१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मन्सुर अदायफी
२o८१ जेठ १ मंगलबार o८:३७:oo
Read Time : > 5 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

एक पूर्वकैदीको अनुभव : २१ वर्षपछि पनि यसकारण खुला छ ग्वान्टानामो

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिस्तारै गुपचुप ग्वान्टानामो शिविरलाई बन्द गराउने योजनामा काम गरिरहेका छन् । तर, अमेरिकी कंग्रेसले उनको प्रयासमा अवरोध सिर्जना गरेकाले ग्वान्टानामो खुला नै रहनेछ ।

Read Time : > 5 मिनेट
मन्सुर अदायफी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:३७:oo

ग्वान्टानामो खाडीमा रहेको अमेरिकी कारागार २१ वर्षअघि ११ जनवरीमा खोलिएको थियो । २१ वर्षको अवधिमा यस गैरन्यायिक हिरासत संयन्त्रभित्रका आठ ज्ञात शिविरमा कुल सात सय ७९ पुरुषलाई बन्दी बनाइयो । र, यो दुई दशकभित्र ग्वान्टानामोमा पिँजरा आकारको सानो, अस्थायी शिविरबाट विशाल बंकरजस्ता संरचनाहरूको अधिकतम सुरक्षा संयन्त्रमा विस्तारित भयो, जसको सञ्चालनमा बर्सेनि ५४ करोड डलर खर्च हुन्छ ।

एक्काइस वर्ष निकै लामो समय हो । यो अवधिमा एउटा पुस्ता जन्मिएर परिपक्व बनिसकेको छ भने अमेरिकाले चार थान राष्ट्रपति पाइसक्यो । यही अवधिमा ग्वान्टानामोभित्र भने अमेरिकी सेना, सिआइए र अन्य गुप्तचर निकायले यातना र अन्य मानवअधिकार उल्लंघनका प्रयोगहरू गरिरहे । यस क्रममा अमेरिकी सैनिक र नेताहरूले युद्ध अपराध गरेका छन् । अमेरिकी कंग्रेसले ग्वान्टानामोसमेत विश्वभरका कालोसूचीमा रहेका क्षेत्रका कैदीहरूले भोगेका यातना, दुव्र्यवहार र अमानवीय व्यवहारको अनुसन्धान गरेर रिपोर्ट जारी गरेको छ । तर आश्चर्य, सोही निकायले ग्वान्टानामो बन्द गर्न अवरोध गरिरहेको छ । 

ग्वान्टानामोमा राखिएका सात सय ७९ कैदीमध्ये नौजना अज्ञात कारणले त्यहीँ बिते । सात सय ६ जना रिहा भए या अन्यत्र स्थानान्तरण गरिए । २० लाई स्थानान्तरणका लागि सिफारिस गरिएको भए पनि हाल सोही कारागारमा छन् । १२ लाई अपराधको अभियोग लगाइएको छ भने दुई दोषी ठहरिएका छन् । तीनजनालाई भने कसैले रिहाइको माग नगरेसम्म अनिश्चितकालका लागि हिरासतमा राखिनेछ ।

मलाई ग्वान्टानामोमा पठाइँदा म १९ वर्षको थिएँ । दिन थियो, सन् २००२ फेब्रुअरी ९ । आँखामा पट्टी कसेर, हातखुट्टा बाँधेर र हुड लगाएर त्यहाँ लगिएको थियो । जब सिपाहीले मेरो हुड हटाए, आँखाअगाडि सुन्तला रंगका कैदीहरू भरिएको पिँजरा थियो । मलाई यातना दिइएको थियो । म त्रस्त र अन्योलग्रस्त थिएँ । म कहाँ थिएँ, भेउ पाउन सकिरहेको थिइनँ । र, मलाई त्यहाँ किन लगिएको थियो पनि भनिएको थिएन । मलाई कति समयसम्म कैदमा राखिनेछ वा मलाई के गरिनेछ भन्ने पनि जानकारी थिएन । बस्, मलाई कैदी नम्बर दिइएको थियो र म जीवन र मृत्युबीच झुलिरहेझैँ भएको थिएँ । 

