१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडौं
२०७९ पौष १० आइतबार ०८:३४:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा गएका १ प्रतिशत कामदारले पनि दिएनन् आरक्षण सेयरमा आवेदन

करिब ४७ लाख नेपाली कामका लागि बिदेसिएका छन्, तर उनीहरूकै लागि आरक्षण गरिएको सेयरमा आठ हजारले मात्रै आवेदन दिएका छन्

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
२०७९ पौष १० आइतबार ०८:३४:००

वैदेशिक रोजगारीमा गएका कामदारका लागि सरकारले आरक्षण गरेको प्राथमिक सेयरमा कम आकर्षण देखिएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्रप्राप्त कम्पनीले सेयर निष्कासन गर्दा वैदेशिक रोजगारीमा गएका कामदारका लागि १० प्रतिशत सेयर अनिवार्य रूपमा छुट्याइनुपर्ने व्यवस्था गरिएको छ । तर, यसरी आरक्षण गरिएको सेयरमा वैदेशिक रोजगारीमा गएकाको आकर्षण अपेक्षित नदेखिएको हो । वैदेशिक रोजगारीमा गएका कुल कामदारको १ प्रतिशतले पनि आरक्षण सेयरका लागि आवेदन नहालेको सरकारी तथ्यांक छ । 

सुपरमाई हाइड्रोपावर कम्पनीले गत मंसिर ३१ गतेदेखि वैदेशिक रोजगारीमा गएका कामदारका लागि प्राथमिक सेयर निष्कासन ग¥यो । आइपिओका लागि आवेदन दिने पुस ६ गते अन्तिम दिन थियो । अन्तिम दिनसम्ममा आठ हजार ७८ जना कामदारले आइपिओका लागि आवेदन दिए । तर, यो संख्या वैदेशिक रोजगारीमा रहेका कुल कामदारको संख्याको १ प्रतिशत पनि होइन । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नेपाल श्रम आप्रवासी प्रतिवेदन २०२२ का अनुसार हालसम्म वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ४७ लाख नेपाली कामदार बिदेसिएका छन् । सरकारले तथ्यांकलाई आधार मान्ने हो भने आवेदन दिने कामदारको हिस्सा शून्य दशमलव १७ प्रतिशत हो । 

राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति कम भएपछि रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउने भन्दै सरकारले वैदेशिक रोजगारीमा रहेका कामदारका लागि पनि प्राथमिक सेयरमा आरक्षण प्रदान गरेको हो । कम्पनी ऐनबमोजिम प्रत्येक कम्पनीले ३० प्रतिशत सेयर अनिवार्य रूपमा सर्वसाधारणका लागि जारी गर्नुपर्ने व्यवस्था छ । सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत सेयरलाई नै शतप्रतिशत मानी त्यसको १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेको कामदारका लागि आरक्षण गरिएको हो । 

नेपाल धितोपत्र बोर्डले कात्तिक १७ गते लागू हुने गरी धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७९ को छैटौँ संशोधन गर्‍यो । सो मितिपश्चात् धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्राप्त गर्ने सम्पूर्ण संगठित संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासनमा यो व्यवस्था लागू गरिएको छ ।

थोरै कामदारले गरे धेरै सेयरको माग
नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारका लागि आरक्षण गरेको प्राथमिक सेयर थोरै कामदारले धेरै कित्ता सेयरका लागि आवेदन दिएका छन् । सिडिएस एन्ड क्लियरिङका अनुसार सुपरमाई हाइड्रोपावरका लागि ११ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले ५० हजार किता सेयर निष्कासन गरेकोमा पाँच लाख ४६ हजार चार सय १० को आवेदन परेको छ । पुस ६ गते आवेदन दिने अवधि सकिएको छ । आवेदन दिनेको संख्या भने आठ हजार ७८ जना मात्रै रहेको छ । 

त्यस्तै, सुपरमादी हाइड्रोपावर कम्पनीमा भने तीन गुणाभन्दा बढीको आवेदन परेको छ । कम्पनीले दुई लाख १० हजार कित्ता सेयर आइपिओ जारी गरेकोमा आठ लाख ६ हजार आठ सय कित्ता सेयरको आवेदन परेको थियो । आइपिओका लागि आठ सय ६६ जनाले आइपिओमा आवेदन दिएका थिए । 

माया खोला हाइड्रोपावर कम्पनीले एक सय अंकित दुई लाख ४० हजार कित्ता निष्कासन गरेको थियो । जसमा आठ हजार दुई सय ५१ जना कामदारले सात लाख २० हजार आठ सय २० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले गत मंसिर २३ गतेदेखि पुस आठ गतेसम्म आवेदन खुला गरेको थियो ।  

एसियन हाइड्रोपावर कम्पनीले ८४ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा गत शुक्रबारसम्ममा सात हजार चार सय २६ कामदारले चार लाख ६० हजार कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीको सेयरमा ५.४७ गुणाभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले मंसिर २७ गते आइपिओ निष्कासन गरेको छ भने आगामी पुस १२ गतेसम्मका लागि आइपिओ खुला गरेको छ । 

