१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ माघ ४ बुधबार ०८:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सभामुख निर्वाचन : एमालेबाट घिमिरे उम्मेदवार, कांग्रेस छलफलमै

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ माघ ४ बुधबार ०८:४०:००

प्रतिनिधिसभाको सभामुख पदका लागि संघीय संसद् सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार बुधबार उम्मेदवारी मनोनयन र बिहीबार निर्वाचन हुनेछ । सातदलीय सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकांक्षी थिए ।

नेताहरूका अनुसार अध्यक्ष केपी ओलीले आफ्नो गृहजिल्लाका पुराना नेता घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने तय गरेका हुन् । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नागरिकता र फोटो बोकेर आउन घिमिरेलाई मंगलबार निर्देशन दिइसकेको एक नेताले बताए । घिमिरेले पनि आफूलाई पार्टीले बुधबार नागरिक र फोटो बोकेर आउन भनेको जानकारी दिए । एमाले उपमहासचिव विष्णु रिमालले भने सभामुखको उम्मेदवारी बुधबार बिहान टुंगो लगाउने बताए । ‘आज मन्त्रिपरिषद् विस्तार भयो । अब भोलि नै निर्णय गरेर उम्मेदवारी दर्ता हुन्छ,’ उनले भने । 

सत्तागठबन्धनबाट उम्मेदवारको तय भए पनि विपक्षी दलहरूले भने निर्णय गरिसकेका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस आफैँ उम्मेदवारी दिने वा विपक्षी दलहरू मिलेर उम्मेदवारी दिने भन्ने छलफलमा छ । ‘सभामुखबारे बुधबार बिहान हामी पार्टीको आन्तरिक छलफल गर्छाैँ । विपक्षमा रहेका अन्य दलसँग पनि छलफल गर्छौँ । त्यसपछि हामी एउटा निष्कर्षमा पुग्छौँ,’ कांग्रेस मुख्य सचेतक रमेश लेखकले भने ।

कांग्रेसमा यसअघि माओवादीसँग गठबन्धन कायम रहँदा अर्जुननरसिंह केसी सभामुखको प्रबल दाबेदार थिए । तर, अहिले हार्ने चुनाव किन लड्ने भनेर कोही पनि उम्मेदवार हुन नचाहेको नेताहरू बताउँछन् । केन्द्रीय कार्यसम्पादन समिति सदस्य एनपी साउदले सभामुखमा उम्मेदवारी दिने कुरा सहमतिमा निर्भर रहने बताए । उपसभामुख र राष्ट्रपतिमा भने कांग्रेसको सशक्त उम्मेदवारी रहने उनको भनाइ छ । 

नेताहरूका अनुसार कांग्रेसले सहमतिका आधारमा सभामुखमा उम्मेदवारी नदिने र एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्ने रणनीति लिने देखिएको छ । कांग्रेसको समर्थनमा समाजवादीबाट राजेन्द्र पाण्डे उम्मेदवार बन्न सक्ने छन् । पाण्डेले अस्वीकार गरे बझाङबाट निर्वाचित भानुभक्त जोशीलाई विपक्षी दलको साझा उम्मेदवार बनाउने तयारी रहेको समाजवादीका एक नेताले बताए । 

यस्तो छ निर्वाचन कार्यक्रम 
संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । महासचिव भरतराज गौतमले मंगलबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ । नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ । प्रस्तावक र समर्थकसहित उम्मेदवारको प्रस्ताव दर्ता भएपछि ४:१५ बजे संसद् सचिवालयले सबै उम्मेदवारको दर्ता क्रमानुसार सूची प्रकाशित गर्ने कार्यक्रम छ । 

बिहीबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नुपर्नेछ । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ । छलफलपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दर्ता क्रमानुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।  एउटा मात्रै मनोनयन परेमा निर्विरोध तथा दुई वा दुईभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्थामा हरेक सदस्यको मतविभाजनबाट निर्णय लिइन्छ पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् ।

सभाध्यक्षले प्रस्तावलाई क्रमशः एक नम्बरलाई पहिला, दुई नम्बरलाई त्यसपछि गर्दै क्रमशः निर्णयार्थ प्रस्तुत गर्छन् । सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या (२७४)को बहुमत (१३८)बाट पारित हुने प्रस्तावको उम्मेदवार सभामुख निर्वाचित हुन्छ । पहिलो बैठकमा बहुमत प्राप्त नगरेमा दोस्रो तथा तेस्रो बैठकबाट बहुमत पुर्‍याएर निर्वाचित गर्ने प्रयास गरिन्छ । 

बहुमत प्राप्त निर्वाचित सभामुखले पदभार ग्रहणअगाडि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्छन् । सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख निर्वाचित भइसकेपछि बस्ने अर्काे बैठकले उपसभामुखको निर्वाचन मिति तोक्ने बताए । बिहीबार सभामुख निर्वाचित गरेर सोही दिन शनिबारलाई उपसभामुखको निर्वाचन मिति तोक्ने तयारी प्रतिनिधिसभाको छ । शुक्रबार उपसभामुखको मनोनयन दर्ता र शनिबार निर्वाचन गर्ने तयारी रहेको संसद् सचिवालयका अधिकारी बताउँछन् ।