मलाई अमेरिकाबारे धेरै थाहा थिएन, तर यो देश कानुन र अवसरको देश हो भन्ने सुनेको थिएँ । सबै त्यहाँ बस्न चाहन्थे । हामी सबैलाई हाम्रो नजरबन्द छोटो हुनेछ भन्ने विश्वास थियो । हामीले कुनै अपराध गरेका थिएनौँ । तिनीहरूले हामीलाई लामो समय थुने भने मानिसले विरोध गर्छन् भन्ने लागेको थियो । मैले कल्पनासमेत गरेको थिइनँ कि मैले आठ वर्ष कारागारभित्रै बिताउनुपर्ला र कुल १५ वर्ष हिरासतमा रहनुपर्ला भनेर । अन्तिममा कुनै अपराधको आरोपविना मलाई रिहा गरियो । 

म अहिले भर्खरै ४० वर्षको भएँ । यो पाको उमेरमा पनि मलाई अझै ग्वान्टानामोमा पहिलोपटक आइपुगेको १९ वर्षीय युवक नै छु जस्तो लाग्छ । एक अर्थमा म त्यहीँ कारावासभित्रै परिपक्व भएँ । मैले त्यहीँ कसरी मेरो गैरन्यायिक हिरासतको विरोध गर्ने, कसरी विरोधका लागि आफ्नो शरीर प्रयोग गर्ने (भोक हडतालमार्फत), कसरी प्रतिरोध गर्ने भनेर सिकेको हुँ । म ग्वान्टानामोमा बितेका आफ्नो समयबारे धेरै सोच्ने गर्छु । मेरा बाल्यकालका साथीहरू विश्वविद्यालय गए, विवाह गरे, रोजगार भए र आफ्नो जीवन सुरु गरे, तर मैले भने लामो समय प्रार्थना गर्न खोज्दा पनि उत्पीडन गर्ने जेलका गार्डहरूसँग लडेर बिताउनुपर्‍यो ।

ग्वान्टानामोको प्रारम्भिक दिनमा जब यो एक अविकसित जेल नै थियो, तब हामी सबैमा धेरै प्रश्न थिए– ‘हामी कहिले रिहा हुनेछौँ ? सोधपुछ किन बढ्दै गइरहेको छ ? हामीले भनेको कुरा किन कसैले पत्याउँदैन ?’ प्रश्न हामीमा मात्र उब्जिएका थिएनन् । युवा गार्डहरूमा पनि उनीहरू त्यहाँ के गर्दै छन्, हामी को हौँ, र किन केही उच्च पदस्थहरूले हामीलाई ‘सबैभन्दा खराब’ आतंककारी भन्छन् र अर्का थरीले हामीलाई फोहोरी किसान वा बेकम्मा भन्थे ती जान्न चाहन्थे । मलाई लाग्छ, ग्वान्टानामो आफैँमा पनि यही प्रश्न थिए होलान् । ग्वान्टानामो आफू कस्तो प्रकारको ठाउँ बन्ने हो, र अहिलेको काम कति लामो समयसम्म रहनेछ भन्ने प्रश्न थियो होला भन्ने मलाई लाग्छ । 

हामी सबैलाई हाम्रो नजरबन्द छोटो हुनेछ भन्ने विश्वास थियो । हामीले कुनै अपराध गरेका थिएनौँ । तिनीहरूले हामीलाई लामो समय थुने भने मानिसले विरोध गर्छन् भन्ने लागेको थियो । मैले कल्पनासमेत गरेको थिइनँ कि मैले आठ वर्ष कारागारभित्रै बिताउनुपर्ला र कुल १५ वर्ष हिरासतमा रहनुपर्ला भनेर । अन्तिममा कुनै अपराधको आरोपविना मलाई रिहा गरियो । 

वर्षहरू बित्दै जाँदा र हाम्रो उमेर बढ्दै जाँदा, हामी सबैले आफ्नो जवाफ पाइने समयको पर्खाइ गरिरह्यौँ । यो अवधिमा मैले दाह्री बढाएँ, मेरो कपालको रंग कैलो हुँदै गयो । ग्वान्टानामो आफैँ पनि खिइँदै, खुइलिँदै थियो । पहिलो शिविर मानिने क्याम्प एक्स–रे झार र घाँसले भरिएको थियो । गार्डहरू आउँथे, जान्थे र शिविरका नेताहरूमा पनि त्यही प्रक्रिया देखिन्थ्यो । हामीप्रति दयालु गार्डहरू प्रायः पद घटुवामा परे वा दण्डित भए वा आफ्ना आधिकारिक कर्तव्य र सही–गलतबारे आफ्नो बुझाइमा अलमलिँदै शिविरबाट बिदा भए । 