शुभम पावर कम्पनीले पुस ६ गतेदेखिे ५८ हजार ५८ कित्ता सेयर निष्कासन गरेको छ । गत शुक्रबारसम्ममा चार हजार चार सय ९२ कामदारले दुई लाख नौ हजार चार सय २० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीको आइपिओमा तीन गुणाभन्दा बढीले आइपिओ परेको छ । कम्पनीले आगामी पुस २० गतेसम्मका लागि आवेदन खुला गरेको छ । 

कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारीमा जाने कामदारका लागि आइपिओ निष्कासन गरेको थियो । कम्पनीले एक लाख आठ हजार अर्थात् एक करोड आठ लाख रुपैयाँबराबरको सेयर छुट्याएको थियो । जसमा ६ हजार सात सय ३७ कामदारले आवेदन दिएका छन् । 

आइपिओमा कामदारको पहुँचै नै पुगेन 
सरकारले वैदेशिक रोजगारीमा गएका कामदारका लागि प्राथमिक सेयरमा आरक्षणको व्यवस्था गरे पनि कामदारको पहुँच भने न्यून रहेको वैदेशिक रोजगारीमा रहेका कामदार बताउँछन् । मध्यपूर्व र मलेसियामा मात्रै ९० प्रतिशत नेपाली कामदार रोजगारीमा छन् । कतारमा मात्रै करिब चार लाख नेपाली रोजगारीमा छन् । तर, कामदारको अनलाइन आवेदनमा पहुँच नपुगेको कतारमा रहेका कामदारको गुनासो छ । 

विगत १७ वर्षदेखि कतारमा रहँदै आएका प्रताप ढुंगाना आइपिओ आवेदनको प्रक्रिया नै झन्झटिलो भएको बताउँछन् । सामान्य कामदारले रेमिट्यान्स खाता खोल्नेदेखि आइपिओ आवेदन प्रक्रियालाई नै पूरा गर्न नसक्ने उनी बताउँछन् । कामदारलाई आइपिओका बारेमा जानकारी नै कम भएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ पनि स्विकार्छन् । ‘बोर्डका लागि पनि यो पहिलो अभ्यास हो । त्यसैले पनि समस्या देखिनु स्वाभाविक नै हो ।’ 

आवेदन दिन यस्तो छ प्रक्रिया 
वैदेशिक रोजगारीमा रहेका कामदारलाई आइपिओ आवेदनका लागि सरकारले रेमिट्यान्स खाता अनिवार्य गरेको छ । कामदारले बोर्डबाट अनुमतिपत्रप्राप्त आस्बा सदस्य बैंकमार्फत आफ्नो नाममा रेमिट्यान्स बचत खाता खोल्नुपर्नेछ । सिडिएससीबाट अनुमतिप्राप्त निक्षेप सदस्य (डिपी)मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्छ । 

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी रेमिट्यान्स बचत खाताका लागि बैंकमार्फत सिआरएन (सिआस्बा नम्बर) लिनुपर्छ । त्यस्तै, कामदारले पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुुनुपर्नेछ । आवेदकले सेयरको सार्वजनिक निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् । 

नयाँ अभ्यास हो, त्यसैले समस्या देखिनु स्वाभाविक नै हो
मुक्तिनाथ श्रेष्ठ, प्रवक्ता, नेपाल धितोपत्र बोर्ड

वैदेशिक रोजगारमा रहेका कामदारका लागि बोर्डले पहिलोपटक सेयर निष्कासन गरेको हो । हाम्रा लागि पनि यो अभ्यास छ । सुरु–सुरुमा गाह्रो हुनु स्वाभाविक नै हो । समस्या आउँदै गएपछि हामी त्यसलाई सुधार गर्नेछौँ । विदेशमा बस्नेलाई यसको बारेमा जानकारी छैन । त्यसलाई हामी स्वीकार गर्छौँ । कतिपय कामदारलाई फेरि १० कित्ताका लागि पनि के दुःख गर्नु भनेर पनि आइपिओ नभरेको हुन सक्छ ।

लक्षित कामदारलाई आरक्षण सेयरको सूचना नै छैन
प्रताप ढुंगाना, लगानीकर्ता एवं कामदार, कतार

वैदेशिक रोजगारीमा रहेका अधिकांश कामदार अनलाइन आइपिओबारे सचेत छैनन् । उनीहरूलाई यस विषयमा जानकारी नै छैन । त्यस्तै, आइपिओ आवेदनको प्रक्रिया पनि झन्झटिलो छ । जुन एउटा सामान्य कामदारले पूरा गर्न सक्दैन । त्यसैले आइपिओ आवेदनको प्रक्रियालाई बोर्डले सरल र सहज बनाउनु आवश्यक छ ।