Skip This
कोरोनाले बन्द भएको हरमटारको साप्ताहिक हटिया पुनः सञ्चालनमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कोरोनाले बन्द भएको हरमटारको साप्ताहिक हटिया पुनः सञ्चालनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:३४:oo

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा संचालित साप्ताहिक हाटबजार पुनः संचालनमा ल्याइएको छ ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्नेक्रममा नेपाल सरकारको निर्देशनमा बन्द गरिएको साप्ताहिक हाटबजार शुक्रबारदेखि पुनः संचालनमा ल्याइएको हो । 

गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा हरेक शुक्रबार लाग्ने हाटबजार कोरोनाका कारण करिब दुई वर्ष बन्द भएको थियो । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण गर्दै उनीहरुको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले वि.सं. २०७७ पुस–१० गतेदेखि हरमटारमा हाटबजार सञ्चालनमा ल्याएको थियो । 

कोरोना भाइरसको महामारी फैलिएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि हाटबजार बन्द गरिएको व्यवस्थापन समितिले जनाएको छ । वि.सं. २०७९ पुस–८ गते जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, घरेलु तथा साना उद्योग महासंघ, नागरिक समाज, अगुवा कृषक लगायतको समन्वय बैठकको निर्णय अनुसार बन्द रहेको हाटबजार पुनः सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको केन्द्र हरमटारमा साप्ताहिक हाटबजार सञ्चालनमा आएपछि विशेषगरी सागसब्जी, फलफूल, दाल, अन्न, पशुपन्छी, कपडा लगायतका थोकवस्तु किनबेच सुरु भएको छ । बन्द रहेको लामो समयपछि हाटबजार पुनः सञ्चालन हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् । 

हरमटारको हाटबजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र)का युवा नेता राजन मगरले बताए । छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसव्जी उत्पादनका लागि चर्चित छ । 

गाउँपालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापन गर्न हाटबजार पुनः संचालन गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । ‘रावाबेसीमा धेरै कृषि उपजहरु उत्पादन हुन्छन् तर, बजारीकरणको समस्या छ’, उनले भने, ‘कृषकको सहजताका लागि बन्द रहेको हाटलाई पुन :संचालनमा ल्याइएको हो । आगामी दिनमा कृषि पेशाबाट कृषकलाई आत्मनिर्भर बनाउदै पालिकाभित्र हुने आयातलाई कम गर्ने योजनासमेत बनाइएको छ ।’

खाने तेल आयातलाई रोक्न गाउँपालिकाले तोरी उत्पादनका लागि कृषकलाई बीउ उपलब्ध गराएको छ । आगामी दिनमा गुन्द्रक, भुजा, अचार लगायत पालिकामा उत्पादन गरेर बाहिर निर्यात गर्ने गरी गाउँसभाबाटै कार्यक्रम पारित गरेर संचालन गरिएको कृषि शाखा प्रमुख मुगाधन राईले बताए । 

पहिलो चरणमा एक हजार दुई सय ६० केजी तोरीको बीउ खरिद गरेर कृषकलाई वितरण गरिएको जनाइएको छ । तोरी पेल्नका लागि गाउँपालिकाले हरेक टोलमा विद्युतीय मिलसमेत उपलब्ध गराउने गाउँपालिका प्रमुख श्रेष्ठले बताएका छन्।  स्थापनाकालको करिब तीन महिना सञ्चालन भएको हाटबजार बन्द भएपछि सो स्थानमा गाउँपालिकाले कोरोना संक्रमित राख्नका लागि क्वारेन्टाइन बनाएको थियो । क्वारेन्टाइनलाई हाटबजारको टहराका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । 

गाउँपालिकाभित्रका किसानलाई लक्षित गर्दैै हरमटारमा चिस्यान केन्द्रसमेत निर्माण सुरु गरिएको छ । हटियामा बिक्री नभएका कृषि उपज भण्डार गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । तस्वीर उपलब्ध छ । 


 

ad
ad