१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १o:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिल एसएसई पहिलो  ब्याजका १८ जना उद्यमी बने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३५:oo

उद्यमी बन्ने नबिल एसएसई पहिलो ब्याचका १८ जनालाई गरियो बिदाइ, दोस्रो ब्याचका २० जनालाई स्वागत

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रमअन्तर्गत १८ जना उद्यमी बनेका छन् । उद्यमको सुरुवात गर्न सक्षम बनाउने नबिलको यस कार्यक्रममा सहभागी १८ मध्ये १३ जनाले आफ्नो सेवा र उत्पादन लिएर बजारमा प्रवेशसमेत गरिसकेका छन् ।

नबिलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागी भई उद्यमी बनेकालाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो । बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनोट भएका २० जनालाई पनि स्वागत गरेको छ ।  

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल फर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनोट गरेको थियो । तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसाय सञ्चालन गरी सेवा र सामग्री बजारमा प्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवा देख्दा धेरै खुसी लागेको बताए । ‘यो नै नबिलले समाजमा ल्याएको सकारात्मक परिवर्तनको सुरुवात हो,’ उनले भने, ‘उद्यमी बनाउने हाम्रो उद्देश्यमा सहभागी १८ जनाले उद्यमशीलताको दियोका रूपमा काम गर्नेछन् ।’ त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्रा.डा. डिन डिल्लीराज शर्माले नबिल एसएसईमा सहभागीहरू समाज परिवर्तनका एजेन्ट रहेको बताए ।

फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेलले पहिले आफू सामाजिक अभियन्ता मात्र भएको र नबिलको कार्यक्रममा जोडिएपछि आफू उद्यमी बनेको बताइन् । ‘मलाई उद्यमशीलताका बारेमा केही थाहा थिएन र म बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनि होइन,’ उनले भनिन्, ‘तर, अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पु¥याएको छ ।’ 

यस्तै इलामका यमबहादुर कार्कीले बैंकको फेलोसिप कार्यक्रमले आफूलाई उद्यमीको पहिचान दिएको बताए । ‘अहिले युवा पुस्ता दिनदिनै बिदेसिनुपरिरहेको छ, तर मैले कफीखेतीका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ,’ उनले भने, ‘मेरो यो सपनालाई पूरा गर्न नबिलको कार्यक्रमले सहयोग गरेको छ । अहिले उत्पादित वस्तु बजारमा ब्रान्ड नेमका साथ आइसकेको छ र मैले रोजगारी सिर्जना गरिरहेको छु ।’ 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले यस्ता तालिमले नेपाली युवालाई उद्यमीको पथप्रदर्शन गराउने र लाखौँको संख्यामा बाहिरिँदै गरेका नेपाली युवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने बताए । 

दोस्रो चरणको फेलोसिपका लागि सम्झौता
सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिविबीच फेरि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिविका तर्फबाट उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा र प्रा.डा. डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका उपाध्यक्ष चौधरीले नबिल बैंक उद्यम र उद्यमी बन्न चाहनेहरूका लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘उद्यमी बन्न सजिलो त छैन, तर नबिलले तपाईंहरूलाई उद्यमी बन्न हरेक तवरले सहयोग गर्नेछ ।’ कार्यक्रममा पहिलो चरणमा सहभागी भएकाहरूलाई उपाध्यक्ष चौधरी र प्रा.डा. बास्कोटाले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

ad
ad