मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १४ शनिबार
  • Saturday, 28 January, 2023
मोहन विष्ट कञ्चनपुर
२०७९ माघ ८ आइतबार १५:२९:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

आकाशमा उड्ने सपना बिसाएर ‘कृषिकर्म’मा जमेकी द्रोपती 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ माघ ८ आइतबार १५:२९:००

कञ्चनपुरको भीमदत्त नगरपालिका– १० तिलकेनीकी द्रोपती कुँवर ‘एयरहोस्टेस’ हुन्। तीन वर्षअघि फ्लाई ट्याक इन्टरनेसनल प्रालि पुतलीसडक काठमाडौंबाट ‘एयरहोस्टेस’को कोर्स गरेकी द्राेपती पृथक पेसामा आबद्ध छिन्। 

अध्ययनअनुरूप अहिले हरेक दिन आकाशमा उड्नुपर्ने भए पनि २३ वर्षीया द्रोपती कुखुरापालन व्यवसायमा जुटेकी छिन्। बिहान उठ्दादेखि राति सुत्दासम्म कुखुरा, बाख्रा, गाईको स्याहारसुहारमै द्रोपतीको दिनचर्या कटिरहेको छ। 

गाउँकै युवा वर्ष माविबाट एसइई उत्तीर्ण गरेर दानेश्वर बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दै गर्दा उनी प्राविधिक शिक्षा अध्ययनका लागि ०७६ सालमा काठमाडौं गएकी थिइन्। 

सहोदर दाजु नेपाल वायुसेवा निगममा कार्यरत हुँदा उनलाई पनि दाजुकै जस्तो समानान्तर मिल्ने प्रकृतिको पेसा गर्ने चाहनाअनुरूप एयरहोस्टेजको कोर्स गरेकी थिइन्।

‘मेरो पढाइ सकिएलगत्तै कोरोना महामारीले लकडाउन भयो, ‘द्रोपतीले भनिन्, ‘अनि म घर आएँ, बुबाले यसअघि नै केराखेती गर्नुभएको थियो। घरपरिवारकै सल्लाहअनुरूप थप व्यवसाय बढाएका छौँ।’ 

लकडाउन कारणले काठमाडौं फर्किने वातावरण नभएपछि अध्ययनअनुरूप जागिरको खोजीभन्दा गाउँमै कृषि व्यवसायमा जुटेको उनले बताइन्।

अहिले द्रोपतीले तिलकेनी गाउँमै कुँवर पशुपन्छी फर्म नै खोलेर कृषि व्यवसायको नेतृत्व गरिरहेकी छिन्। द्रोपतीले बोइलर कुखुरा, बाख्रा, जर्सी गाई पालन गरेर कृषितर्फ उदाहरणीय काम गरेकी छिन्।

‘कुखुरा, बाख्रा र दूध बेच्दै आएका छौँ,’ उनले भनिन्, ‘मासिक एक–डेढ लाखबराबरको कारोबार गर्दै आएका छौँ।’ 

पछिल्ला वर्षहरूमा जहाज दुर्घटनाले झनै त्रास फैलाएको बताइन्। ‘मैले जुन विषय अध्ययन गरेकी छु, त्यो विषयअनुरूप जागिर गर्दा कतै जहाज दुर्घटना हुँदा घरपरिवार डराउँछन्,’ उनले भनिन्, ‘त्यही भएर पनि म पढेअनुरूप एयरहोस्टेजको जागिर गर्न चाहेकी छैन। पढाइअनुरूप जागिर गर्नुपर्छ भन्ने केही छैन, समाजमा केही गर्नका लागि कृषि व्यवसायसमेत सम्मानित पेसाजस्तै भएको छ।’ 

उनको पेसामा आमाबाबुसहित घरपरिवारले समेत साथ दिएका छन्। द्रोपतीका बाबु पदम कुँवरले ०६१ सालदेखि व्यावसायिक रूपमा केराखेती गरिरहेको बताउँदै उनले छोरीको चाहना–योजनाअनुरूप अहिले व्यवसाय वृद्धि गरेको बताए। 

अहिलेको कृषिको कारोबार सबै द्रोपतीले सम्हालेको बताउँदै उनले आफूहरू त सहयोगी मात्रै भएको बताए। ‘अब हामीले ड्रागनफुटदेखि आधुनिक फलफूलखेती गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘फर्ममा ४०-५० लाख लगानी गर्दासमेत कतै पनि सरकारी निकायबाट सहयोग पाएका छैनौँ।’ 

अनुदान लिएर काम नगर्ने र कर्मचारीलाई घुस नदिँदा अनुदानबाट वञ्चित भएको उनकाे अनुभव छ। द्रोपतीको मिहिनेत देखेर स्थानीयसमेत हर्षित छन्। छोरी मान्छे, त्यसमा पनि एसरहोस्टेज कोर्स गरेर कृषि व्यवसायमा भविष्य देखेर काम गरेको भन्दै उनको प्रशंसा भइरहेको छ।