१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रांगणमा अलपत्र अवस्थामा बा.५च ६७७५ नम्बरको कार र अलपत्र मोटरसाइकलहरू । तस्बिर : नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरी कार्यालय बन्यो अलपत्र सवारीसाधनको ‘डम्पिङ साइट’ 

चारपांग्रे र दुईपांग्रे गरी सात हजार पाँच सय ९३ अलपत्र सवारीसाधनले ५१ बिघा जमिन ओगट्यो

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रांगणमा अलपत्र अवस्थामा बा.५च ६७७५ नम्बरको कार छ । कारका चक्का जीर्ण देखिन्छन् । दायाँतर्फको ‘हेडलाइट’ फुटेका छन् । घाम र पानीले कारको रंग फुंग उडेका छन् । ‘देहात्सु सिरोल’ लेखिएको कार कुन मितिमा कार्यालय प्रांगण आइपुग्यो, ट्राफिक प्रहरी कसैलाई जानकारी छैन । न मिति उल्लेख भएको कुनै तथ्यांक नै ढड्डामा भेटिन्छ । तर, अलपत्र कारले दिएको हैरानीबारे भने ट्राफिक प्रहरी राम्रैसँग जानकार छन् । 

बेवारिसे कारका कारण कार्यालय प्रांगण अस्तव्यस्त देखिएपछि धनी पहिचान गर्ने र जिम्मा लगाउने योजना ट्राफिक प्रहरीले बनायो । काठमाडौं महानगरपालिका–२२ की शान्ति मानन्धरको नाममा कार रहेको खुल्यो । मुस्किलले पत्ता लागेको टेलिफोन नम्बरमा सम्पर्क गर्दा खुल्यो– दुव्र्यसनीमा फसेका शान्तिका छोराले कार दुर्घटना गराएका रहेछन् । ट्राफिक प्रहरीले अनुसन्धान गर्न कार नियन्त्रणमा लिँदैै मुद्दा टुंगिएपछि कारधनीलाई जिम्मा लगाउने त्यतिवेलै प्रयत्न गरेको रहेछ । तर, छोरा पुनः बिग्रने डरले धनी कार बुझ्न तयार भएनन् । त्यहीवेला अलपत्र परेको कार कार्यालय प्रांगणमा अहिलेसम्म रहेको हो ।

ट्राफिक प्रहरी कार्यालय प्रांगणमै अलपत्र छ, बा.२च ९२१७ नम्बरको अर्को कार । ‘माज्दा’ उल्लेखित कार १९ पुस ०७७ देखि प्रांगणमा छ । कागजात नभएपछि ट्राफिक प्रहरीले कार नियन्त्रणमा लिँदै टेलिफोन नम्बरसमेत नलिई चालकलाई भने छाडिदियो । कारधनी बुझ्न प्रहरी यातायात व्यवस्था कार्यालय पुगे । तर, कार्यालयको कुनै ढड्डामा कारको विवरण फेला पर्न सकेन । जसकारण कारधनीलाई जिम्मा लगाउने कुरै भएन । त्यो कार अझै पनि कार्यालय प्रांगणमै अलपत्र देखिन्छ । 

ग१च ४३९६ नम्बरको अर्को कार छ, कार्यालय प्रांगणमै । ‘स्पार्क’ उल्लेखित कारलाई प्रहरीले २९ फागुन ०७८ मा नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले कारचालकलाई पनि टेलिफोन नम्बर नलिई त्यत्तिकै छाडिदियो । लामो समयसम्म पनि कारधनी सम्पर्कमा नआएपछि प्रहरी विवरण लिन यातायात व्यवस्था कार्यालय पुग्यो । ढड्डा पल्टाउँदा खुल्यो, कार त पाँच वर्षदेखि नवीकरण नै भएको रहेनछ । नवीकरण गर्न ठूलो रकम भुक्तानी गर्नुपर्ने हुँदा कारधनी कार नै माया मारेर गुमनाम बसेका रहेछन् ।

ट्राफिक प्रहरी वृत्त दरबारमार्ग प्रांगणमा वर्षौैँदेखि अलपत्र भएर बा.२च ७५५१ नम्बरको टोयटा कम्पनीको कार र बा.३च ११६ नम्बरको सुजुकी कम्पनीको मारुती कार बस्यो । कारबाहीस्वरूप नियन्त्रणमा लिइएको दुवै कार कार्यालय प्रांगणमै मक्किएर जीर्ण बने । तर, धनी बुझ्न आएनन् । दुवै कारलाई दरबारमार्गले अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पठाएको छ । कार्यालय प्रांगणमा अलपत्र रहेका यी कार कहिलेसम्म त्यत्तिकै बेवारिसे रहने हो कुनै टुंंगो छैन ।

