मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १४ शनिबार
  • Saturday, 28 January, 2023
निकोल गुडकाइन्ड
२०७९ माघ ९ सोमबार १०:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कर्जाको डरलाग्दो भुमरीमा विश्व

विश्वका प्रत्येक व्यक्तिको टाउकोमा झन्डै ३७ हजार पाँच सय अमेरिकी डलर कर्जा

Read Time : > 2 मिनेट
निकोल गुडकाइन्ड
२०७९ माघ ९ सोमबार १०:२८:००

चरम आर्थिक संकटबाट गुज्रिरहेको विश्व कर्जाको भुमरीमा छ । विश्वको कुल कर्जा रकम ३०० ट्रिलियन डलर छ । इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सका अनुसार यो कर्जा रकम विश्वभरका सरकार, हाउसहोल्ड र निगमको सन् २०२२ सम्मको बक्यौता रकम हो ।

यस्तो रकम वैश्विक कुल गार्हस्थ्य उत्पादन (जिजिडिपी)को ३४९ प्रतिशत हो । यसरी हेर्दा विश्वका प्रत्येक व्यक्तिको टाउकोमा झन्डै ३७ हजार पाँच सय अमेरिकी डलर कर्जा छ । वैश्विक वित्तीय संकटपूर्वको तुलनामा विश्वको कुल क्षमता अधिक छ । सरकारको कर्जाबाट जिडिपी अनुपात सन् २०२२ सम्म १०२ प्रतिशत पुगेको छ । 

यसको अर्थ :  उच्च ब्जाजदरले त्यसै पनि कम रेटिङ निगम र सरकारलाई हानि पुर्‍याइरहेको छ । न्यून आय भएका परिवारले क्रेडिट कार्ड, धरौटी र अटो लोनको बढ्दो मूल्यसँग संघर्ष गरिरहेका छन् । यदि कर्जाको सञ्चयन निरन्तर भएमा र केन्द्रीय बैंकले ब्याजदर बढाइरहे त्यसको बोझ तथा मन्दीको भय अझै बढ्न सक्छ ।

यदि सरकारको कर्जा बढ्दै जाने हो भने निगमहरूका लागि कर्जा पनि महँगो पर्न जान्छ । अमेरिकामा रहेका अधिकांश कम्पनीले बढ्दो ब्याजदरको प्रभाव महसुस गरिरहेका छन् । यसबाट जुझ्न उनीहरूले कि मूल्य बढाउनुपर्ने हुन्छ, कि त वृद्धि र विस्तारमा आफ्नो खर्चलाई कम गर्नुपर्ने हुन्छ । 

यति मात्रै होइन, उच्च ब्याजदरले सेयर मूल्यमा पनि प्रभाव पार्छ । सन् २०२२ मा केन्द्रीय बैंकहरूको ब्याजदर वृद्धिले ‘स्ट्यान्डर्ड एन्ड पुअर–५००’ मा झन्डै २० प्रतिशतको गिरावट आयो । खासमा भन्नुपर्दा वैश्विक कर्जा संकटबाट सहजै छुटकारा पाउन सक्ने कुनै उपाय छैन । संकटबाट बच्न अलोकप्रिय कार्य र नीतिनिर्माताको ‘महान् पुनस्र्थापना’ मानसिकता आवश्यक पर्छ । यसको अर्थ हुन्छ, उधारो दिँदा सतर्कता अपनाउनु, अधिक खपतमा अंकुश लगाउनु र नाफा नदिने परियोजना तथा संस्थाको पुनर्गठन गर्नु । 

कर्जाको सीमितता कति ? : वासिङ्टनमा 
बढ्दो ऋण सिलिङ चिन्ताको विषय बन्दै गइरहेको छ । अमेरिकी सरकारले कतिसम्म ऋण लिन सक्छ ? यसमा आफैँले लगाएको सीमा भेट्न सक्ने सम्भावना प्रबल देखिन्छ । राज्यकोष सचिव जेनेट येलेनका अनुसार अमेरिकाले यो लक्ष्य छिटै भेट्नेछ । 

अमेरिकी कंग्रेसले आंशिक स्रोत अभावमा सरकारी कार्यालय बन्द, सम्भावित रकम प्रवाहको कमी र डिफल्टको सम्भावनालाई केवल सिलिङ बढाएर टार्न सक्छ । विगतमा पनि यही प्रयास भएको थियो । तर, जबसम्म डेमोक्रेट खर्च कटौती र अन्य सुविधाका लागि सहमत नभए रिपब्लिकनले यसपटक कर्जा प्राप्तिको सीमा बढाउन समर्थन नगर्ने बताएको छ ।