अमेरिकाले ‘लामो सोधपुछ’ भन्ने गरेको र बाँकी विश्वले यातना भन्ने गरेको यो संयन्त्रका आर्किटेक्ट जनरल मिलर इराकको कुख्यात कारागार अबु घराइब गए । त्यसपछि केही बन्दी रिहा पनि भए । यासिर (२१ वर्ष), अली (२६) र मणि (३०) जस्ता केहीको हिरासतमा हिंसात्मक र रहस्यमय रूपमा मृत्यु भयो । वर्षहरू किताबका अध्यायजस्तै बिते । प्रत्येक नयाँ अध्यायका साथ हामी सोच्थ्यौँ कि हाम्रा प्रश्नको जवाफ दिइनेछ वा कम्तीमा अध्यायहरू बदलिनेछन् । तर, कथा उस्तै रह्यो, सोधपुछ जारी थियो । हामीमाथिको अमानवीय व्यवहार र धार्मिक उत्पीडनले पनि निरन्तरता पाइरह्यो ।

प्रत्येक अध्याय अँध्यारो हुँदै जाँदा हामीले ग्वान्टानामोमा ल्याइनुअघिका हाम्रा जीवनका कथाहरूसँग सम्पर्क गुमाउँदै गएका थियौँ । ग्वान्टानामो लगिनुअघि हामी कसैका बाबु, छोरा, दाजुभाइ वा पति थियौँ । हामीसँग परिवार, सपना र एक स्वतन्त्र जीवन थियो । तर, ग्वान्टानामोमा हामी संख्या मात्र थियौँ– पिँजरामा कैद जनावर । हामीलाई आफूले चिनेको संसारबाट पूर्ण रूपमा अलगथलग राखिएको थियो । हामी ‘अल–कायदा वा तालिबान लडाकु हौँ’ भनेर स्विकार्न गरिने सोधपुछको अन्तहीन चक्रमा फसेका थियौँ । हामीले ग्वान्टानामोका अराजकता र दुव्र्यवहार भोग्यौँ । हामीले ग्वान्टानामो बढ्दै गएको र विकसित भएको देख्यौँ । तर, हाम्रो कथा भने सधैँ उही रह्यो । हामी आफैँ ग्वान्टानामो बन्यौँ र त्यस क्रममा हाम्रा कथा पनि गान्टानामो बने । 

हामीले हाम्रो स्वेच्छाचारी र अनिश्चितकालीन नजरबन्दको विरोध गर्‍यौँ । संसारलाई हाम्रो अवस्थाप्रति ध्यान खिच्न हामी भोक हडतालमा गयौँ । हामीबीच खुसी, रचनात्मकता र भाइचाराको क्षण पनि हुन्थ्यो । हामी गाउँथ्यौँ, नाच्थ्यौँ, ठट्टा गथ्र्यौं र हाँस्थ्यौँ । हामीले ग्वान्टानामोभित्र कला सिर्जना गरेका छौँ । हामी कैदीहरू एकअर्काका दाजुभाइ र साथी बन्यौँ । हामीलाई मानवजस्तै व्यवहार गर्ने केही गार्ड र शिविरका कर्मचारी पनि यस सम्बन्धमा जोडिन्थे । ग्वान्टानामो हाम्रो जीवन, हाम्रो संसार, हाम्रो एउटै मात्र कथा बन्दासम्म हामीले बिस्तारै हाम्रो पुरानो स्वत्वसँग सम्पर्क गुमायौँ ।

