मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोजराज शर्मा
२०७९ माघ ९ सोमबार ०९:१२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुनर्बिमा : विदेशी मुद्रार्जनको विकल्प

अन्तरदेशीय पुनर्बिमा व्यापारमा घाटा छ, पुनर्बिमामार्फत बाहिरिनेभन्दा भित्रिने रकम बढी हुने गरी यस क्षेत्रलाई अघि बढाउनुपर्छ

Read Time : > 4 मिनेट
भोजराज शर्मा
२०७९ माघ ९ सोमबार ०९:१२:००

कुनै पनि मुलुकको अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चितिको सूचक महत्वपूर्ण मानिन्छ । वस्तु तथा सेवा आयात गर्न अनिवार्य रूपमा विदेशी मुद्रा चाहिन्छ । वस्तु तथा सेवाको हकमा पूर्ण रूपमा आत्मनिर्भर हुन सक्दैन । तसर्थ, आयात पनि अर्थतन्त्रको महत्वपूर्ण पाटो हो । यस्तो अवस्थामा आयातका लागि भए पनि विदेशी मुद्रा सञ्चिति हुन आवश्यक छ । तर, विदेशी मुद्रा भएन भने अर्थतन्त्र प्रत्यक्ष रूपमा प्रभावित हुन सक्छ । 

नेपालको हकमा पनि यो लागू हुन्छ । यहाँको मुद्राले विदेशी बजारमा कारोबार गर्ने मान्यता पाइसकेको छैन । त्यसका लागि भारतीय रुपैयाँ, अमेरिकी डलरलगायतका विदेशी मुद्रामा भर पर्नुपरेको छ । साथै, नेपाली मुद्राले विदेशी बजारमा मान्यता नपाए पनि स्वदेशी मुद्रा बाहिरिनु अर्थतन्त्रका लागि राम्रो होइन । तसर्थ, नेपालमा विदेशी मुद्रा आम्दानीको उच्च आवश्यकता छ । 

तर, नेपालमा विदेशी मुद्रा आम्दानी हुने स्रोत भने सीमित छन् । विशेषगरी वैदेशिक लगानी, अनुदान तथा ऋण, निर्यात, पर्यटन र रेट्यिान्समार्फत विदेशी मुद्रा आम्दानी हुने गरेको छ । त्यसमा पनि रेमिट्यान्समार्फत बढी आउँछ । तर, अन्य स्रोतबाट उत्साहजनक रेमिट्यान्स आउन सकेको छैन । फलस्वरूप वेला–वेलामा विदेशी मुद्रा आम्दानी प्रभावित हुँदा सञ्चितिमा समेत ठूलो धक्का लागेको देखिन्छ । यस्तो गम्भीर अवस्थामा नेपालले विदेशी मुद्रा आर्जन गर्ने प्रचलित स्रोतलाई बलियो गरी अघि बढाउनु त पर्छ नै, नयाँ स्रोत पनि पहिचान गर्दै जानुपर्छ । त्यसमा पुनर्बिमा पनि एक उपयुक्त विकल्प हो । सोहीअनुसार अब पुनर्बिमा क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रको रूपमा लागू गर्नुपर्छ ।

पुनर्बिमा एउटा निश्चित मुलुकमा नभएर अन्तर्राष्ट्रिय बजारमै गरिने व्यवसाय हो । एउटा मुलुकमा दर्ता भएको पुनर्बिमा कम्पनीले अन्य मुलुकमा पनि व्यवसाय गर्न पाउँछन् । किनकि, यसको व्यावसायिक प्रकृति नै त्यस्तै हुन्छ । फलस्वरूप यस व्यवसायबाट विदेशी मुद्रा आम्दानी गर्न सकिन्छ । नेपालमा पनि सरकारको समेत स्वामित्वमा नेपाल पुनर्बिमा कम्पनी (कात्तिक ०७१) र निजी क्षेत्रबाट हिमालयन पुनर्बिमा कम्पनी (असार ०७८) स्थापना भइसकेका छन् । नेपालमा स्वदेशमै गरिने पुनर्बिमा व्यवसायको इतिहास झन्डै दुई दशकको हो । 

