नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा सोमबार विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच इलिमिनेटर खेल थियो । कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा विराटनगरले काठमाडौंमाथि ९९ रनको फराकिलो अन्तरले जित निकाल्यो । विराटनगरको जित र काठमाडौंको हारभन्दा पनि एउटा पक्षले कीर्तिपुर मैदानमा सबैको ध्यान तानियो । काठमाडौंले विराटनगरविरुद्ध सबै नेपाली खेलाडीलाई प्रतिस्पर्धामा उतारेको थियो ।
महत्वपूर्ण खेलमा काठमाडौं विदेशी खेलाडीविना मैदानभित्र प्रवेश गर्दा सबै अच्चमित परेका थिए । काठमाडौंसँग सबै स्वदेशी खेलाडीलाई खेलाउनुबाहेक अरू विकल्प नै थिएन । आबद्ध सबै विदेशी खेलाडी घर फर्किसकेका कारण काठमाडौंले स्वदेशी ११ जना खेलाडीलाई खेलाएको हो । काठमाडौंमा अफगानिस्तानका अज्मतुल्लाह ओमार्जाई, मलेसियाका बिरन्दिप सिंह, इंग्ल्यान्डका एलेक्स ब्लेक र जिम्बावेका रायन थिए । ओमार्जाई र ब्लेक गत साता नै घर फर्केका थिए ।
बिरन्दिप र एलेक्स शनिबार स्वदेश फर्किए । यसै कारण काठमाडौंको बेन्च लगभग खाली नै बन्यो । बेन्च यस अर्थमा हो, यहाँ लिस्टमा भएका ११ बाहेक अन्य खेलाडी पनि समावेश हुन्छन् । सोमबार काठमाडौंसँग रिजर्भ र विदेशी खेलाडी नहुँदा उनीहरूको बेन्च रिक्त नै रह्यो । ब्याटिङको समयमा काठमाडौंलाई केही समस्या भएन । तर, फिल्डिङका क्रममा काठमाडौंका खेलाडीलाई पानीको बोतलसमेत पुर्याउने कोही थिएनन् । उनीहरूलाई विराटनगरका खेलाडीले पानी उपलब्ध गराइरहेका थिए । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलर र स्पिनर नहुँदा विकेटकिपर लोकेश बमलाई बलिङ गराए । मल्लले व्यवस्थापनमा ‘मिस कम्युनिकेसन’ भएकाले बेन्च खाली भएको बताएका छन् ।
व्यवस्थापनसँग असमझदारी
कप्तान मल्लले खेलाडी र व्यवस्थापनबीच सुरुदेखि नै असमझदारी भएको बताएका छन् । अन्तिम समयमा काठमाडौंका मालिक नै परिवर्तन हुँदा यसले थप समस्या आएको उनले बताए । ‘अन्तिम समयमा हाम्रो मालिक नै परिवर्तन भयो, टोलीमा छिटो–छिटो परिवर्तन भइरहँदा आज यो समस्या आएको हो,’ मल्लले भने, ‘यो समस्या सोमबार मात्र होइन, लिग सुरु भएदेखि नै हो, सुधारको आशा थियो, तर त्यस्तो हुन सकेन ।’ खेलपछि आयोजना भएको पत्रकार सम्मेलनमा मल्लले सबै स्वदेशी ११ खेलाडीलाई मैदानमा प्रवेश गराउँदा सहज भएको बताए ।
‘विराटनगरविरुद्ध खेलाडी छनोटमा समस्या नै भएन, हामीसँग स्वदेशी खेलाडी मात्र थिए, कसलाई निकाल्ने वा राख्ने भन्ने समस्या नै आएन,’ ठट्टा गर्दै उनले भने, ‘हामी ११ जना खेलाडी सीधै मैदानमा गयौँ ।’ गत मंगलबार मल्लले नै पत्रकार सम्मेलनमै आफ्ना एक खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ काण्ड बिस्तारै बाहिरिएको हो ।
यसपटक काठमाडौंका कप्तान मल्लले लिगमा यस्तो अवस्था आउनमा नेपाल क्रिकेट संघ (क्यान) मात्र नभएर सबै पक्ष उत्तिकै जिम्मेवार रहेको जनाएका छन् । ‘यो क्यानको मात्र होइन, यहाँ फ्रेन्चाइजदेखि सबै म्यानेजमेन्टको कुरा हो,’ मल्लले भने, ‘विदेशी खेलाडीमा सुरुदेखि नै समस्या थियो ।’ कप्तान मल्लका अनुसार विदेशी खेलाडीले काठमाडौं आउनुअघि फर्कने टिकट बुक गरिसकेका थिए । यही कारण नै काठमाडौंले दोस्रो प्ले अफमा विदेशी खेलाडीको साथ नपाएको हो । तर, सिबिआई र आइसिसीले समेत फिक्सिङ छानबिन गर्न थालेपछि विदेशी खेलाडी घर फर्किएका हुन् । काठमाडौंका एलेक्सले १० खेल खेले । ओमार्जाईले ६ खेल, बिरन्दिपले नौ खेल र ब्लेकले पाँच खेलमा सहभागिता जनाए ।
