देश/विदेश
पेले ब्राजिलियन फुटबल खेलाडीमा मात्र सीमित नभई सिंगो फुटबल संस्कृति नै बने र पहिलो वैश्विक फुटबल सेलेब्रिटी पनि

सन् १९५८ को विश्वकप फाइनलमा ब्राजिल ४–२ ले अगाडि रहेका वेला १७ वर्षका पेलेले स्विडेनको पेनाल्टी क्षेत्रनजिकै लामो दूरीबाट आएको बललाई नियन्त्रणमा लिएका थिए । उनले निमेषभरमै बललाई छातीमा नियन्त्रण गर्दै आफ्नो खुट्टामा अड्याएका थिए । अड्याएको बललाई टोलीको अर्को खेलाडीलाई पास गरेका थिए । दर्शक यो दृश्य हेर्दै उत्साहसाथ ताली बजाई के रहेका थिए बल पेलेतर्फ नै फर्कियो र हेडिङ गर्दै पेलेले नै गोल गरे । ब्राजिलको पहिलो विश्वकप जितले देशको नयाँ पहिचान बनाइदियो, अर्थात् केही मिनेटअगाडिसम्म कफीका लागि चिनिने ब्राजिल फुटबलको पर्यायवाची बन्यो । मैदानमा खुसीका आँसुको भल नै बग्यो र पेले ब्राजिलियन फुटबलका प्रतीक बने ।
विश्वकप विजयको दिनअगाडिका समयमा ब्राजिलले गरेको संघर्ष एवं अनुभव उल्लेखनीय थियो । सन् १९३८ मा ब्राजिलका अफ्रिकी मूलका जाज्ज्वल्यमान प्रतिभा भएका खेलाडी विशेषतः लियोनिडासले विश्वको ध्यान खिचेका थिए । टिप्पणीकारका अनुसार देशको वर्णशंकर जनसंख्या अर्थात् अफ्रिकन–इन्डियन— (अमेरिकी क्षेत्रका आदिवासी) युरोपेली समुदायबाट जन्मेका समुदायलाई ब्राजिलियन फुटबल एवं संस्कृतिको प्रमुख शक्ति भनिएको थियो ।
ब्राजिलमा भएको सन् १९५० को विश्वकपले यसलाई बलियो बनाउने मानिएको थियो, तर माराकानाजो भनेर चिनिने विश्वकप फाइनलमा ब्राजिल उरुग्वेसँग पराजित भयो । यस हारलाई राष्ट्रको आधुनिकीकरणको असफलता र विभिन्न नश्लबीचको सम्बन्धबाट जन्मेका वर्णशंकर मानिसलाई असफल आधुनिकीकरणका लागि दोषी ठहर्याइयो । अश्वेत खेलाडीलाई हारको कारण मानियो र यो समुदायविरुद्ध नश्लभेदी रुढीबद्ध धारणा पुनर्विकसित हुन थाल्यो । तर, सन् १९५८ मा ब्राजिल यो अभिशापबाट मुक्त भयो । ब्राजिलको अत्यधिक विविध टोली आफ्नै अनौठो लयमा खेल्दै विश्व च्याम्पियन बनेको थियो, जहाँ पेले स्टार बने र सारा विश्वको ध्यान पेलेतर्फ मोडियो ।
निःसन्देह पेले अविश्वसनीय रूपमा प्रतिभाशाली खेलाडी थिए, जो जुनसुकै युगमा चम्कने थिए । उनको खेलजीवन ब्राजिलियन फुटबलको लोकप्रियता सर्वोच्चस्तरमा हुँदा फस्टाएको थियो, अर्थात् उनी खेलले राष्ट्रको सांस्कृतिक जीवनको केन्द्रमा कब्जा गरेका वेला र टेलिभिजन प्रसारण विस्फोटक वृद्धिको समयमा उदाएका थिए । नतिजा फुटबलमा उनको माग ह्वात्तै बढ्यो । अन्ततः पेले ब्राजिलियन फुटबल खेलाडीमा सीमित नभई सिंगो संस्कृति नै बने र पहिलो वैश्विक फुटबल सेलिब्रेटी बने । यसलाई पुष्टि गर्ने दुई परिघटना सम्झिऊँ :
पहिलो, पेलेको एक हजारौँ गोलसँग सम्बन्धित मिडियाबाजीसित जोडिएको छ । सन् १९६९ मा पेलेले एक हजार गोल पुर्याउन एक गोल गर्न बाँकी थियो र ब्राजिलका मिडिया उनका हरेक पाइलालाई पछ्याउँथे अर्थात् उनी पत्रकार र क्यामेराले घेरिएका हुन्थे । अन्ततः पेलेले एक हजारौँ गोल गरे र सो पललाई टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट ब्राजिलियन जनतामाझ पुर्याइयो । पेलेको उपलब्धिलाई ब्राजिलको एपोलो–११ (एपोलो–११ मा मानिसले पहिलोपटक चन्द्रमामा पाइला टेकेको थियो र अमेरिकी जनता यसलाई अमेरिकाको सबैभन्दा ठूलो परिघटना मान्छन्) जस्तै परिघटनाका रूपमा लिइयो ।
