१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ ८ आइतबार ११:४५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यतमोरको झन्डै ८० प्रतिशत काम सकियो

Read Time : > 1 मिनेट
२०७९ माघ ८ आइतबार ११:४५:००

मध्यतमोर जलविद्युत् आयोजनाको प्रगति झन्डै ८० प्रतिशत पुगेको छ । सुरुङ निर्माण कार्य सम्पन्न भएसँगै समग्र कार्य प्रगति करिब ८०  प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका– १ सावादिन, मिक्वाखोला गाउँपालिका– १ र २ खोक्लिङ र फुङ्लिङ नगरपालिका– १० फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ । निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाय र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणसँगै कामको प्रगति ७५ देखि ८० प्रतिशतबीचमा रहेको आयोजनाका प्रबन्धक डा. मणिराज पोखरेलले बताए । सन् २०१९ मार्च ९ देखि आयोजनाको सिभिलतर्फ निर्माण कार्य सुरु गरिएको थियो ।

ताप्लेजुङकै ठूलो यो जलविद्युत् आयोजनको निर्माण कार्य सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले गरिरहेको छ । आयोजनाको लागत रकम १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अधिकांश क्षेत्र शिथिल बनाएको कोरोना महामारीमा पनि ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको काम रोकिएको थिएन । निर्माण कार्यलाई निरन्तरता दिएकै कारण हालसम्मको प्रगति सन्तोषजनक रहेको आयोजनाले जनाएको छ ।

सुरुङ निर्माण सम्पन्न भएसँगै हेडबक्स निर्माण कार्य, बालुवा थिग्य्राउने पोखरी, सेटलिङ बेसिन, विद्युतगृहलगायत आयोजनाको सबै क्षेत्रको काम निरन्तर भइरहेको प्रबन्धक डा. पोखरेलले बताए । आयोजनाको सम्पूर्ण काम सन् २०२३ भित्रै सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा मुख्य ठेकेदारको रुपमा चच्याचङ फर्स्ट हाइड्रो तथा पावर कन्स्ट्रकसन ग्रुप कम्पनी लिमिटेडले काम गरिरहेका छन् । 

यस्तै इलेक्ट्रो मेकानिकलको कार्य सिडब्लुटिडब्लु, हाइड्रो मेकानिकलको कार्य माछापुच्छ्रे मेटल तथा मेसिनरी वर्क प्रालि र विद्युत प्रसारण लाइनको कार्य कस्मिक इलेक्ट्रिकल एन्ड इन्जिनियरिङ प्रालिले गरिरहेको जनाइएको छ । सुरुमा ठूलै संख्यामा चिनियाँ मजदुरले काम गरेको भए पनि हाल सीमित चिनियाँ र अधिकांश नेपाली मजदुर आयोजनाको काममा छन् । आयोजनाको विभिन्न कार्यमा हाल ७०० बढी मजदुर कार्यरत रहेका आयोजनाले जनाएको छ ।

यता यस आयोजनाबाट उत्पादन हुने विद्युत् करिब १२ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुस्थित २२० केभिए क्षमताको सबस्टेसनमार्फत जडान गरिनेछ । नेपाल विद्युत्र प्राधिकरणले निर्माण गरिरहेको सो शव–स्टेसनमार्फत मध्यतमोरबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।