 देशभरका ट्राफिक कार्यालयमा एक सय ११ चारपांग्रे सवारीसाधन अलपत्र
ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार कारबाहीमा लिएपछि अलपत्र यस्ता चारपांग्रे सवारीसाधन प्रहरी पहरा गण सामाखुसीमा २० वटा छन् । ट्राफिक प्रहरी प्रभाग बूढालिनकण्ठमा चार, ट्राफिक प्रहरी वृत्त जावलाखेल, नयाँ बसपार्क र कालिमाटीमा दुई–दुईवटा छन् । सबै गरी यस्ता सवारीसाधन कार्यालय मातहत मात्रै ३६ वटा रहेको तथ्यांकले देखाउँछ । जसलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीले हैरानी खेप्नुपरेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार देशभरका प्रहरी कार्यालयमा अलपत्र परेका चारपांग्रे सवारीसाधनको संख्या एक सय ११ वटा छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमातहत ४१, १ नं. प्रदेश प्रहरी कार्यालयमातहत १४, मधेस प्रदेश प्रहरी कार्यालय मातहत ११, बाग्मती प्रदेश प्रहरी मातहत तीन, गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत ३७, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमातहत दुई, कर्णाली प्रदेश प्रहरी कार्यालयमातहत एक र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमातहत दुईवटा चारपांग्रे सवारीसाधन अलपत्र छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी मीरा चौधरीले कार्यालयमा अलपत्र सावरीसाधन व्यवस्थापनले ट्राफिक प्रहरीले हैरानी खेप्नुपरेको बताइन् । ‘ट्राफिक कारबाहीमा परेका सवारीसाधनलाई नियन्त्रणमा लिन्छौँ । मुद्दा टुंगिएलगत्तै सम्बन्धित धनीलाई बुझाउँछौँ । तर, कतिपय यस्ता सवारीसाधन छन् जसलाई लिन धनी नै आउँदैन । यस्ता सवारीसाधन व्यवस्थापन गर्न प्रहरीलाई निकै कठिन छ,’ उनले भनिन् ।

 सात हजार चार सय २१ मोटरसाइकल अलपत्र, उपत्यकामा मात्रै दुई हजार
चारपांग्रे मात्र होइन, दुईपांग्रे सवारीसाधनको हालत पनि उस्तै छ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा । कार्यालय प्रांगणमा ०५० देखि यताका मोटरसाइकल छन् । जसमध्ये अधिकांश जीर्ण छन् । सग्लो भएका साधन लिन पनि धनी आउँदैनन् । कार्यालयका अनुसार उपत्यकाभित्र मात्रै यस्ता मोटरसाइकल एक हजार नौ सय ८० छन् । देशभर अलपत्र यस्ता मोटरसाइकल सात हजार चार सय २१ रहेको प्रहरीको तथ्यांक छ । 

नेपाल प्रहरीका एसएसपी दानबहादुर कार्कीले कारबाहीका क्रममा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थाका सवारीसाधन प्रहरी र ट्राफिक प्रहरी कार्यालय अलपत्र सवारीसाधनको ‘डम्पिङ साइट’ बनेको बताए । ‘प्रहरीले कारबाहीका क्रममा सवारीसाधन नियन्त्रणमा लिने गर्छ । कतिपय अवस्थामा बेवारिसे सवारीसाधन फेला पार्छ ।

यस्ता साधन पनि प्रहरीले नै नियन्त्रणमा लिने गर्छ । धनी बुझ्न नआएपछि यस्ता साधन प्रहरी कार्यालयमै थन्किने गर्छन्,’ उनले भने, ‘जुन दिनदेखि प्रहरी कार्यालयमा राखियो, त्यही दिनदेखि सवारीसाधन थ्रुपिन सुरु हुन्छन् । यस्ता साधनले प्रहरी कार्यलय ‘डम्पिङ साइट’जस्तो बन्न पुगेका छन् । यो हाम्रा लागि चुनौतीपूर्ण हो ।’ 

