जिल्लामा लगातार बढेको चिसोले विपन्न परिवारको दैनिकी कष्टकर बनिरहेको छ । चिसोबाट जोगिन विपन्न परिवारले गरेको संघर्ष निकै दयनीय छ । मध्यपुसको सिरेटोले कामेको मुटु तताउन उनीहरू पराल ओढ्ने र पराल नै ओछ्याउने गरिरहेका छन् । बिहीबार सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामत पुग्दा रेखादेवी माझी आफ्नो झुपडीबाहिर धानको टुप्पा केलाउँदै थिइन् ।
रेखाकी ठूली छोरी रातभरि ओढ्ने र ओछ्याउने बनाएको पराल बाहिर निकालेर सुकाउँदै थिइन् । ‘केही दिनयता माटोको चिसो भुइँमा यसै ओछ्याएको पराल ओसिए छन्,’ उनले भनिन्, ‘यस्तो ओसिएको परालले भरे रात काट्न सकिँदैन ।’ चार दिनदेखि घामको अनुहार नदेखेकी रेखाले पराल सुक्ने छाँट नदेखेपछि, छिमेकीसँग पराल माग्न लागेको सुनाइन् ।
सम्पत्तिको नाममा रेखासँग जता फर्किएर सुते पनि खुट्टा भित्तामा ठोक्किने एउटा साँघुरो झुपडी छ । त्यसमा पनि माटोले लिपेको भित्ताबाट सीधै घाम, पानी र हावा वारपार हुन्छ । मर्मत–सम्भार गर्न सक्ने क्षमतासमेत नभएपछि यो चिसोमा रेखाको ६ जना बालबच्चासहित आठजनाको परिवार सोही झुपडीमा जाडो छल्न संघर्ष गरिरहेकाे छ ।
चिसो सुरु भएसँगै स्थानीय सरकारले विपन्नलाई राहत वितरण गरिरहेको दाबी गरिरहेका छन् । तर, रेखाजस्ता विपन्न दलित परिवारले कुनै राहत पाउन सकेका छैनन् ।
राज्यसत्तामा बसेकाहरू खोक्रो विकास र समृद्धिका भाषण गर्नैमा व्यस्त छन् । सरकार बनाउने र गिराउने अजीवको खेल चलिरहेको छ । एकातिर भुइँमान्छेहरू भुइँबाट काठको सामान्य खाटमा समेत सुत्न त परको कुरा कल्पना गर्नसमेत डराउँछन् । यतिवेला देशभर अत्यधिक चिसो बढिरहेको छ । यहाँका जनता परालको ओढ्ने र ओछ्याउने बनाएर सुत्न बाध्य छन् । यी दृश्यले देशको वास्तविकता हेर्न कतै जानुनपर्ने बताउँछ । र त खुसीराम पाख्रिनको गीत सदैव जीवन्त रहिरहन्छ
भोका नांगा नानीहरू खेलिरहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाऊँ