१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
दुई दिनअघि बबरमहलस्थित एक घरको रिजर्भ ट्यांकी भरिएर सडकमा खेर गएको पानी ।
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ १ मंगलबार o९:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा पुरानै पाइपलाइनबाट मेलम्चीको पानी वितरण : कतै छ्यालब्याल, कतै हाहाकार

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१३:oo

सातामा एकपटक मात्रै पानी आउने काठमाडाैंको बबरमहल, अनामनगर, तीनकुने क्षेत्रका धारामा अहिले सातामा चारपटकसम्म खानेपानी आउँछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ४ पुसमा जारी गरेको तालिकाअनुसार नै यी क्षेत्रका सातामा चारपटकसम्म पानी आइरहेको छ । एक दिन बिराएर खानेपानी आउन थालेपछि खेर जान थालेको छ । 

खानेपानी छ्यालब्याल भएपछि कतिपयले यसैले लुगा धुने र सवारीसाधन सफासमेत गर्न थालेका छन् । प्रशस्त पानी आउन थालेपछि त्यस क्षेत्रका बासिन्दा निकै खुसी भएका छन् । तीनकुने मिलनबस्तीमार्गका कृष्ण सिवाकोटी भन्छन्, ‘सातामा एक दिन (बिहीबार) त्यो पनि एकैछिन (दुई घन्टा)आउने पानी अचेल दिन बिराएर आउँछ । निकै सहज भएको छ ।’ अचेल यो क्षेत्रमा आइतबार, बिहीबार र मंगलबार खानेपानी आउने गरेको उनले बताए । यो क्षेत्रमा पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको छ । यस्तो पाइपलाइन पुराना घरमा मात्रै जडान भएको छ । यसबाहेक अन्य घरमा नयाँ वितरण प्रणाली रहेको केयुकेएलले जनाएको छ । 

प्रकाशकुमार राई, प्रवक्ता, केयुकेएल
पुरानै पाइपलाइनबाट पानी वितरण गरेका कारण कुनै ठाउँमा चाहिनेभन्दा बढी पानी खसेको हो । नयाँ पाइपलाइनबाट पठाउन थालेपछि सबैतिर समान रूपले पानी खस्छ । केही समयमा सुधार हुन्छ ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले नयाँ तालिकाअनुसार सबैतिर पानी धेरै भइरहेको जानकारी दिए । उनका अनुसार आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले नयाँ पाइपलाइन थप परीक्षण गरेपछि मात्रै त्यसबाट पानी वितरण गरिनेछ । ‘अहिले पुरानै पाइपलाइनबाट पानी वितरण गरेका छौँ, जसका कारण कुनै ठाउँमा चाहिनेभन्दा बढी पानी खसेको छ,’ प्रवक्ता राईले भने, ‘नयाँ पाइपलाइन पठाउन थालेपछि सबैतिर समान रूपले पानी खस्छ ।’ 

काठमाडौंका १० स्थानबाट कोयुकेएलको पानी वितरण
केयुकेएलले उपत्यकाका १० वटा शाखा कार्यालयअन्तर्गतबाट पानी वितरण गर्छ । ललितपुर, नयाँ बानेश्वर, भक्तपुर, क्षेत्रपाटी, महांकालचौर, महाराजगन्ज, कीर्तिपुर, मध्यपुर थिमीमा केयुकेएलका शाखा कार्यालय छन् । यी कार्यालयहरूले महाकाल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, त्रिपुरेश्वर, अनामनगर, मीनभवन, बोडे, भैँसेपाटी, हरिसिद्धिमा रहेका रिजर्भ ट्यांकीबाट पानी वितरण गर्छ । 

पुरानो पाइपलाइन पिआइडीले बिछ्याएको पाइपलाइनभन्दा मसिनो छ । जसका कारण ठाउँ–ठाउँमा पाइप फुटेको केयुकेएलले जनाएको छ । प्रवक्ता राईका अनुसार रिजर्भ ट्यांकीहरूमा पर्याप्त पानी भएकाले अहिले पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको हो । पिआइडीले नयाँ पाइपलाइन परीक्षण गरिसकेपछि केयुकेएललाई हस्तान्तरण गर्नेछ र नयाँ तालिका जारी गरी वितरण सुरु हुनेछ ।  

दैनिक २९ करोड लिटर पानी वितरण
उपत्यकामा अहिले मेलम्ची खानेपानी आयोजनासहित दैनिक २९ करोड लिटर पानी वितरण भइरहेको छ । पानीको मात्रा बढे पनि पुराना संरचनाबाट पठाउँदा पाइप फुट्ने समस्या छ । पिआइडीका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले परीक्षण भइरहेकामध्ये थोरै स्थानमा समस्या देखिएको बताए । सडक विभाग, महानगरपालिका र विद्युत् प्राधिकरणले ढलपाइप, बिजुलीको तार भूमिगत गर्दा पाइप फुटाएकाले पनि समस्या देखिएको उनको भनाइ छ । ‘नयाँ पाइपलाइन परीक्षणकै क्रममा छ, तर धेरै समस्या छैन,’ उनले भने, ‘नयाँ पाइपलाइन उपत्यकाका सबैजसो घरधुरीमा पुगेको छ ।’ 

उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानीको माग छ  । तर, आसपासमा रहेका मूल मुहानबाट १२ करोड लिटर र मेलम्ची आयोजनाबाट १७ करोड लिटर गरी दैनिक २९ करोड लिटर पानी मात्रै वितरण हुन्छ । उपत्यकामा थप १४ करोड लिटर पानी आवश्यक छ । 

यी क्षेत्रमा खानेपानीको हाहाकार 
मेलम्चीको खानेपानी आएपछि कतिपय क्षेत्रमा खानेपानी फालाफाल भए पनि केही ठाउँमा भने झनै हाहाकारको अवस्था छ । कोटेश्वर, सिमामंगल, पुरानो बानेश्वर, क्षेत्रपाटी, टेकु,  कालीमाटी, बालाजुलगायत क्षेत्रमा खानेपानीको निकै संकट छ । चाबहिल क्षेत्र, नयाँ बसपार्क, कलंकी क्षेत्रमा खानेपानी अभावको समस्या सुधार भएको छैन । पाइपलाइप पुरानो भएकाले र कतिपय ठाउँमा पाइप थुनिएकाले समान रूपले पानी नपुगेको केयुकेएलका प्रवक्ता राईको भनाइ छ । बबरमहल र अनामनगर क्षेत्रमा भने नयाँ पाइपलाइनद्वारा खानेपानी पठाइएको छ । यस क्षेत्रमा पुरानो पाइपलाइन बिग्रिएको थियो । केयुकेएलको पाइपलाइन बिग्रिएका कारण अनामनगर क्षेत्रमा यसअघि खानेपानी वितरणमा समस्या हुँदै आएको थियो ।

 

ad
ad