१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Sunday, 08 September, 2024
स्रोत : श्रम मन्त्रालय
मुना कुँवर काठमाडाैं
२o७९ पौष ३ आइतबार o७:५१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन वर्षमा ३०६९ नेपाली कामदारले विदेशमा गुमाए ज्यान

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार o७:५१:oo

एक हजार चार सय २७ कामदारको मृत्युको कारण नै पहिचान भएको छैन

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा औसतमा दैनिक तीन कामदार काठको बाकसमा फर्किरहेका छन् । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको श्रम प्रतिवेदन २०२२ अनुसार पछिल्लो तीन वर्षमा तीन हजार ६९ नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । तथ्यांकअनुसार साउदी अरबमा सबैभन्दा बढी आठ सय ७० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, मलेसियामा आठ सय १७, कतारमा पाँच सय ९५, युनाइटेड अरब इमिरेट्समा चार सय ९६, कुवेतमा एक सय ४४, बहराइनमा ६०, ओमानमा २२, जापानमा २८ र दक्षिण कोरियामा ३७ नेपाली कामदारले ज्यान गुमाएका छन् । 

गन्तव्य मुलुकमा ज्यान गुमाएका अधिकांशको मुत्युको कारण नै थाहा नहुने गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार एक हजार चार सय २७ कामदारको मृत्युको कारण नै पहिचान भएको छैन । त्यस्तै, चार सय ५८ जनाको प्राकृतिक दुर्घटना, तीन सय आठजनाको मुुटुको समस्याका कारण मृत्यु भएको छ । त्यस्तै, दुई सय ८९ जनाले आत्महत्या गरेका छन् भने एक सय नौजनाको काम गर्ने स्थानमा नै मृत्यु भएको छ । एक सय २३ जनाको हृदयाघातका कारण, तीन सय आठजनाको ट्राफिक दुर्घटनाका कारण मृत्यु भएको छ भने एक सय ९६ जनाको कोभिडका कारणले मृत्यु भएको छ । मृत्यु भएका कामदारमध्ये मधेस प्रदेशबाट जाने अधिक सात सय ५१ जना छन् । 

मन्त्रालयको तथ्यांकअनुसार तीन वर्षमा ११ लाख ६५ हजार एक सय ५१ ले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् ।  जसमध्ये मधेस प्रदेशका दुई लाख ४९ हजार एक सय ४० जनाले श्रम स्वीकृति लिएर रोजगारीमा गए । प्रदेश नम्बर १ का दुई लाख ९८ हजार पाँच सय ६१ ले श्रम स्वीकृति लिएर गए । बागमती प्रदेशका एक लाख ७२ हजार सात सय ५८, गण्डकी प्रदेशका एक लाख ८० हजार ४० जना, लुम्बिनी प्रदेशका दुई लाख तीन हजार पाँच सय ७१, कर्णाली प्रदेशका ३३ हजार चार र सुदूरपश्चिम प्रदेशका २८ हजार ७७ कामदारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

तीन वर्षमा भित्रियो २८ खर्ब ४२ अर्ब रेमिट्यान्स
 तीन वर्षमा नेपालमा २८ खर्ब ४२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । श्रम मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०२१/२२ मा मात्रै १० खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको छ । २०२०/२१ मा नौ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, २०१९/२० मा आठ खर्ब ७४ अर्ब रुपैयाँ भित्रिएको तथ्यांकमा देखिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको हिस्सा करिब २५ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ ।

आव ०६५/६६ देखि ०७८/७९ सम्ममा मात्रै झन्डै ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्समा सरकारले गर्व गरे पनि कामदारको सुरक्षाका विषयमा भने चासो नदेखाएको श्रमविज्ञ सरू जोशी मल्लले बताइन् । ‘सरकार प्रत्येक महिला कामदारले पठाएको रेमिट्यान्सको गणना गर्छ, तर उनीहरूको सुरक्षाको विषयमा चासो भने देखाउँदैन,’ उनले भनिन् । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ । तर, यस्ता कामदारलाई सरकारले सधैँ दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गरेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष डिबी क्षत्रीको गुनासो छ । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा दैनिक कार्यस्थलमा श्रमिकको मृत्यु हुने गरेको उनको भनाइ छ ।

जनसंख्याको ७ प्रतिशत नागरिक मुलुकबाहिर
नेपालको जनसंख्याको ७ प्रतिशत नागरिक देशबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०२१ को प्रारम्भिक तथ्यांकले २१ लाख नागरिक मुलुकबाहिर रहेको देखाएको छ । अध्ययनको सिलसिलामा मात्रै चार लाख १६ हजार तीन सय ६४ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन् । आइओएम तथ्यांकअनुसार प्रकाशित विश्व माइग्रेन रिपोर्ट २०२२ ले विश्वभर २८ करोड ५९ लाख मानिसहरू आप्रवासी श्रमिक रहेको देखाएको छ ।  

त्यस्तै, वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आव ०६५/६६ देखि ०७८/७९ सम्ममा वैदेशिक रोजगार विभागबाट ५० लाख आठ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा महिलाको संख्या दुई लाख ८६ हजार दुई सय ४२ छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकअनुसार सचिवालयको स्थापनादेखि आव ०७८/७९ सम्ममा वैदेशिक रोजगारीका क्रममा १० हजार नौ सय ३२ कामदारको मृत्यु भएको छ भने दुई हजार एक सय २५ जना गम्भीर बिरामी तथा अंगभंग भएर फर्किएका छन् । वैदेशिक रोजगारीमा जाने युवामध्ये महिला बढी जोखिममा पर्ने गरेको आम्कासकी कार्यकारी प्रमुख विजया श्रेष्ठ राईले बताइन् । घरेलु कामदारलाई सरकारले प्रतिबन्ध गरेपछि पनि महिलाहरू अवैध प्रक्रियाबाट बिदेसिएका छन् ।