१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Monday, 15 July, 2024
२o७९ पौष ७ बिहीबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

ट्युनिसियाको संसदीय चुनावमा ८.८ प्रतिशत मात्रै मतदान

देशमा व्याप्त भ्रष्टाचारका कारण आजित जनताले एक वर्षअघि सैयदले संसद् विघटन गर्दा सडकमा उर्लिएर खुसी मनाएका थिए, तर शनिबारको निर्वाचनमा मतदान गर्न नौ प्रतिशत मतदाता पनि आएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार o८:२६:oo

गत शनिबार ट्युनिसियामा सम्पन्न संसदीय चुनावमा अति कम अर्थात् ८.८ प्रतिशत मतदाताले सहभागिता जनाए । यसलाई राष्ट्रपति काइस सैयद र उनलाई कूको आरोप लगाएर आन्दोलनरत विपक्षीबीचको संघर्षमा एक महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ । सन् २०२१ जुलाईमा सैयदले संसद्लाई सेनाद्वारा घेरेर भंग गरेपछि अधिकांश शक्ति आफूमा केन्द्रित गरेका छन् । त्यसपछि प्रायः निष्प्रभावी बनेको संसद्को यो निर्वाचनलाई विपक्षीहरूले बहिष्कार गरेका थिए । 

विपक्षी दलहरूले न्यून मतदानलाई आफूहरूको आह्वानलाई जनताले सदर गरेको रूपमा व्याख्या गरेका छन् । ‘९० प्रतिशत टुनिसियन जनताले निर्वाचन बहिष्कार गरेपछि सैयदको परियोजना अस्वीकृत भएकोमा कुनै शंका छैन । अब राष्ट्रपतिसँग सीमित विकल्प छन् । उनले विगतमा जस्तो आफ्नो कामको वैधता रहेको भजन गाउन सक्दैनन्,’ ट्युनिस इन्स्टिच्युट फर पोलिटिक्सका प्रमुख अहमद इड्रिसले भने ।

सयैदका सामु अब मतदाताको अनुपस्थितिलाई बेवास्ता गरेर अघि बढ्ने या आफूले देशका शत्रु घोषणा गरेका विपक्षीहरूसँग सम्झौता गरेर आफ्ना एजेन्डामा परिमार्जन गर्ने विकल्प मात्र छ । साथै, ट्युनिसियाली मतदाताले संसदीय निर्वाचनमा न्यून उपस्थिति जनाएर संसदीय प्रणालीप्रति नै अविश्वास गरेको भन्दै उनले एकल शासन कायम गर्ने विकल्प रहेको दाबी पनि गर्न सक्छन् ।

तर, ट्युनिसियाले आर्थिक संकटको सामना गरिरहेको सन्दर्भमा राष्ट्रपति पूर्ण रूपमा एक्लै हिँड्न कठिन छ । राज्यको कोष रित्तिने स्थितिमा पुगेकाले उसले विदेशी सहायता खोजिरहेको छ, जसका लागि सार्वजनिक खर्चमा ठूलो कटौती गर्नुपर्ने हुन्छ ।

राजनीतिक प्रणालीमा व्यापक सुधार गर्ने सैयदको परियोजना हालसम्म उनले सन् २०१९ मा हासिल गरेको ठूलो चुनावी जितको र आमलोकप्रियताका आधारमा टिकेको छ । देशमा व्याप्त भ्रष्टाचारका कारण आजित जनताहरू एक वर्षअघि सैयदले संसद् विघटन गर्दा सडकमा उर्लिएर खुसी मनाएका थिए । ६४ वर्षीय सैयदले आफ्नो कार्यलाई वैध मात्र होइन, हाल मुख्य विपक्षी बनेका राजनीतिक नेताहरूले सिर्जना गरेको गम्भीर राष्ट्रिय संकटबाट मुलुकलाई बचाउन अत्यावश्यक बताउँदै आएका छन् । 

तथापि, यही वर्ष उनले तयार पारेको संविधानमाथि जनमतसंग्रह गराउँदा पनि जम्मा ३० प्रतिशत योग्य मतदाताहरूले भाग लिएका थिए । शनिबारको निराशाजनक मतदानले त उनको योजनाप्रति जनतामाझ न्यून समर्थन रहेको धारणालाई अझै बलियो बनाइदिएको छ । शनिबार राति प्रमुख विपक्षी गठबन्धनले पहिलोपटक सैयदको राष्ट्रपति पद वैध नभएको बताउँदै सो पदका लागि चुनावकै आह्वान गरेको छ ।

प्रतिद्वन्द्वी विपक्षी दलले पनि त्यस मागलाई समर्थन जनाएको छ ।सन् २०१९ को निर्वाचनमा स्वतन्त्र राजनीतिज्ञका रूपमा विजयी सैयदलाई हिजो आमराजनीतिबाट विरक्त मतदाताले बाहिरिया ठानेर समर्थन गरेका थिए । तर, अहिले राजनीतिक दल नहुँदा उनले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने संयन्त्रको अभाव महसुस गरिरहेका छन् । आफ्नो परियोजनामा समावेश नगरेर उनी सम्भावित सहयोगी हुन सक्ने देशको शक्तिशाली मजदुर युनियनबाट पनि टाढिए । राजनीतिक संकट गहिरिएमा उनले सुरक्षा फौज वा सैन्य अधिकारीहरूबाट कत्तिको सहयोग लिन सक्छन् भन्नेचाहिँ स्पष्ट छैन । 

उता प्रतिपक्षी दलहरू पनि विगतमा सरकारमा हुँदा भ्रष्टाचार र आर्थिक गतिरोधमा जोडिएकाले अलोकप्रिय छन् । त्यसमाथि विपक्षी दलहरू एकठाउँमा छैनन् र उनीहरू एकअर्कालाई सैयदलाईजत्तिकै घृणा गर्छन् । जसले गर्दा तिनले सैयदविरुद्ध ठूलो जनपरिचालन गर्न सकिरहेका छैनन् । धेरैले पछिल्लो निर्वाचनमा न्यून मतदानलाई विपक्षीको जितभन्दा पनि सैयदको हारका रूपमा हेरेका छन् । 

ट्युनिसिया अरब क्रान्तिको उद्गम मुलुक हो । सन् २०१० डिसेम्बर १७ को दिन सडकमा व्यापार गर्ने मोहम्मेद बोआजिजीले नगर अधिकारीले दुव्र्यवहारको विरोधमा आत्मदाहको प्रयास गरेका थिए । २६ वर्षे बोआजिजीको आगजनीकै कारण १८ दिनपछि मृत्यु भयो । त्यसले ट्युनिसियाको शासनप्रति दबेको असन्तोष विस्फोट हुँदा ‘ज्यास्मिन क्रान्ति’ उठ्यो, जुन कैयौँ अरब मुलुकमा फैलिएर ‘अरब क्रान्ति’को रूप लिएको थियो । 
– रोयर्टस
 

ad
ad
ad
ad