Skip This
कतार विश्वकपले छताछुल्ल पारेको नश्लभेद र इस्लामद्वेष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Monday, 17 June, 2024
अहमद तवैज
२o७९ पौष १० आइतबार o९:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कतार विश्वकपले छताछुल्ल पारेको नश्लभेद र इस्लामद्वेष

Read Time : > 2 मिनेट
अहमद तवैज
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार o९:o६:oo

फ्रान्ससँग रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले उपाधि जित्दा आइतबार कतारको लुसेल रंगशालामा विश्वको ध्यान केन्द्रित थियो । पश्चिमा मिडिया भने विश्व नै साक्षी बनेको रोमाञ्चक खेलमा नभई कतारका अमिरले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई ‘बिस्त’भनेर चिनिने परम्परागत अरबी पोसाक ओढाएकोतिर केन्द्रित थिए । प्रतियोगिताभरि व्याप्त नश्लभेद र इस्लामद्वेष अधिकांश विश्लेषक र पत्रकारको प्रतिक्रियामा प्रतिबिम्बित थियो । यसले पश्चिमा समाचार कक्षमा व्याप्त विविधताको कमीलाई पनि उजागर गरेको छ, अर्थात् आफ्ना रुढिबद्ध धारणामा संकुचित विश्वबाहिरको ठूलो हिस्सालाई स्विकार्न नसकेको देखाएको छ ।

बेलायती पत्रिका द टेलिग्राफले आफ्नो एक हेडलाइनमा ‘विश्वकप इतिहासकै सबैभन्दा ठूलो क्षणलाई बिगार्ने अनौठो काम’ भन्दै लेखेको थियो र पछि पत्रिकाले हेडलाइन हटायो । त्यसैगरी, ‘फक्स स्पोर्ट्स’ र ‘याहू स्पोर्ट्स’ले विश्वकप समापन समारोहलाई ‘अत्यन्त निराशाजनक’ र ‘लज्जास्पद’ करार दिएको थियो । केहीले त स्पष्ट रूपमा नश्लभेदी भाषा प्रयोग गरेका थिए । इएसपिएनका वरिष्ठ पत्रकार मार्क ओग्डेनले विश्वकप समापनमा ‘आएका सबै तस्बिरले समारोहलाई तहसनहस पारेको थियो, मानिलिऊँ कि उनको (मेसी) कपाल काट्न ठिक्क पारिएको जस्तो देखिन्थ्यो’ लेखेका थिए ।

त्यसैगरी, फुटबल टेलिभिजन प्रस्तोता ड्यान वाकरले एमबाप्पेले विश्वकप हार्नु ठिकै हो भन्ने संकेत गर्दै आफ्नो हटाइएको ट्विटमा ‘म निश्चिन्त छु एमबाप्पे खुसी छन् किनभने उनले सुनौलो पट्टी भएको अनौठो लुगा लाउनुपरेन’ भनेर लेखेका थिए । बिस्तलाई अन्य अरब राष्ट्रमा अबा वा अबाया भनेर पनि चिनिन्छ र यसलाई सम्मान, मर्यादा र प्रतिष्ठा जनाउने पोसाकका रूपमा चिनिन्छ । बिस्तलाई विशेषतः यदि प्रतिष्ठित व्यक्तिले कसैलाई ओढाउँछन् भने त्यो एक दुर्लभ विशेषाधिकारबराबर हो । यहाँ मेसीलाई स्वयं कतारका अमिरले बिस्त ओढाएका थिए । वास्तवमा यसले आइतबारको दिनको मेसीको सफलतामा रौनक थपेको थियो । 

यो विश्वकपले अर्जेन्टिनाको विजय मात्रै प्रतिनिधित्व गर्दैन । यसले मेसीलाई फुटबलको ‘गोट’ (सार्वकालिक महान्) बनाएको छ, अर्थात् उनी समकक्षी क्रिस्टियानो रोनाल्डोभन्दा मात्र नभई यसअघिका महान् खेलाडीद्वय पेले र म्यराडोनाभन्दा पनि उत्कृष्ट बनेका छन् । उनले फुटबल जगत्का सबै ट्रफी चुमिसकेका छन् र सातपटक उत्कृष्ट फुटबल खेलाडीलाई दिइने ‘बालोन डेअर’ पनि हात पारेका छन् ।

कतार विश्वकपको तयारीमा युरोपकेन्द्रित पाखण्डयुक्त विरोध देखिँदै आएकामा मेसीलाई ‘बिस्त’ ओढाएको भन्दै आएको प्रतिक्रिया यही पाखण्डको अन्तिम कडी हो   