आव ०६०÷६१ मा आकस्मिक बिमा कोष स्थापना गरेर स्वदेशमै आतंकवाद (टेरोरिजम) बिमाको पुनर्बिमा गर्न थालिएको थियो । त्यसपूर्व भने टेरोरिजमसहित सबै बिमाको पुनर्बिमा विदेशी कम्पनीमै गरिन्थ्यो । तर, सन् २००१ मा अमेरिकास्थित पेन्टागन टावरमा आक्रमण भएपछि भने विदेशी पुनर्बिमा कम्पनीले आतंकवादसम्बन्धी बिमाको पुनर्बिमा नै गर्न छोडे ।

नेपालले विदेशी मुद्रा आर्जन गर्ने प्रचलित स्रोतलाई बलियो गरी अघि बढाउनु त पर्छ नै, नयाँ स्रोत पनि पहिचान गर्दै जानुपर्छ । त्यसमा पुनर्बिमा पनि एक उपयुक्त विकल्प हो ।

 यता, बिमा कम्पनीले भने टेरोरिजम (आतंकवाद) बिमा गरिरहेका थिए । त्यसवेला नेपालमा पनि माओवादी जनयुद्ध जारी थियो, जसले गर्दा नेपालमा पनि ठूलो मानवीय तथा आर्थिक क्षति भइरहेको थियो । जतिवेला नेपालमा पुनर्बिमाको आवश्यकता उच्च थियो, बिमा कम्पनीमा पनि दाबी बढ्दै गएको थियो । तर, विदेशी कम्पनीले आतंकवाद बिमाको पुनर्बिमा गर्न छोडिसकेपछि नेपाली कम्पनी समस्यामा परेका थिए । 

अन्ततः बिमा कम्पनी आफैँ अग्रसर भएर सरकारको समेत स्वामित्व हुने गरी ०६०÷६१ मा आकस्मिक बिमा कोष स्थापना गरे । त्यसवेला सरकारको पाँच करोड रुपैयाँ र बिमा कम्पनीहरूको पाँच करोड रुपैयाँ सेयर लगानी गरेर कुल १० करोडको पुँजीमा आकस्मिक बिमा कोष खडा गरिएको थियो । त्यसपछि सोही कोषमार्फत नै नेपालमा आतंकवाद बिमाको पुनर्बिमा गर्न सुरु गरियो । भारतको जिआइसी रि–इन्स्योरेन्सले समेत कोटा सेयरमा पुनर्बिमा दिने गर्दथ्यो ।

तत्कालीन समयमा आतंकवाद बिमाको पुनर्बिमा गर्ने उद्देश्यअुनसार नै पुलका रूपमा उक्त कोष स्थापना गरिएको थियो । अन्य बिमाको पुनर्बिमा गर्ने काम विदेशी कम्पनीमै हुन्थ्यो । त्यसपछि कात्तिक ०७१ मा सोही कोषलाई नै नेपाल पुनर्बिमा कम्पनीमा रूपान्तरण गरियो, जुन कम्पनीले सबैखाले पुनर्बिमाको व्यवसाय गर्दै आएको छ । 

यसरी सुरु भएको नेपालको पुनर्बिमा क्षेत्रले हालसम्म आउँदा ठूलो फड्को मारिसकेको छ । थुप्रै देशमा नेपाली कम्पनीले व्यवसाय विस्तार गरेका छन् । फलस्वरूप विदेशी मुद्रा आर्जन पनि बढ्दै गएको छ । तर, अझै पनि पुनर्बिमामार्फत भित्रिनेभन्दा बाहिरिने रकम नै बढी छ । नेपालका कम्पनीले विदेशका कम्पनीमा पुनर्बिमा तथा रेट्रोसेसन गरिरहेका छन् ।

