१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
वालिङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल चलिरहँदा प्रभु एयरको हेलिकोप्टर अनुमतिविना मैदानमै ल्यान्ड गरेपछि दर्शक र आयोजक आक्रोशित हुँदै । तस्बिर सौजन्य : गोलनेपाल
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फुटबल भइरहेको मैदानमै हेलिकोप्टर ल्यान्ड : आक्रोशित स्थानीयले पाइलट र यात्रुलाई कुटे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:४o:oo

स्याङ्जाको वालिङ मैदानमा बिहीबार क्यामरुनी एभिनियर एफसी र वालिङ एफसी रातोबीच दोस्रो सेमिफाइनल खेल चलिरहेको थियो । घरेलु टोलीलाई हौस्याउन उल्लेखनीय दर्शक रंगशालामा उपस्थित थिए । खेलको पहिलो हाफ चलिरहेको थियो । दुवै टोलीका खेलाडी गोल गर्न आक्रामक रूपमा प्रस्तुत भइरहेका थिए । दर्शक भने वालिङको पक्षमा हुटिङ गरिरहेका थिए । फुटबल सञ्चालन भइरहेको मैदानमा अचानक प्रभु एयरको हेलिकोप्टर ल्यान्ड भयो । 

मैदानमै ९ एन–एएलएक्स हेलिकोप्टर गोलपोष्टको छेउमा ल्यान्ड भएपछि प्रतिस्पर्धा गरिरहेका खेलाडी सुरक्षित स्थानतर्फ लागे । हेलिकोप्टर ल्यान्ड हुँदा मैदानमा धुलो उडेको थियो । हेलिकोप्टरको इन्जिन अफ भएपछि माहोल परिवर्तन भयो । जानकारी नदिई मैदानमा हेलिकोप्टर ल्यान्ड गरेको जनाउँदै उपस्थित दर्शकले पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका छन् । आयोजकका अनुसार हेलिकोप्टरका पाइलट डंगोलले ठूलै गल्ती गरेका हुन् । मैदानमा सानो गल्ती हुँदा कसैको ज्यान जान सक्ने आयोजकको भनाइ छ । 

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर्ड गरेर वालिङ ल्याएका थिए । अनुमतिविना मैदानभित्र हेलिकोप्टर ल्यान्ड भएसँगै आयोजक र खेलाडी आक्रोशित बनेका थिए । दर्शकले खेल बिथोल्ने काम गरेको जनाउँदै पाइलट र हेलिकोप्टरमा सवारमाथि जाइलागेका हुन् । 

दर्शकको कुटाइबाट क्याप्टेन डंगोलको नाक र मुखबाट रगत निस्किएको छ । यात्रुहरूको आग्रहमा पाइलटले खेल चलिरहेको मैदानमै हेलिकोप्टर अवतरण गरेको आयोजकले जनाएको छ । क्याप्टेन डंगोलले हेलिकोप्टर पोखरा लगिसकेका छन् । हेलिकोप्टर वालिङ ल्याउने यात्रुलाई प्रशासनले कारबाही गर्ने भएको छ । घटनासम्बन्धमा स्याङ्जाको सिडिओ कार्यालयले छानबिन गर्नेछ । विनाअनुमति गएको हेलिकोप्टरका कारण मानवीय दुर्घटनासमेत निम्तिन सक्ने अवस्था ल्याएको भन्दै कारबाहीका लागि रिपोर्ट गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ । 

 क्याप्टेन कुटपिटप्रति वायुसेवा सञ्चालक संघको आपत्ति
नेपाल वायुसेवा सञ्चालक संघले स्याङ्जाको वालिङ प्रभु हेलिकोप्टरका वरिष्ठ क्याप्टेन रानेस डंगोलमाथि भएको हातपातको विरोध गरेको छ । बिहीबार दिउँसो २ः२४ बजे पोखराबाट वालिङमा यात्रुको जिपिएस कोडिनेट प्राप्त भएअनुसार चार्टर्ड उडान गरेको र यात्रुबाट प्राप्त भएको जिपिएस कोडिनेटअनुसार नै फुटबल ग्राउन्डमा हेलिकोप्टर अवतरण गरेको संघको दाबी छ । 

‘दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिएर सुत्केरी, बिरामीलगायत अत्यन्तै संवेदनशील, मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट गर्ने कार्य अत्यन्तै निन्दनीय र संवेदनहीन छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको उचित छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडाभन्दा कडा कारबाही गरी सुरक्षाको पूर्ण प्रत्याभूति गरिदिन गृह मन्त्रालय, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

वालिङलाई हराउँदै एभिनियर फाइनलमा
एभिनियर एफसी क्यामरुन वालिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा आयोजक वालिङ एफसी जुनियरलाई २–० ले हराउँदै एभिनियर उपाधिनजिक पुगेको हो । एभिनियरको जितमा टिमबा र साबाले एक–एक गोल गरेका छन् । खेलको ८५औँ मिनेटमा टिमबाले गोल गर्दै क्यामरुनी टोलीलाई १–० को अग्रता दिलाएका थिए । 

खेलको अन्तिम इन्जुरी समयमा साबाले गोल गर्दै एभिनियरलाई २–० को जित दिलाए ।  उनी नै खेलका म्यान अफ दी म्याच भएका छन् ।क्यामरुनको एभिनियरले उपाधिका लागि आयोजक वालिङ एफसीविरुद्ध खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । 

ad
ad