कुन ट्राफिक प्रहरी कार्यालयमा कति अलपत्र ?
प्रहरी पहरा गण सामाखुसी     ः २० 
ट्राफिक प्रहरी प्रभाग बूढानीलकण्ठ     ः चार
ट्राफिक प्रहरी वृत्त जावलाखेल     ः दुई
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्क गोंगबु     ः दुई 
ट्राफिक प्रहरी वृत्त कालीमाटी     ः दुई

 देशभरका ट्राफिक प्रहरी कार्यालयमा कहाँ कति सवारीसाधन अलपत्र ? 
उपत्यकासहित मुलुकभरका ट्राफिक प्रहरी कार्यालयमातहत मात्रै तीन हजार चार सय ८३ चारपांग्रे र दुईपांग्रे सवारीसाधन अलपत्र अवस्थामा छन् । जसमध्ये चार पांग्रेको संख्या ३६ छ । बाँकी सबै दुईपांग्रे छन् । यी सवारीसाधनले सरकारको २३.६४ बिघा जमिन चर्चेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी मीरा चौधरीको दाबी छ । यसलाई आधार मान्दा मुलुकभर रहेको अलपत्र सवारीसाधन राख्न सरकारको ५१.२६ बिघा जमिन खर्च भइरहेको छ । तथ्यांकअनुसार मुलुकभर चारपांग्रे र दुईपांग्रे गरी सात हजार पाँच सय ९३ सवारीसाधन अलपत्र छन् । 

मुलुकभरका सबै प्रहरी कार्यालयमा अलपत्र सवारीसाधनको संख्या जोड्दा व्यवस्थापनका लागि खर्च हुने जग्गाको परिमाण निकै ठूलो हुने डिआइजी चौधरीको भनाइ छ । ‘मुलुकभर रहेका ट्राफिक प्रहरीमातहत अलपत्र सवारीसाधनको संख्या निकालेर त्यसले ओगट्ने जमिनको क्षेत्रफल हिसाब गर्‍यौँ । हामीकहाँ अलपत्र परेको सवारीसाधनले मात्रै २३ बिघा जमिन ओगट्ने रहेछ । अलपत्र यस्ता सवारीसाधन मुलुकभरका जिल्ला प्रहरी कार्यालयमातहत पनि टन्नै छन् । यी सबैले ओगट्ने जमिनको परिणाम जोड्दा अझ ठूलो अंक आउँछ,’ उनले भनिन् ।

तथ्यांकअनुसार मुलुकभरका ट्राफिक तथा प्रहरी कार्यालयमातहत अलपत्र अवस्थाका कुल सात हजार पाँच सय ९३ सवारीसाधन छन् । जसमध्ये उपत्यकामा दुई हजार आठ सय ३०, १ नम्बर प्रदेशमा एक हजार एक सय १३, मधेस प्रदेशमा सात सय ७२, बागमती प्रदेशमा पाँच सय ९०, गण्डकी प्रदेशमा एक हजार एक सय ४९, लुम्बिनी प्रदेशमा पाँच सय ८३, कर्णाली प्रदेशमा दुई सय ७४ र सुदूरपश्चिम प्रदेशमा दुई सय ८२ सवारीसाधन अलपत्र छन् । 

भन्सार छलेर ल्याइएका सवारीसाधनलाई यातायात व्यवस्था विभागले भन्सार कार्यालय पठाउँछ । र, भन्सार कार्यालयले त्यस्ता सवारीसाधनलाई लिलाममा पठाउँछ । तर, व्यक्तिका नाममा दर्ता भएका र बेवारिसे अवस्थामा भेटिएका सवारीसाधनलाई लिलाम गर्ने स्पष्ट कानुन छैन । जसकारण त्यस्ता सवारीसाधन प्रहरी कार्यालयमा वर्षौँदेखि अलपत्र हुने गरेको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले बताए ।

‘भन्सार छलेर ल्याइएका सवारीसाधनलाई लिलाम गर्ने कानुन छ । तर, प्रहरी कार्यालयमा वर्षौँदेखि अलपत्र सवारीसाधनलाई लिलाम गर्ने हामीकहाँ स्पष्ट कानुन छैन । किनकि, ती सवारीसाधन कहीँ न कतै व्यक्तिका नाममा दर्ता भएका छन् । व्यक्तिका नाममा रहेका सम्पत्ति सरकारले लिलाम गर्न सक्ने कानुन छैन । त्यसो हुँदा यस्ता सवारीसाधन लिलाम गर्न नीतिगत तहमै निर्णय गर्न आवश्यक देखिन्छ,’ उनले भने ।


 

ad
ad