१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ९ शनिबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ९ शनिबार o८:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साम करण आइपिएलकै सर्वाधिक महँगा खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ९ शनिबार o८:५६:oo

विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ सिजन २०२३ का लागि शुक्रबार खेलाडी किनबेच भएको छ । भारतको कोची सहरमा भएको अक्सनमा चार सय पाँच खेलाडीबीच ‘मिनी अक्सन’ भइरहँदा पहिलो दिन निकै रोमाञ्चकताले भरियो । आइपिएल इतिहासमै सबैभन्दा महँगो रकममा खेलाडी किनबेच भयो । अक्सन सुरु भएको केवल आधा घन्टामा तीन खेलाडी किन्न फ्रेन्चाइज टोलीहरूबीच होडबाजी नै चल्यो । उनीहरूले तीनजना खेलाडीलाई आ–आफ्नो टोलीमा भित्र्याउन ५२ करोड भारु खर्च गरेको भारतीय मिडियाले जनाएको छ । 

इंग्ल्यान्डका साम करण र बेन स्टोक तथा अस्ट्रेलियाका क्यामरुन ग्रिन सर्वाधिक रकममा बिक्री भएका छन् । पन्जाब किंग्सले सामलाई भित्र्याउन अहिलेसम्मकै ठूलो धनराशि खर्चंदै १८.५० करोड भारु खर्चियो । सामले दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर क्रिस मोरिसको कीर्तिमान भंग गरेका छन् । सन् २०२१ मा मोरिसलाई राजस्थान रोयल्सले १६.२५ करोड भारुमा किनेको थियो । करणले भारतीय टोलीका पूर्वकप्तान विराट कोहली र लोकेशकुमार (केएल) राहुल (१७ करोड भारु) लाई समेत उछिनेका छन् । यसैगरी, ठूलो नाममा इंग्ल्यान्डका पूर्वकप्तान जोए रुट र बंगलादेशका टेस्ट कप्तान सकिव अल हसन अनसोल्ड भए ।

साम करण (पन्जाब किंग्स)
मूल्य : १८ करोड ५० लाख भारु

पज्जाब किंग्सले इंग्ल्यान्डका सामलाई टोलीमा भित्र्याउन तलमाथि नै हेरेन । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका साम पन्जाबमा आइपिएल इतिहासकै सर्वाधिक मूल्यमा अनुबन्ध भए । अक्सनमा सामले आफूलाई न्यूनतम दुई करोड भारु मूल्य राखेका थिए । उनको भाउ यति बढ्यो कि पन्जाबले किन्न १८.५० करोड भारु नै खर्च गर्नुपर्‍यो । गत वर्ष चोटका कारण सामले आइपिएल खेल्न पाएका थिएनन् । घाइते भएका खेलाडी सामलाई चेन्नई सुपर किंग्सले ‘रिलिज’ गरेको थियो । यसै वर्ष इंग्ल्यान्डले टी–२० विश्वकप उपाधि जित्दा २४ वर्षीय सामले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

टी–२० विश्वकपमा सामले ६ खेलमा १३ विकेट लिएका थिए । उनले पाकिस्तानसँगको फाइनलमा चार ओभरमा १२ रन खर्चेर तीन विकेट लिएका थिए । सुपर १२ मा अफगानिस्तानविरुद्धको खेलमा केवल ३.५ ओभरमा १० रन खर्चेर पाँच विकेट लिएका थिए । सामले अहिलेसम्म ३२ आइपिएल खेलमा दुई अर्धशतकसहित तीन सय ३७ रन जोडेका छन् । उनले ३२ विकेट लिएका छन् । यस सिजनमा सामलाई खरिद गर्न मुम्बई इन्डियन्स, राजस्थान, रोयल च्यालेन्ज बेंग्लोर र चेन्नई सुपर किंग्सले बोली लगाएका थिए । अन्तिममा पन्जाबले बाजी मार्‍यो । 

