१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ५ बिहीबार ०७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यती विमान दुर्घटना : सरकारी टोली फर्कियो, फ्रान्सेली आइपुग्यो

Read Time : < 1 मिनेट
२०७९ माघ ५ बिहीबार ०७:०२:००

सेतीको खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको स्थलगत अध्ययनपछि सरकारी टोली बुधबार काठमाडौं फर्किएको छ । दुर्घटनाको अध्ययनका लागि बुधबारै नौ सदस्यीय फ्रान्सेली टोली पोखरा आइपुगेको छ । विज्ञसहितको फ्रान्सेली टोलीले आइपुगेलगत्तै अध्ययन सुरु गरेको छ । 

नेपालमा एटिआर विमान पहिलोपटक दुर्घटनामा परेकाले फ्रान्सेली जहाज निर्माण कम्पनीले विज्ञसहितको टोली पठाएको हो । यसअघि दुर्घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको खोज आयोगको टोली मंगलबार र बुधबार अध्ययन अवलोकन गरी काठमाडौं फर्किएको हो । गत आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यतीको ९एन–एएनसी कलसाइनको एटिआर–७२ जहाज अवतरण ठीकअघि पोखरा महानगरपालिका– ७ र १५ को बीचमा पर्ने नयाँगाउँस्थित सीताराम कोलनीनजिकैको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा चालक दलका चार र ६८ यात्रु थिए । 

दुर्घटनापछि सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाईविज्ञ रहेका नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रकाश बास्तोल, अवकाशप्राप्त पाइलट सुनील थापा, हवाई मर्मत इन्जिनियर एकराजजंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो ।

आयोगका पाँचैजना मंगलबार पोखरा आएका थिए । टोलीले घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयसँग घटनाबारे जानकारी लियो । टोलीले पोखरा विमानस्थलबाट पनि आवश्यक प्राविधिक जानकारी संकलन गरेको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । दुर्घटनाग्रस्त जहाजको ब्ल्याकबक्स सोमबार फेला परिसकेको छ ।