सर्वोच्च बार निर्वाचनको मतगणना सुरु

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण

सर्वोच्च बार एसोसिएसनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको गणना सुरु भएको छ। प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलले मतगणना सुरु भएको जानकारी दिए। 

नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो। निर्वाचनमा दुईवटा समूहले प्यानलसहित मनोनयन दर्ता गरेका थिए।

निर्वाचनमा बृहत् लोकतान्त्रिक समूह र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी प्रतिस्पर्धामा छन्। लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

यस्तै, उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले तथा सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन्। 

सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य उम्मेदवार छन्। एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेलले उम्मेदवारी दिएका छन् भने एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल छन्।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ। सर्वोच्च बारमा ६२१ मतदाता रहेकामा ५७३ मत खसेको छ।

सुझावित समाचार