म्याराडोनाले झैँ अर्जेन्टिनाको जर्सी लगाएर एक दिन ठोस स्वर्ण विश्वकप ट्रफी उचाल्ने चाहना सायद उनको सपनाको हिस्सा थियो । यस सन्दर्भमा मञ्चमा लगाइएको बिस्तले मेसीको सपनामा हस्तक्षेप भएको थियो वा थिएन भनेर प्रश्न गर्नु जायज नै ठहरिन्छ । यति भन्दै गर्दा पश्चिमा मिडियाको आक्रामकता मेसीको सपनासँग कुनै कोणबाट जोडिँदैन । वास्तवमा यो एक नश्लभेदी र पूर्वी–विश्वद्वेषी (ओरियन्टलिस्ट) मानसिकता हो, जसले विश्वभर फुटबल र फुटबल उत्सवका विविध रूप हुन सक्छन् भन्ने तथ्यलाई अस्वीकार गर्छ । 

कुनै पनि बिन्दुमा मेसीले बिस्तप्रति घृणाभाव प्रकट गरेनन् । न त उनको प्रतिष्ठित १० नम्बर जर्सी नचिनिने गरी नै त्यसले छोपिएको थियो । सफल खेलाडीलाई स्थानीय संस्कृति झल्काउने उपहार दिने चलन नयाँ होइन । मेक्सिकोमा सन् १९७० मा विश्वकप विजयपछि पेलेलाई मेक्सिकोको स्थानीय सोम्ब्रेरो पहिर्‍याइएको थियो । के त्यसवेवला अस्ट्रेलियाको सेभेन न्युजले मेसीलाई भनेझैँ पेलेको क्षण ‘हाइज्याक’ (अपहरित) भएको थियो?

वास्तवमा पश्चिमा मिडिया जगत्ले कतारलाई विश्वकप आयोजना गर्नका लागि छनोट गर्ने निर्णयदेखि नै ‘झट्का’ लागेको व्यवहार प्रदर्शन गरेका छन् । यो महान् प्रतियोगिता र यसको तयारीमा युरोपकेन्द्रित एवं पाखण्डयुक्त विरोध देखिएका थिए । मेसीलाई बिस्त ओढाएको भन्दै आएको प्रतिक्रिया यही पाखण्डको अन्तिम कडी हो । विश्वभरका धेरै अरब र अफ्रिकी जनताले विश्वकपमा मोरक्कोको राष्ट्रिय टोलीले हात पारेको सफलताबाट गौरवान्वित महसुस गरेका छन् ।

एक इराकी अरबका नाताले अर्को अरब देशको सफलता देख्नु र सांस्कृतिक रूपमा समान उत्सव अनुभव गर्नु मेरा लागि अविश्वसनीय रूपमा प्रेरणादायी थियो । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपछि इएसपिएनले मोरक्कन खेलाडीले ईश्वरका अगाडि घुँडा टेकेको तस्बिर प्रकाशित गर्‍यो र तस्बिरको क्याप्सनमा ‘मोरक्कन खेलाडी र अधिकारीले बलमा विश्वास गर्ने समर्थकका अगाडि घुँडा टेके’ लेखेका थिए । वास्तवमा ईश्वरका अगाडि घुँडा टेक्नु विश्वभरका बहुसंख्यक मुसलमानका लागि नम्रताको संकेत हो । 

एउटा औँला आकाशमा उठाएर खुसी मनाइरहेका मोरक्कन खेलाडीलाई जर्मन न्युज पोर्टल वेल्टले आतंककारी संगठन आइएसआइएस लडाकुसँग तुलना गरेको थियो । कुनै पनि पश्चिमी मिडियाले मेसीका लागि यस्तै क्याप्सन लेखेनन्, जबकि उनले पनि गोल गरेपछि आकाशतर्फ औँला ठड्याएर उत्सव मनाएका थिए । आफ्नो सफलतामा आमासँग खुसी साटासाट गरिरहेका मोरोक्कोका खेलाडीलाई डेनमार्कको टेलिभिजनले बाँदरको परिवारसँग तुलना गरेको थियो ।

बहुसंख्यक पश्चिमा समाचार कक्षमा विद्यमान विविधताको कमीलाई हेर्दा पत्रकारितामा देखिएको नश्लभेद, पूर्वाग्रह र स्पष्ट अक्षमता कुनै अनौठो परिघटना होइन । अमेरिकाको जनसंख्यामा ४० प्रतिशत मानिस गैरश्वेत समुदायका छन् । तर, सन् २०२०मा रोयटर्स इन्स्टिच्युटको सर्वेक्षणअनुसार अधिकांश वरिष्ठ सम्पादक (करिब ९० प्रतिशत) श्वेत वर्णका छन् । 

अरब विश्वमा केहीले उत्साहित भएर अर्जेन्टिनाका कप्तान मेसीलाई ‘सेख मेसी’ (अर्थात राजा मेसी) पनि भनेका थिए । यो पनि अरबी जनताको स्नेह र प्रेम थियो । मेसी र अर्जेन्टिनाको विजयलाई नश्लभेदी टिप्पणी गरेर खल्लो नबनाऊँ ।

(तवैज स्वतन्त्र पत्रकार एवं फिल्ममेकर हुन्)  अल जजिराबाट
 

ad
ad
ad
ad