Skip This
 ‘बिग मर्जर’ नीति : १० वर्षमा घटे १० वाणिज्य बैंक 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १८:१६:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

 ‘बिग मर्जर’ नीति : १० वर्षमा घटे १० वाणिज्य बैंक 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १८:१६:oo

नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको संख्या ३२ थियो। पछिल्लो १० वर्षमा त्यो संख्या २२ मा झरेको छ। हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ। आगामी माघमा थप दुई बैंक एकापसमा गाभिदै छन्।

राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’को नीतिअनुसार अन्य केही बैंकले पनि एकापसमा गाभिनका लागि पहल गरिरहेका छन्। चालू आर्थिक वर्षको पुसमा मात्र आठ बैंक एकापसमा गाभ्ने- गाभिने (मर्जर) प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर चार कायम भए। 

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु एकापसमा गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडका नामबाट पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुँदै छ। 

त्यस्तै, प्रभु बैंक लिमिटेडले सेन्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गरेर ‘प्रभु बैंक लिमिटेड’ को नामबाट पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै छ। मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दै छन्। 
    
हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन। दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएका छन्। आगामी माघभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ। नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर गत आर्थिक वर्षमै एकीकृत कारोबार सुरु गरिसकेको छ।

 त्यस्तै, ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंक र २०७६ मंसिरमा जनता बैंक गाभिसकेको छ। २०७० असारमा एनआइसी बैंक र बैंक अफ एसिया गाभिएर एनआइसी एसिया बैंक बनेको थियो। प्रभु बैंकले २०७१ भदौमा किष्ट बैंक र २०७२ फागुनमा ग्रान्ड बैंक गाभेको थियो। 
    
सन् २०१२ अप्रिलमा नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या दुई सय २० सम्म पुगेको थियो। त्यसमध्ये ३२ वाणिज्य बैंक, ८८ विकास बैंक, ७७ वित्त कम्पनी र २३ लघुवित्त कम्पनी सञ्चालनमा थिए। पछिल्ला वर्षमा राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाको संख्या घटाउँदै लैजाने नीति लिएको छ। 

राष्ट्र बैंकले २०२२ अप्रिलमा सार्वजनिक गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त संख्या’ (अप्टिमल नम्बर अफ बैंक्स एन्ड फाइनान्सियल इन्टिच्युसन इन नेपाल) अध्ययन प्रतिवेदनले नेपालका लागि ११ देखि १५ सम्म वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो। 
    
बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने राष्ट्र बैंकको नीतिका पछाडि मुख्य तीन उद्देश्य रहेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट बताउँछन्। पहिलो पुँजी बढाउँदा संस्था बलियो हुने, दोस्रो–सञ्चालन खर्च घट्ने र तेस्रो– अस्वस्थ प्रतिस्पर्धा घट्नेछ।

वित्तीय स्थायित्व सुदृढ गर्न बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउनुपर्ने राष्ट्र बैंकले बताउँदै आएको छ। सन् १९९७–९८ को एसियाली आर्थिक संकट र सन् २००७–२००८ को विश्व आर्थिक मन्दीपछिको अवस्थालाई हेरेर बैंक तथा वित्तीय संस्थाका नियामकले ‘कम संख्याका तर बलियो’ बैंक बन्नुपर्ने बहस सुरु भएको थियो।

वित्तीय पहुँच, बजार प्रतिस्पर्धा र बजार क्षमता, बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता (क्यापिटल एडिक्वसी), प्रविधिको प्रयोगलगायत विभिन्न अवस्थालाई हेरेर बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनुपर्ने राष्ट्र बैंकको भनाइ छ।

त्यस्तै, मर्जर वा एक्विजिसन प्रक्रियाबाट बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार विस्तार भई जोखिम बहन गर्न सक्ने क्षमता बढ्ने, सानो पुँजीका आधार भएका धेरै संख्याका संस्थाको सट्टामा थोरै संख्यामा सबल र सक्षम बैंक बनाउने नीति राष्ट्र बैंकको छ। 

बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिका हकमा अब नेपाल राष्ट्र बैंकले प्रोत्साहनको नीतिभन्दा नियामकीय भूमिकालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताए। अहिले नेपालमा रहेका वाणिज्य बैंकको संख्यालाई घटाउन उनीहरूको व्यवस्थापकीय पक्ष र संस्थागत सुशासनलाई हेरिनुपर्ने उनको भनाइ छ। 

कहिलेसम्म मर्जर-प्राप्तिमा जाने संस्थाले सुविधा पाउँछन्?