दोस्रो, सन् १९७० को विश्वकप फाइनल, जहाँ पेलेको ब्राजिलले इटालीलाई ४–१ ले पराजित गरेको घटनासँग सम्बन्धित छ । सो विजयलाई टोलीको इतिहासकै सबैभन्दा उत्कृष्ट प्रदर्शन मानियो । यसलाई स्वयं पेलेले ‘एक सुन्दर खेल’को संज्ञा दिएका थिए । वास्तवमा यो विश्वकपको फाइनल खेलले विश्वमा एक नयाँ काल्पनिकीको निर्माण गरेको थियो अर्थात् यो विश्वकप विश्वभरि सेटेलाइट टिभीबाट देखाइएको पहिलो रंगीन खेल थियो । मेक्सिकोको झिलिमिलीमा ब्राजिलको पहेँलो जर्सी विश्वभरका दर्शकले पहिलोपटक देखेका थिए ।
पेले टिभी मात्र नभई, पहिलो पूर्णतया बहुमुखी मञ्चका फुटबल स्टार थिए । चिको बुवार्क र ज्याक्सन डो पान्डेइरोलगायत ब्राजिलका धेरै शीर्ष पप कलाकारले उनको सम्मानमा गीत लेखेका थिए । ब्राजिलका सबैभन्दा प्रतिष्ठित लेखक जु काब्राल मेलो नेटोले पनि पेलेबारे शब्द कोरेका थिए । उनी आफ्नै रेडियो कार्यक्रम सञ्चालन गर्ने पहिलो खेलाडी बने, जहाँ कैयौँ रेकर्डिङ चर्चित बने, टेलिभिजनमा धारावाहिक आउन थाले र पाँच जीवनी फिल्ममा देखा परे । उनको अभिनय जीवनमा आफ्नै भूमिका निभाउँदै चर्चित ‘कल्ट’ चलचित्र ‘एस्केप टु भिक्ट्री’ फिल्म खेले र ‘ओस ट्रोम्बाधिनास’मा निजी जासुस र सामाजिक कार्यकर्ताको चरित्रमा उत्रिए ।
खेलबाट सनन्यास लिनुअघि पेलेले न्युयोर्क कोसमोसबाट अमेरिकामा फुटबल पुनः सुरु गरेका थिए । सेवानिवृत्तिपछि उनले राष्ट्रपति फर्नान्डो हेनरिक कार्डोसोको मन्त्रीमण्डलमा छोटो समयका लागि खेलकुदमन्त्रीको पद ग्रहण गरेका थिए । उपनाम नै ट्रेडमार्क बनेको उनी पहिलो फुटबल खेलाडी थिए अर्थात् पेले पेप्सीदेखि भियाग्रासम्मका विश्वव्यापी ब्रान्डका अनुहार बनेका थिए ।
उनी सर्वकालीन महान् र सबैभन्दा चर्चित फुटबलर थिए कि थिएनन् अथवा सन् १९८० को दशकमा अर्जेन्टिना र म्याराडोनाले लिएको भनिएको पेलेको ताज अहिले लियोनेल मेस्सीको शिरमा गएको छ वा छैन भन्ने विषयमा स्वभावतः चर्चा–बहस हुने नै छ । सम्भवतः मेस्सी सर्वकालिक महान् खेलाडी बने भन्ने विषय गलत होइन कि ? एक खेलाडी उसले बाँच्ने ऐतिहासिक कालखण्डअनुसार नै उत्कृष्ट हुन सक्छ । आजका खेलाडीले पेलेकालको तुलनामा धेरै राम्रो प्रशिक्षण, फिटनेस र चिकित्सा हेरचाह पाउँछन् । पोषणमा अत्यधिक सुधार भएको छ, जुत्ता तिखारिएका छन् र उपकरण हल्का एवं सहज भएका छन् । यति भन्दै गर्दा अभूतपूर्व मिडिया विश्वव्यापीकरणका समयमा धमाकेदार प्रदर्शन गरेका म्याराडोना र मेस्सी पेलेले नै मार्गप्रशस्त गरेको बाटोमा हिँडेका हुन् ।
(गोल्डब्लेट ‘द बल इज राउन्ड : अ ग्लोबल हिस्ट्री अफ फुटबल एन्ड द गेम अफ आवर लाइभ्स’ पुस्तकका लेखक हुन्) द गार्डियनबाट