तर, विदेश पुनर्बिमा कम्पनी आएर पनि यहाँ व्यवसाय गरिरहेका छन् । तर, अन्तरदेशीय पुनर्बिमा व्यापारमा घाटा छ । त्यो अवस्थामा अब हामी पुनर्बिमामार्फत बाहिरिनेभन्दा भित्रिने रकम बढी हुने गरी यस क्षेत्रलाई अघि बढाउनुपर्छ । नेपालमा पुनर्बिमा कम्पनी स्थापना हुनुभन्दा पहिले यहाँबाट ठूलो रकम बाहिरिन्थ्यो । स्वदेशमै पुनर्बिमा कम्पनी स्थापना भएपछि यसमार्फत बाहिरिने रकम केही कम भएको छ । तर, पुनर्बिमामार्फत बाहिरिने रकम शून्यमा झार्नुपर्छ भन्ने तर्क पनि आइरहेको छ, जुन गलत हो । 

बिमा भनेको जोखिम बहन गर्ने व्यवसाय हो । त्यो अवस्थामा बिमा कम्पनीले लिएको जोखिम एउटै कम्पनी तथा एउटै देशमा राख्नु सैद्धान्तिक रूपमै राम्रो होइन । सोहीअनुसार बिमाको पनि बिमा गर्ने अर्थात् पुनर्बिमाको नीति आएको हो । पुनर्बिमाको पनि पुनर्बिमा (रेट्रोसेसन) गर्ने नीति पनि छ । 

यसरी पुनर्बिमा गर्दा एउटा देशको जोखिम बिमा, पुनर्बिमा कम्पनी हुँदै थुपै्र देशमा बाँडिन्छ । फलस्वरूप भूकम्प, बाढी, दुर्घटनाका कारण आउने ठूला बिमा दाबीको भुक्तानी गर्न सहज हुन्छ । यदि, त्यसो गरिएन भने ठूलो दाबी पर्दा सम्बन्धित कम्पनी मात्रै होइन, सरकारले नै दाबी भुक्तानी गर्न सक्दैन । 

०७२ को भूकम्पका कारण १७–१८ अर्ब रुपैयाँबराबरको बिमा दाबी परेको थियो । त्यसमा ११ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशी पुनर्बिमा कम्पनीमार्फत आएको थियो । यदि, पुनर्बिमा नगरेको भए त्यसवेला नेपाली कम्पनीलाई दाबी भुक्तानी गर्न कठिन हुन्थ्यो ।

विकसित देशहरूले पनि पुनर्बिमामार्फत आफ्नो देशको जोखिम बाहिर पठाउँछन् । कम्पनीको चुक्ता पुँजी बढी छ, देशको अर्थतन्त्र बलियो छ भन्दैमा सबै जोखिम आफ्नै देशमा राख्दैनन् । उनीहरूले पनि आफ्नो जोखिमलाई राम्रोसँग बाँडफाँट गरेका हुन्छन् । तर, उनीहरूको पुनर्बिमामार्फत बाहिरिनेभन्दा भित्रिने रकम नै बढी हुन्छ, उनीहरूले त्यसमै बढी जोड गर्छन् । तसर्थ, हामी पुनर्बिमामार्फत बाहिरिने रकम रोक्ने नीतिमा जानुहुँदैन । 

नेपालको कम्पनीमा बढी पुनर्बिमा गर्ने र पुनर्र्बिमा कम्पनीले पनि रेट्रोसेसनमार्फत बाहिर जाखिम पठाउन भने सक्छ । यसका अलावा यसलाई एकद्वार प्रणालीमा (विदेशमा पुनर्बिमा गर्दा स्वदेशी पुनर्बिमालाई मध्यस्थकर्ता बनाउने) पनि लैजान सकिन्छ । तर, पुनर्बिमामार्फत बाहिरिने रकम नै रोक्ने गरी अघि बढ्नु हुँदैन । 

हाम्रो मुख्य लक्ष्य नै पुनर्बिमामार्फत बाहिरिनेभन्दा भित्रिने रकम बढाउने हो । त्यसो गरियो भने पुनर्बिमा क्षेत्र पनि दीर्घकालीन रूपमा विकसित हुन्छ । यसले देशको शोधनान्तर स्थिति (बिओपी)मा पनि राम्रो योगदान भई देशको अर्थतन्त्रमा पनि राम्रो योगदान पुग्छ । 

