बनेको बताउन हिच्किचाउँदैनन्। 

गत बिहीबार मात्रै एक हिमाली गिद्धको उद्धार गर्न सफल भएका गणेश अहिले सोही गिद्धको उपचार र रेखदेखमा व्यस्त छन्। 

धनुषाधाम सब डिभिजन वन कार्यालयसमेतको सहयोगमा उनले सो गिद्ध उद्धार गरेका हुन्। आवादीको हिसाबले खतरानजिक पुगेको उक्त गिद्धको उपचार गर्ने र पछि पुनः उसकै खुला संसारमा फर्काउने गणेश बताउँछन्। हाल धनुषाधामस्थित संरक्षित वनमा उद्धार गरिएको गिद्धको उपचार र रेखदेखमा उनी लागेका छन्।

गणेशले यो एक मात्र गिद्धको उद्धार भने गरेका छैनन्। उनले हालसम्म एक हजार ८४९ विभिन्न विषालु तथा गैरविषालु सर्पको समेत उद्धार गरिसकेका छन भने अन्य विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गर्न गणेश सफल भएका छन्। 

उनी मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायाण मण्डलकै प्रोत्साहन र उनकै सानिध्यमा वन्यजन्तुको उद्धार गर्न सक्षम बनेका हुन्। गणेश भन्छन, 'उनीबाटै सर्प समात्नेदेखि अन्य वन्यजन्तुको उद्धार गर्न सिके। उनको अनुपस्थितिमा थप जिज्ञासा भए गुगलको सहारा लिन्छु।'

गणेश पशुपक्षी र वन्यजन्तुको उद्धारसँगै फोटोग्राफीसमेत गर्छन् र विद्यालयहरूमा गएर पशुपक्षीसहितका वन्यजन्तुबारे सचेतना जगाउँछन्। उनी अझै सर्प समात्न वा अन्य उद्धार कार्यको लागि आफ्नो र संस्थाका अध्यक्षको व्यक्तिगत लगानी नै लाग्ने गरेकोमा केही कतैबाट यस काममा सघाउन भनेर सहयोग नपाएको थप्छन्।

गणेश अझै यसै क्षेत्रमा धेरै गर्न चाहन्छन तर कतैबाट सहयोग र पहल भएको छैन्। उनी मधेसका युवाहरूलाई प्रकृति चिनाउन उत्साहित छन् तर आफ्नै खल्तीबाट सबैलाई प्रकृति चिनाउन भने उनी असक्षमता जाहेर गर्छन्।

सर्प समात्नेदेखि अन्य जीवहरूको उद्धार गर्न सिकाएका ट्रस्टका अध्यक्ष मण्डल भने मधेस प्रदेशमा वन्यजन्तु र वनजंगल जोगाउनतर्फ सरकार र जनता दुवै उदासीन रहेको बताउँछन्।

उनी पटक-पटक सरकार र जनता दुवैलाई वन्यजन्तुको संरक्षण र वनजंगल जोगाउन विभिन्न कुरा बताउँदा पनि दुवै नसुनेजस्तो गर्ने गरेको उनी थप्छन्। 

उनी मधेस सरकारले चाहे मधेस प्रदेशमा वन जोगाउनेदेखि वन्यजन्तुको संरक्षणकै लागि धेरै काम गर्न सकिने भए पनि कसैलाई सो कार्यमा चासो नरहेको थप्छन्।

सरकारका अधिकारी र सरोकारवाला जनप्रतिनिधिसमेतले कमिसन कहाँबाट आउने र कहाँबाट कति पैसा कमाउनेतर्फ नै ध्यान दिँदा मधेसमा जंगल र जंगलनिवासी दुवै जोखिममा रहेको अध्यक्षमण्डलको भनाइ छ।

अध्यक्षमण्डल थप्छन्, 'मधेस प्रदेशका हरेक स्थानीय तहबाट एक वा दुईजनालाई सर्पसहितको वन्यजन्तुको उद्धार गर्ने तरिका सिकाउन सकिन्छ। साथै, उनीहरूलाई वनबाट परिचितसमेत गराउन सकिन्छ तर धनुषाकै प्रायः सबै स्थानीय तहमा पुग्दा सर्पदंशबाट जोगिने उपायसहितको जानकारी र सचेतनामूलक पम्पलेटसम्म लिन मानेनन्।'

मिथिला वाइल्डलाइफ ट्रस्टले संसारमै पहिलोपटक ल्युसिजम भएको करैत सर्पको दुइटा प्रजाति धनुषाबाट उद्धार गरेर पर्यावरणको इतिहासमा आफ्नो नाम दर्ज गराइसकेको छ। यो नेपालकै लागि गौरवको विषय भएकोमा सरकारले भने यस उपलब्धिलाई जोगाउन प्रयास गर्नुपर्ने हुन्छ।