मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत ११ शनिबार
  • Saturday, 25 March, 2023
माटो परीक्षण गर्दै कृषि प्राविधिक । तस्बिर : नयाँ पत्रिका
२०७९ पौष १२ मंगलबार ०८:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

झापाको माटोमा अम्लीय पदार्थ बढ्यो

Read Time : > 1 मिनेट
२०७९ पौष १२ मंगलबार ०८:१६:००

कृषि उत्पादनका लागि उर्वर मानिने झापामा पछिल्लो समय उत्पादन घट्ने चिन्ता छाएको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि कृषि ज्ञानकेन्द्रले चिन्ता व्यक्त गरेको हो ।  ज्ञानकेन्द्रले निरन्तर प्रयोगशालामार्फत माटोको जाँच गर्दा माटो बिग्रिएको अवस्थामा पाइएको जनाएको छ । रासायनिक मलको निरन्तर प्रयोगले माटो बिग्रँदै गएको हो । पछिल्लो दुई वर्षयता ज्ञानकेन्द्रले कृषकको घरसम्म नै गएर घुम्ती प्रयोगशालामार्फत खेतीयोग्य जमिनको माटो परीक्षण गरिरहेको छ । 

झापाको अधिकांश ठाउँको माटो अम्लीय रहेको कृषि ज्ञानकेन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । ‘हामीले करिब १७ सय माटोको नमुना हेर्‍यौँ । यसमा ७० प्रतिशतभन्दा बढी माटो अम्लीय देखिन्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘माटोमा रासायनिक पदार्थ धेरै प्रयोग गर्दा यो समस्या देखिएको हो ।’ 

माटोको पिएच मान ७ हुँदा तटस्थ हुन्छ । त्यहाँभन्दा जति धेरै तल झर्‍यो, त्यति नै अम्लीय हुने विष्टको भनाइ छ । उनका अनुसार माटोको पिएच मान ४ सम्म भेटिएको छ ।  ‘यो अवस्था भनेको माटोले उपचार खोजेको अवस्था हो । यतिमा नै माटोलाई उपचार गर्न पहल गरिएन भने उत्पादन र उत्पादकत्व घट्छ,’ निमित्त प्रमुख विष्टले भने, ‘कुनै ठाउँको माटो ज्यादै अम्लीय छ । कुनै ठाउँको थोरै मात्र अम्लीय छ । थोरै भएकोलाई केही सुधार गर्न सके सुधार हुन्छ । धेरै अम्लीय भएकोलाई निकै गाह्रो पर्छ ।’ उनले माटोमा भएको अम्लीय पदार्थलाई हटाउन कृषि चुनको प्रयोग गर्नुपर्ने बताए । ‘अम्लीय माटोलाई तटस्थतर्फ लैजान कृषि चुनको प्रयोग गर्नुपर्छ । एकै वर्षको प्रयोगले सुधार हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘दुई–तीन वर्ष प्रयोग गर्न सक्यो भने क्रमशः सुधार हुन्छ ।’

यस्तै, झापाको माटोमा प्रांगारिक पदार्थ अन्त्यै कम भएको पनि ज्ञानकेन्द्रले जनाएको छ । प्रदेश सरकारले दिएको बसमा प्रयोगशाला स्थापना गरेर गाउँ–गाउँमा माटोको परीक्षण भइरहेको छ । प्रयोगशालाकी कृषि अधिकृत अञ्जु बुढाथोकीले झापाको माटोमा बिरुवालाई चाहिने खाद्य पदार्थसमेत कम भएको उनले बताइन् । ‘माटो अम्लीयसँगै, नाइट्रोजन, फसफोरस, पोटास, प्रांगारिक पदार्थ कम छ,’ उनले भनिन्, ‘बिरुवालाई चाहिने खाद्य पदार्थ पनि कम छ । मुख्यतः रासायनिक मलको बढ्दो प्रयोगले माटो बिरामी हुँदै छ ।’

उनले सरकारले माटो सुधारका लागि कृषि चुन कृषकलाई उपलब्ध गराउनुपर्ने बताइन् । यस्तै, बर्सेनि माटोको परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्नुपर्ने बुढाथोकीको भनाइ छ । ‘धेरै कृषकले माटोको परीक्षण नै गर्दैनन् । ल्याबमा आएका कार्यक्रम पनि त्यसै खेर जान्छ,’ उनले भनिन्, ‘कृषकले कम्तीमा पनि दुई वर्षमा एकपटक माटोको परीक्षण गर्नुपर्छ । कृषकमा माटो परीक्षण गर्नुपर्छ भन्ने चेतना कम छ । माटो पनि बिरामी हुन्छ भनेर बुझाउन आवश्यक छ ।’

कृषकहरूले भने परीक्षणका क्रममा माटोमा उर्वरा शक्ति गुम्दै गएको पाइएकाले यसलाई सुधार गर्नुपर्ने बताएका छन् । दमकस्थित प्रांगारिक खेती गर्दै आएका सेतुमारी कृषि सहकारीका अध्यक्ष सोमराज तामाङले माटोको अवस्था सुधार गर्न राज्यले सहयोग गर्नुपर्ने बताए । कृषकले पनि प्रांगारिक खेतीमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।