पुनर्बिमा क्षेत्रलाई त्यसअनुसार विकास गर्न अझै थुप्रै काम गर्नुपर्ने हुन्छ । विशेषगरी कम्पनीले स्वेदशभन्दा विदेशबाट व्यवसाय ल्याउन बढी जोड दिनुपर्छ । त्यसपछि विदेशी मुद्राको आम्दानी पनि बढ्छ । यद्यपि, बाहिर गएर व्यवसाय लिँदा जोखिम पनि स्वाभाविक रूपमा आउँछ । तसर्थ, विदेशबाट जति व्यवसाय ल्याइन्छ, त्यसको राम्रोसँग अन्डरराइटिङ गर्न सक्ने म्यानपावर पनि हामीसँग हुनुपर्छ । तर, नेपालमा त्यसका लागि आवश्यक पर्ने दक्ष तथा प्राविधिक जनशक्ति पर्याप्त छैनन् ।

तसर्थ, अब विदेशबाट ल्याएर भए पनि पुनर्बिमा क्षेत्रमा दक्ष तथा टेक्निकल म्यानपावर राख्नुपर्छ । र, पछि उनीहरूमार्फत नै नेपालमा दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन हुन्छन् । यस्तै, कुनै पनि कम्पनीमा कार्यरत कर्मचारीलाई पठाएर पनि प्राविधिक रूपमा दक्ष बनाउन सकिन्छ । कर्मचारीको क्षमता बढाउन तालिम नै प्रभावकारी हुन्छ । त्यो भयो भने विदेशबाट ल्याइने व्यवसायको राम्रोसँग जोखिम मूल्यांकन गर्न सकिन्छ, जसले गर्दा दीर्घकालीन व्यवसाय गर्न सहज हुन्छ । 

चुक्ता पुँजीको व्याकअपले मात्रै यो व्यवसाय गर्न सकिँदैन । सही अन्डराइटिङ गर्ने, जोखिम विश्लेषण गर्नेलगायतका काम गर्न सक्ने दक्ष जनशक्ति चाहिन्छ । तसर्थ, पुनर्बिमा कम्पनीहरूले पनि कर्मचारीको क्षमता विकास गर्न तालिममा जोड दिनुपर्छ । यसैगरी, पुनर्बिमा कम्पनीहरूको अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्न पनि जोड दिनुपर्छ । तर, त्यसका लागि पहिला देशकै क्रेडिट रेटिङ हुनुपर्छ । तर, नेपालको अझै क्रेडिट रेटिङ भएको छैन । देशको रेटिङ नहुँदा कम्पनीको समेत क्रेडिट रेटिङ गर्न चुनौती भएको छ । यद्यपि, निजी क्षेत्रबाट आएको हिमालयन रिको क्रेडिट रेटिङ भइसकेको छ । अब नेपाल पुनर्बिमा कम्पनीको पनि क्रेडिट रेटिङ गर्नुपर्छ । 

अन्तर्राष्ट्रिय बजारका बिमा कम्पनीहरूले पुनर्बिमा गर्न रेटेट कम्पनी खोेज्छन् । तर, हाम्रो त देशकै क्रेडिट रेटिङ भएको छैन । फलस्वरूप हाम्रा पुनर्बिमा कम्पनीहरूले विदेशी बजारबाट क्षमताअनुसार व्यवसाय लिन सकेका छैनन् । सिंगापुर, इंग्ल्यान्ड, युरोप, अमेरिकाजस्ता मुलुकका कम्पनीले नेपालका पुनर्बिमालाई व्यवसाय दिन मान्दैनन् । भारत, अफ्रिकालगायतको मुलुकको व्यवसायमा हामी सीमित हुनुपरेको छ । तसर्थ, देश र कम्पनीको पनि रेटिङ गर्नतर्फ हामी अग्रसर हुनुपर्छ । यसका लागि नेपालमा पुनर्बिमा बोक्रर कम्पनी सञ्चालनमा आइसकेका छन् । उनीहरूमार्फत पनि विदेशी व्यवसाय लिन सकिन्छ । तसर्थ, उनीहरूलाई प्रभावकारी बनाउन नियामक निकाय पनि लाग्नुपर्छ ।