मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौँ
२०७९ माघ ८ आइतबार १४:५६:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

महिलाको संघर्ष र साहसको कथामा ‘देउराली डाँडी’

Read Time : > 1 मिनेट
रासस, काठमाडौँ
२०७९ माघ ८ आइतबार १४:५६:००

वान वर्ल्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’को मञ्चन पिंगलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’मा भइरहेको छ ।

रंगकर्मी सहलेसको लेखन तथा अमेरिकी रंगकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार पारिएको नाटक गुरुङ समुदायमा प्रचलित घाटु नृत्यमा आधारित छ । घाटु नृत्य प्रदर्शन गर्ने गाउँको कथा भनिएको सो नाटकमा धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सम्पूर्ण पुरुष परदेश गएका देखाइएको छ ।

उजाडिएको देउरालीमा महिलाले गरिरहेको संघर्षकै बीच महामारीको लक्षण पुनः देखापरेपछि वैदेशिक रोजगारीमा जानुपर्ने डरले त्रस्त बनेको वातावरणलाई  चित्रण गरिएको छ । संघर्षको अन्तिम समयसम्म महिलाले घाटु नाचको कथा र गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशा नै ‘देउराली डाँडी’ हो ।

दिया मास्के, पशुपति राई, मेनुका प्रधान, बिनिता थापामगर, रञ्जना भट्टराई र सरस्वती चौधरीको अभिनय रहेको नाटक लमजुङको नाल्मा गाउँमा गरिएको घाटु नाचको अध्ययन–अनुसन्धानको आधारमा बनाइएको निर्देशक स्वाइट्जले जानकारी दिए ।

एक घन्टा ५० मिनेटको उक्त नाटकमा विदेश जान विमानस्थलमा लाम बसेकाको सपना र विदेशबाट लास बनेर फर्केकाको विपनालाई चित्रण गरिएको छ । हुम बिसीले डिजाइन गरेका देउराली डाँडीको सुकेको रूख र दृश्य परिवर्तनले रंगमञ्चको पृष्ठभूमिमा राखिने सेतो र खैरो रङका पर्खाल र गाउँको ढुंगे धाराले कथाको भावलाई अर्थ्याएको पाइन्छ ।

सञ्जिता पराजुलीको कस्ट्युममा कलासंस्कृति र पहिचान झल्काउने वेशभूषामा कलाकारहरू स्वाभाविक  देखिएका छन् । रंगमञ्चको एउटा कुनामा बसेर  धुन बजाइरहेका वाद्यवादक चन्द्रकुमार गन्दर्भ र सुबलमणि सापकोटाको मधुर धुन नाटकभर सुनिन्छ । सहनिर्देशक विजया कार्कीका अनुसार यो नाटक माघ १५ गतेसम्म नियमित मञ्चन हुनेछ । ‘नाटकले बिदेसिने परम्परामा रहेका पुरुष र महिलाको बाध्यतालाई पनि चित्रण गरेको छ ।  यसमा घाटुनाच र बिदेसिने संस्कृतिले निम्त्याएको अवस्थालाई चित्रण गर्न खोजिएको छ,’ सहनिर्देशक कार्कीले भनिन् ।