जसरी ग्वान्टानामो बूढो, कठोर र स्थायी हुँदै गयो, हामी पनि बूढो हुँदै गयौँ । सँगसँगै कमजोर, नाजुक, यसको पिँजरामा बाँधिरह्यौँ । हामीले संसारभर केही मानिसले हाम्रो कारावास र हाम्रो यातनाको विरोध गरेको र ग्वान्टानामो बन्द गर्नुपर्ने अभियान चलाएको सुन्यौँ । । यसले हामीलाई आशा दियो र संसारले हामीलाई बिर्सिएको रहेनछ भन्ने महसुस गरायो । तर, केही राजनीतिज्ञले ग्वान्टानामोसँग जोडेर डर सिर्जना गर्न आफ्नै झुटा कथा बनाइरहे, जसले गर्दा ग्वान्टानामो खुला राखिरहिएको छ । 

मेरो कारावासको अन्त्यतिर ग्वान्टानामो हुर्किसकेको थियो । केही सन्दर्भमा यो पहिलेभन्दा बढी परिपक्व र खुला भएको थियो । हामी पनि बदलिएका थियौँ, बिस्तारै बाहिरी संसारसँग जोडिन थालेका थियौँ । हामीले आफैँभित्रका ती अंश पुनः प्राप्त गर्ने प्रयास गर्यौं, जुन गुमेको थियो । मैले कक्षा लिन थालेँ र कला सिर्जना गरेँ । मैले अंग्रेजी सिकेँ र ग्वान्टानामोका कथाहरू लेखेँ । 

१५ वर्षपछि मलाई बाहिरी संसारमा बानी पार्न गाह्रो हुन्छ भन्ने सोचले सताउन थालेको थियो । म त्यहीँभित्र हुर्किएको थिएँ । ग्वान्टानामो नै पूरा संसार बनिसकेको रहेछ । त्यहीँ मेरा साथीहरू थिए । ग्वान्टानामोबाट बाहिरिने वेला अन्ततः नयाँ अध्याय लेख्ने र आफ्नो कथालाई सुखद अन्त्य दिने सोच बनाएँ । आफ्नो कथालाई मैले चाहेजस्तै अन्त्य दिने र ग्वान्टानामो एउटा सम्झना मात्र हुने दिन आउँदै थियो । जेलबाट बाहिरिएपछि उच्च शिक्षा हासिल गर्नेछु, बिहे गर्नेछु, जीवन पुनः सुरु गर्नेछु भन्ने सोच थियो । तर, आफूले छाडे पनि जेलले नछाड्ने रहेछ । यसले मलाई नयाँ कथाको साथ आश्चर्यचकित बनाइरह्यो ।

मजस्तै सयौँ मानिस ग्वान्टानामोबाट रिहा भएका छन् । कोही आफ्नो देश र आफ्नो परिवारमा फर्किए । धेरैलाई नचिनेका ठाउँहरू, उरुग्वे, काजकिस्तान, स्लोभाकिया पठाइयो । मलाई सर्बिया पठाइएको थियो, जहाँ मेरा साथी वा परिवार थिएनन् र त्यो ठाउँको भाषा पनि आउँदैनथ्यो । हामीले यी नयाँ ठाउँमा ग्वान्टानामोविनाको आफ्नो नयाँ कथा सिर्जना गर्ने प्रयास गरेका छौँ । तर, ग्वान्टानामोले हामीलाई सजिलै नछाड्ने रहेछ । हामी बाहिर पनि ग्वान्टानामोको कैदीको परिचयसँग बाँचिरहेका छौँ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिस्तारै गुपचुप ग्वान्टानामो शिविरलाई बन्द गराउने योजनामा काम गरिरहेका छन् । तर, अमेरिकी कंग्रेसले उनको प्रयासमा अवरोध सिर्जना गरेकाले ग्वान्टानामो खुला नै रहनेछ । अलग रूपमा वर्षौंदेखि, पूर्वकैदी, अभियन्ता, वकिल र पत्रकारले ग्वान्टानामोको अन्तिम अध्याय लेख्ने अभियान चलाइरहेका छन् । यो तप्का न्याय, जवाफदेहिता, मेलमिलापका साथ सो कारगार बन्दको पक्षमा छ । त्यसलाई सम्भव बनायौँ भने एक वर्षपछि हामीले ग्वान्टानामोपछिको जीवनबारे नयाँ कथा लेख्न सक्नेछौँ ।
– द गार्जियनबाट
 

ad
ad