मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १३ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नम्बर एक खेलाडी शुक्रविरुद्ध नीरजको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १३ बुधबार ०८:१७:००

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको मंगलबार पहिलो दिन घरेलु गल्फर नीरज तामाङले एक स्ट्रोकको अग्रता लिएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा नीरजले पाँच अन्डर ६५ को कार्ड लेखाएका छन् । नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई र सञ्जय लामा चार अन्डर ६६ को स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । तीन अन्डर ६७ का साथ भुवन नगरकोटी चौथो स्थानमा रहेका छन् । इभन पार ७० खेलेका जयराम श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन् । 

एमेच्योर गल्फर राजकुमार राई एक ओभर ७१ कार्डका साथ छैटौँ स्थानमा छन् । यसैगरी, दुई ओभर ७२ को स्कोरमा सात व्यावसायिक गल्फर संयुक्त रूपमा सातौँ स्थानमा छन् । रवि खड्का, रमेश अधिकारी, रामे मगर, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, दिनेश प्रजापति र बलभद्र राई सातौँ स्थानमा रहेका हुन् । पहिलो दिन शीर्ष स्थानमा रहेका नीरजले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ६ अन्डर ३० स्कोर गरे । उनले दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ र सातौँ होलमा बर्डी हात पारे । आठौँ होलमा बोगी खेपेका नीरजले चार पारको नवौँ होलमा इगल प्रहार गरे ।

ब्याक नाइनको सुरुवाती तीन होलमा बर्डी प्रहार गर्दै उनले १३औँ, १४औँ, १७औँ र १८औँ होलमा बोगीको सामना गरे । नम्बर एक गल्फर शुक्रबहादुरले फ्रन्ट नाइनमा एक अन्डर ३५ को स्कोर गरेका थिए । उनले ब्याक नाइनमा तीन अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । सुरुवाती दुई होलमा बोगी खेपेका उनले पाँचौँ, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गरे । शुक्रबहादुरले १०औँ, १३औँ, १५औँ र १८औँ होलमा समान एक सट बचाए । यसैगरी, सञ्जय लामाले फ्रन्ट नाइट तीन अन्डर ३३ स्कोर गरेका थिए । 

उनले दोस्रो, पाँचौँ र छैटौँ होलमा बर्डी प्रहार गरे । प्रतियोगिताको एमेच्योरतर्फ राजकुमार राईले दुई स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो स्थानमा रहेका रुपेन्द्र गुरुङ र युवराज भुजेलले तीन ओभर ७३ को कार्ड बनाए । प्रोफेसनल गल्फर धनबहादुर थापासँग रुपेन्द्र र युवराज संयुक्त रूपमा १४औँ स्थानमा छन् । प्रो. दलबहादुर लामा, थामबहादुर राई, दीपक आचार्य र भुवनकुमार रोक्कासँगै एमेच्योेर खेलाडीहरू शुक्रराज राई र सुन्दर राई संयुक्त रूपमा १७औँ स्थानमा रहे ।