चालू आव ०७९-८० को मौद्रिक नीतिले ‘वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरू एकआपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई ०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र नेपाल राष्ट्र बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ भनी उल्लेख गरेको छ। 

गत आव ०७८-७९ को मौद्रिक नीतिले उक्त आर्थिक वर्षभित्र एकापसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छुट सुविधा पाउने उल्लेख गरेको थियो। चालू आवको मौद्रिक नीतिले ती सुविधा पाउनका लागि पुस मसान्तसम्मको समय दिएको छ। 

मर्जर र प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थाका राष्ट्र बैंकले अहिले विभिन्न सुविधा दिइरहेको छ। तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एकवर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षभित्र अनिवार्य नगद मौज्दातको सीमामा शून्य दशमलव पाँच प्रतिशत बिन्दुले छुट प्रदान गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले छुट दिनेलगायत सुविधा पाउने व्यवस्था मौद्रिक नीतिमा राखिएको छ। 

त्यस्तै, राष्ट्र बैंकले तोकेको प्रतिसंस्था निक्षेप संकलन सीमामा पाँच प्रतिशत बिन्दुले थप गर्ने, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा एक प्रतिशत बिन्दुले छुट दिइने र एकीकृत कारोबार सुरु गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको थप समय दिने सुविधा पनि यस्ता बैंक–वित्तीय संस्थालाई राष्ट्र बैंकले जनाएको छ। 
    
सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा छ महिना व्यतित नभई अर्को बैंक तथा वित्तीय संस्थामा आबद्ध हुन नपाउने व्यवस्थामा पनि छुट छ। त्यस्तै, वाणिज्य बैंकको शून्य दशमलव १० प्रतिशत वा सोभन्दा कम सेयर धारणा गरेका संस्थापक समूहको सेयर धनीहरूले यस्तो सेयर बिक्री गर्दा ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य हुनेजस्ता सुविधा राष्ट्र बैंकले दिएको छ। 

चालू आर्थिक वर्षको मौद्रिक नीतिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मात्र नभई पूर्वाधार बैंकलाई पनि मर्जरका लागि बाटो खोलिदिएको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई सञ्चालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिने मौद्रिक नीतिमा उल्लेख छ। 

डेढ दशकको इतिहास 

नेपालमा बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/ गाभिने तथा प्राप्तिको इतिहास केलाउँदा करिब डेढ दशकअगाडि फर्किनुपर्छ। 

लक्ष्मी बैंक लिमिटेड र हाइसेफ फाइनान्स लिमिटेडका बीच २०६१ सालमा मर्जर सम्झौता भएको थियो। यो नै नेपालका बैंक वित्तीय संस्थाको इतिहासमा भएको पहिलो मर्जर रहेको नेपाल राष्ट्र बैंकले २०७४ असारमा सार्वजनिक गरेको ‘गाभ्ने/ गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) को प्रभावकारिता अध्ययन प्रतिवेदन’ उल्लेख छ। 

बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली, २०६८ जारी भएपछि भने हिमचुली विकास बैंक लिमिटेड र वीरगन्ज फाइनान्स लिमिटेडबीच २०६८ सालमा भएको मर्जर नै पहिलो हो।

बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली २०६८ र बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७० जारी भएपछि हालसम्म दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर एवं प्राप्ति प्रक्रियामा सामेल भइसकेको राष्ट्र बैंकको तथ्यांक छ।

‘वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/ गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ कात्तिक मसान्तसम्म कुल दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर-प्राप्ति प्रक्रियामा सामेल भएका छन्, यसमध्ये एक सय ७९ संस्थाको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन्,’ राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७९-८० को पहिलो चार महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा भनिएको छ। रासस 

ad
ad
ad
ad