१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ७ बिहीबार ११:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रात्रिबस गोँगबुस्थित नयाँबसपार्कमा मात्र पार्किङ गर्नुपर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार ११:४४:oo

यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गरिन्थ्याे

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । नयाँ बसपार्कभन्दा बाहिर रात्रिबस पार्किङ गर्न पाइनेछैन । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको संघीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस मात्र गोँगबुस्थित नयाँ बसपार्कमा पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

‘ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारीसाधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौँ,’ प्रवक्ता भट्टले भने । यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, गोँगबु, माछापोखरीलगायतका क्षेत्रमा पार्किङ गरिँदै आएका थिए।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढंगले सेवा सञ्चालन गर्ने गरी यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए । ‘रात्रिबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे यातायात व्यवसायीलाई कुनै आपत्ति छैन, रातको समयमा व्यवस्थित रूपमा चढाउने/झार्ने गर्न सके यात्रुलाई समेत सहज हुन्छ,’ उनले भने ।

अध्यक्ष स्वाँरले कार्यालयको समयबाहेकका अन्य समयमा चक्रपथ वरपर सहज ढंगले चढाउने–झार्ने गरेर बसपार्कभित्र आएर बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले ट्राफिक जरिवाना रकम पाँच सयबाट बढाएर  एक हजार पाँच सय बनाएको भन्दै आपत्ति जनाए । यातायात क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने उनको भनाइ थियो ।

०५६ मा काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर काठमाडौं महानगरपालिका– २६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याइएको नयाँ बसपार्कमा दुई हजारभन्दा बढी सवारीसाधन अटाउँछन् । उक्त बसपार्कबाट हाल देशभर ६० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत हुँदै आएका छन् ।