राज्यकोष सचिव येलेनले विनाकानुनी कारबाही अमेरिकाले आगामी जुनसम्म कर्जा डिफल्ट गर्न सक्ने चेतावनी दिएकी छिन् । सरकारी दायित्व पूरा गर्न असफल अमेरिकी अर्थतन्त्र सबै अमेरिकीको जीविका र वैश्विक वित्तीय स्थिरताका लागि अपूरणीय क्षतिको कारण बन्नेछ,’ उनले भनेकी छिन्, ‘विगतमा अमेरिकी सरकारद्वारा आफ्नो दायित्व पूरा गर्न असफल हुन सक्ने धम्कीले पनि वास्तविक क्षति भएको छ ।’

बिटक्वाइनको फिर्ती : बिटक्वाइन सुस्ताएको लामो समय भएको छ । तर, यसको सम्भावना आगामी दिनमा झन् बलियो हुने देखिन्छ । सन् २०२२ मा चर्को क्षति व्यहोरेपछि बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सी यो वर्ष फिर्ती हुने एक अध्ययनले देखाएको छ । विश्वको लोकप्रिय बिटक्वाइन एफटिएक्स प्रकरणपछि बल्लतल्ल गत महिनाको तुलनामा २६ प्रतिशतभन्दा बढी पुगेर नोभेम्बरपछि पहिलोपटक २० हजार डलर पुगेको छ । यस्तै, दोस्रो नम्बरमा इथेरम छ । यसले गत महिनाको तुलनामा ३० प्रतिशत कारोबार गरेको छ । 

बिटक्वाइनले एक वर्षभन्दा बढीको समयमा गति लिएको छ । सन् २०२१ नोभेम्बरमा ६९ हजार डलरको उछाल आएको थियो । तर, दुई महिनाअघि भएको एफटिएक्स प्रकरणपछि दुई वर्षपछिकै कम मूल्य १५ हजार डलरमा झर्‍यो ।

दशकौँदेखि खराब चिनियाँ अर्थतन्त्र :  सन् २०२२ मा चीनको अर्थतन्त्र तीन प्रतिशतले विस्तार भयो, जुन सरकारले लिएको लक्ष्यभन्दा निकै कम हो । र, यस्तो खराब प्रदर्शन करिब आधा शताब्दीकै भएको बुझिएको छ । विशेष गरी चीनको अर्थतन्त्र वृद्धिलाई लामो समयसम्म जारी कोभिड लकडाउने प्रभावित पार्‍यो । यो प्रभाव सम्पत्ति बजारमा ऐतिहासिक हो । सन् २०२२ मा चीनको घरेलु अर्थतन्त्रले अनपेक्षित झट्का व्यहोर्नुपर्‍यो । माग संकुचन, आपूर्ति विशृंखलता र कमजोर अपेक्षाको तेहोरो दबाब जारी छ । यस्तै, पर्यावरणीय जटिलता, गम्भीरता र अनिश्चिततासमेत बढिरहेको छ । 

कोरोना महामारी सुरु भएयता चीनले शून्य कोभिड नीति अख्तियार गर्‍यो । तर, तीन वर्ष लामो यस्तो नीतिले अर्थतन्त्र तहसनहस बनाएको छ । साथै, आमजनमानसको क्रोधलाई भड्काई स्थानीय सरकारमाथि दबाब सिर्जना गर्‍यो । बढ्दो दबाबका बीच सरकार गत डिसेम्बरमा नीति परिवर्तन गरी शून्य कोभिड नीति अन्त्य गर्न बाध्य भयो । यद्यपि, प्रतिबन्धको सुविधा धेरैका लागि मुक्ति थियो । तर, यसको आकस्मिकताले जनतालाई अचम्मित बनायो, जसले गर्दा जनताले आफूलाई बचाउन विवश भए । 

तीव्र रूपमा फैलिएको संक्रमणले आममान्छेलाई घरभित्रै त थुन्यो नै, पसल र रेस्टुरेन्ट पनि खाली भए । ठूलो संख्यामा श्रमिक पनि संक्रमित हुन थालेपछि उद्योग तथा कम्पनी उत्पादन घटाउन र बन्द गर्न बाध्य भए ।
–सिएनएन