क्यामरुन ग्रिन (मुम्बई इन्डियन्स)
मूल्य : १७ करोड ५० लाख भारु

आइपिएलको नयाँ सिजनमा अस्ट्रेलियाका क्यामरुन ग्रिन दोस्रो महँगा खेलाडी बनेका छन् । आइपिएलको सर्वाधिक विजेता मुम्बईले ग्रिनलाई १७.५० करोड भारुमा किनेको हो । अक्सनमा ग्रिनको न्यूनतम मूल्य दुई करोड भारु थियो । २३ वर्षीय क्यामरुन मध्यक्रमका हिटर ब्याट्सम्यानका रूपमा परिचित मानिन्छन् । अस्ट्रेलियाका युवा अलराउन्डर विस्फोटक ब्याटिङ गर्न सक्छन् । ग्रिनलाई खरिद गर्न अक्सनमा बेंग्लोर र मुम्बईबीच अन्तिम समयसम्म प्रतिस्पर्धा भएको थियो । मुम्बई आइपिएलकै दोस्रो महँगा खेलाडीका रूपमा मूल्य राखेपछि बेंग्लोर पछाडि हट्यो ।  

बेन स्टोक्स (चेन्नई सुपर किंग्स)
मूल्य : १६ करोड २५ लाख भारु

कोचीमा शुक्रबार तेस्रो सर्वाधिक मूल्यमा इंग्ल्यान्डका बेन स्टोक्स बिक्री भए । उनलाई चेन्नई सुपरले किन्यो । चेन्नईले नयाँ सिजनमा स्टोक्सलाई खरिद गर्न १६ करोड २५ लाख भारु खर्चियो । अक्सनमा उनको मूल्य दुई करोड भारु राखिएको थियो । इंग्ल्यान्ड टेस्ट टोलीका कप्तान स्टोक्स वर्तमान समयकै उत्कृष्ट अलराउन्डर खेलाडीमध्ये एक हुन् । रमाइलो पक्ष के छ भने स्टोक्सले आइपिएलमा पुनरागमन गर्दै छन् । ड्वाने ब्राभोले सन्न्यास लिएपछि चेन्नई एक उत्कृष्ट अलराउन्डरको खोजीमा थियो । चेन्नई आफ्नो चाहनाअनुरूप विश्वकै उत्कृष्ट अलराउन्डर खेलाडीका रूपमा स्टोक्सलाई महँगो रकममा भित्र्यायो । 

निकोलस पुरन (सनराइज हैदराबाद)
मूल्य : १६ करोड भारु

निकोलस पुरनलाई सनराइज हैदराबादले खरिद गर्दा अर्काे कीर्तिमान कायम भएको छ । आइपिएल इतिहासमा विकेट किपर सर्वाधिक मूल्यमा बिक्री भएका छन् । वेस्ट इन्डिजका पुरनलाई हैदराबादले १६ करोड खर्चिएको थियो । यसअघि सर्वाधिक मूल्यमा बिक्री हुनेमा भारतीय विकेट किपर ईशान किसन थिए । ईशानलाई गत वर्ष मुम्बईले १५.२५ करोड भारुमा किनेको थियो । यस सिजनमा सनराइजर्स हैदराबादले निकोलसलाई फुकुवा गरेको थियो ।

ह्यारी ब्रुक (राजस्थान रोयल्स)
मूल्य : १३ करोड २५ लाख भारु

राजस्थान रोयल्सले अक्सनलाई शुक्रबार निकै रोचक बनायो । इंग्ल्यान्डका युवा खेलाडीलाई राजस्थानले अप्रत्याशित १३.२५ करोड भारु खर्च गर्‍यो । ब्रुकलाई किन्न राजस्थानसँगै बेंग्लोर र हैदराबाद कसिएका थिए । पछिल्लो पाकिस्तान भ्रमणमा २३ वर्षीय ब्रुकको प्रदर्शन प्रभावशाली थियो । ब्रुकले आइपिएल भने पहिलोपटक खेल्न लागेका हुन् । 
 

ad
ad
ad
ad