
यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पताल इन्धनको चरम अभावका कारण आइतबारदेखि बन्द भएको छ ।
अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नुपरेको बताए । उनले भने, ‘मिर्गाैला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू इन्धनको गम्भीर संकटपछि बन्द गरिएको छ ।’
‘ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालले घना बस्ती भएको ताइज सहरमा हजारौँ बिरामीका लागि सेवा प्रदान गर्ने गर्छ,’ उनले भने । अस्पताल बन्दले बिरामीको ज्यान जोखिममा परेकोमा उनले चिन्ता जनाए ।यो संकटबाट पार पाउन र स्वास्थ्य विपत्तिबाट बचाउन अस्पतालले अन्तर्राष्ट्रिय संस्था एवं संयुक्त राष्ट्रसंघका निकायलाई इन्धन उपलब्ध गराउन तत्काल अपिल गरेको छ ।
सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकु समूहले उत्तरी सहरमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा छ । गृहयुद्धमा दसौँ हजार मानिसको ज्यान गइसकेको छ भने ४० लाख मानिस विस्थापित भएका छन् ।