नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने तेस्रो महिला भएकी छिन् ।
यसअघि सहाना प्रधान र सुजाता कोइरालाले परराष्ट्र मन्त्रालयको नेतृत्व गरेका थिए ।
१८ चैत्त २०६३ मा परराष्ट्रमन्त्री नियुक्त भएकी सहानाले ६ भदौ ०६५ सम्म सो मन्त्रालयको नेतृत्व गरेकी थिइन् ।
यस्तै, ११ जेठ २०६६ मा सुजाता कोइराला परराष्ट्रमन्त्री बनेकी थिइन् । उनले २३ माघ २०६७ सम्म परराष्ट्र सम्हालेकी थिइन् ।
पौड्याल संविधानसभाबाट संविधान जारी भएपछि नेपालको पहिलो महिला परराष्ट्रमन्त्री भएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत पौड्याल कृषि अर्थशास्त्री हुन् । उनी एमालेको सिफारिसमा परराष्ट्रमन्त्री भएकी हुन् ।
नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले राहदानी तथा कन्सुलर सेवा प्रवाह सहज गराउने प्रतिबद्धता जनाएकी छिन् ।
सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्रीले विदेशस्थित नेपाली राजदूतावासमा नेपालीहरूको पहुँच सहजीकरण गर्ने, नेपालीलाई आफ्नो घरको अनुभूति गराउने पनि प्रतिबद्धता जनाएकी छिन् ।
परराष्ट्रमन्त्री पौड्यालले नेपाल असंलग्न परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको पनि बताइन् । उनले परराष्ट्र नीति तत्काल परिवर्तन नहुनेसमेत उल्लेख गरेकी छिन् ।