नेपाली खेलाडीले राम्रो खेल्न सक्छन्
विराटनगरका कप्तान रोहितकुमार पौडेलले काठमाडौंमा विदेशी खेलाडी नहुँदा आश्चर्य देखाए । उनले नेपाली खेलाडीले पनि टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने बताए । ‘विदेशी नभए पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छन्,’ उनले भने, ‘विशेष गरी टी–२० फम्र्याटमा नेपाली खेलाडी राम्रा छन् ।’ काठमाडौंले आफूहरूविरुद्ध ११ खेलाडी नै घरेलु राख्दा विराटनगरले हल्का रूपमा नलिएको उनको भनाइ थियो । ‘हामीलाई थाहा छ, नेपाली खेलाडीले टी–२० मा कस्तो खेल्छन्, यसै कारण काठमाडौंसँग ११ जना स्वदेशी रहँदा हामीले सहज रूपमा लिएनौँ ।’
विराटनगरले जनकपुरको सामना गर्ने
विराटनगर नेपाल टी–२० लिगको दोस्रो क्वालिफायर (प्ले अफ)मा प्रवेश गरेको छ । कप्तान रोहितकुमार पौडेल र विवेक यादवको उत्कृष्ट ब्याटिङ गरेपछि विराटनगरले काठमाडौं नाइट्सलाई फराकिलो अन्तरले हराउँदै दोस्रो प्ले अफमा स्थान पक्का गरेको हो । विराटनगरको फाइनल पुग्ने सम्भावना कायम छ । विराटनगरले फाइनल प्रवेशका लागि मंगलबार जनकपुर रोयल्ससँग खेल्नेछ । विजेताले बुधबार उपाधि भिडन्तमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।
चलेन काठमाडौंको ब्याटिङ
काठमाडौंको ब्याटिङ चल्न नसकेपछि प्रतियोगिताबाट बाहिरियो । विराटनगरले प्रस्तुत गरेको एक सय ८३ रनको पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमै समेटिएको थियो । काठमाडौंका अविनाश बोहराले अविजित सर्वाधिक १६ रन बनाएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले १५ र ओपनर लोकेश बमले १३ रन तथा कमलसिंह ऐरीले १० रन बनाए । यसबाहेक कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा काठमाडौंको खराब प्रदर्शन भयो । बलिङतर्फ विराटनगरका सूर्य तामाङले उत्कृष्ट प्रदर्शन गरे । कसिलो बलिङ गरेका सूर्यले चार विकेट लिए । उनले २.४ ओभरमा १४ रन खर्चिएका थिए । यसैगरी, साहब आलम र वेस्ट इन्डिजका किओन जोसेफले समान दुई विकेट लिए ।
चम्किए रोहित
ब्याटिङमा कप्तान रोहितकुमार चम्किएपछि पहिलो ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८३ रनको विशाल योगफल तयार पार्यो । रोहितले ४९ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६१ रन जोडेका थिए । आक्रामक ब्याटिङ गरेका विवेकले १८ बलमा समान तीन चौका र छक्का प्रहार गरी अविजित ४६ रन बनाए । पाकिस्तानी खेलाडी हुसेन टलटले ३८ रन र वेस्ट इन्डिजका राज नाननले २३ रन जोडे ।
तेस्रो विकेटका लागि रोहित र हुसेनले ९८ रनको साझेदारी गरेका थिए । छैटौँ विकेटका लागि विवेक र राजबीच ५३ रनको साझेदारी भयो । बलिङतर्फ काठमाडौंका कमलसिंह ऐरी र अनिल खरेलले समान दुई विकेट लिएका थिए । यसैगरी, अविनाश बोहरा र गौतम केसीले समान एक विकेट लिए ।