मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ पौष १ शुक्रबार ०६:०७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मत बदर : सबैभन्दा बढी प्रत्यक्षतर्फ सल्यानमा ८.८१%, समानुपातिकतर्फ डोटीमा ९% 

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ पौष १ शुक्रबार ०६:०७:००

सबैभन्दा कम मनाङमा : प्रत्यक्षतर्फ ०.३९% र समानुपातिकतर्फ ०.९५%

प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै अर्थात् ९ प्रतिशत मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् ०.३९ प्रतिशत मत बदर भएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ ७.८२ प्रतिशत मत बदर भएको डोटीमा समानुपातिकतर्फ नौ प्रतिशत बदर भएको हो । मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको छ । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ देशभर भने ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो । जसमा ५ लाख ५९ हजार ७६ मत बदर भएको हो । समानुपातिकतर्फ कुल मतदाताको ६१.८५ प्रतिशत अर्थात् १ करोड ११ लाख २६ हजार २२६ मत खसेको थियो । जसमा ५ लाख ६६ हजार १४४ बदर भएको हो । अन्तिम नामावलीअनुसार एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । 

बदर मतलाई १ प्रतिशतमा झार्ने लक्ष्यसहित निर्वाचन आयोगले यसपालि निर्वाचनमा मतदाता शिक्षामा ५० करोड खर्च गरेको थियो । तर, बदर दर भने ०७४ कै हाराहारीमा छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.१८ प्रतिशत मत बदर भएको थियो । 

‘बदर मतको विषय हामीले सोचेभन्दा अलिक पृथक नै आयो । तर, कारण खोजिसकेका छैनौं । कस्ता प्रकृतिका मतपत्र बदर भएको हो भनेर मतगणना गर्ने कर्मचारी र निर्वाचन अधिकृतसँग विवरण मागेका छौं,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘आयोगले अब समीक्षा गरेर सुधारको प्रयत्न गर्छ ।’ 

आयोगकाअनुसार प्रदेश १ का १६ जिल्लामध्ये सबैभन्दा धेरै सुनसरीमा ६.७४ प्रतिशत रसबैभन्दा कम तेह्रथुममा ३.१७ प्रतिशत बदर भएको छ । समानुपातिकतर्फ सबैभन्दा धेरै सोलुखुम्बुमा ६.८४ प्रतिशत र कम तेह्रथुममा ३.७५ प्रतिशत मत बदर भएको छ । 

मधेशका ८ जिल्लामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै महोत्तरीमा ६.६७ प्रतिशत मत बदर भएको छ भने बारामा सबैभन्दा थोरै ४.३८ प्रतिशत बदर भएको छ । त्यस्तै, समानुपातिकमा सबैभन्दा धेरै रौतहटमा ६.१९ र सर्लाहीमा थोरै ४.१६ प्रतिशत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

बागमतीका १३ जिल्लामध्ये सबैभन्दा धेरै रामेछापमा ५.२५ र सबैभन्दा थोरै रसुवामा २.७८ प्रतिशत मत बदर भएको छ । समानुपातिकतर्फ भने धेरै मत बदर हुने जिल्ला सिन्धुली र कम बदर हुने भक्तपुर छन् । सिन्धुलीमा ५.२३ र भक्तपुरमा २.१४ प्रतिशत मत बदर भएको छ ।  

गण्डकीका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै ५.६५ र सबैभन्दा कम मनाङमा ०.३९ प्रतिशत बदर भएको छ । समानुपातिकतर्फ भने धेरै अर्थात् ५.७३ प्रतिशत मत गोरखामा बदर भएको छ । थोरै अर्थात् ०.९५ प्रतिशत बदर मनाङमा भएको छ । 

लुम्बिनीका १२ जिल्लामध्ये रोल्पामा सर्वाधिक ७.९२ प्रतिशत बदर भएको छ । त्यस्तै, थोरै बदर पाल्पामा २.७६ प्रतिशत छ । समानुपातिकमा भने रोल्पामा सबैभन्दा धेरै ८.१७ र पाल्पामा सबैभन्दा कम २.९ प्रतिशत बदर भएको छ । 

कर्णालीका १० जिल्लामध्ये सल्यानमा सबैभन्दा धेरै ८.८१ प्रतिशत र हुम्लामा थोरै २.०१ प्रतिशत बदर छ । समानुपातिकतर्फ जाजरकोटमा सबैभन्दा धेरै ८.२३ र हुम्लामा सबैभन्दा कम २.८५ प्रतिशत बदर छ । 

सुदूरपश्चिमका ९ जिल्लामध्ये सबैभन्दा धेरै डोटीमा ७.८२ प्रतिशत मत बदर हुँदा बाजुरामा सबैभन्दा कम अर्थात् २.०५ प्रतिशत बदर छ । यो प्रदेशमा समानुपातिकतर्फ पनि डोटीमै सबैभन्दा धेरै ९ प्रतिशत र बाजुरामै सबैभन्दा कम ३.०४ प्रतिशत बदर भएको छ । 

प्रदेश सभामा ४.०७ प्रतिशत मत बदर
प्रदेशसभातर्फ प्रत्यक्षमा खसेको १ करोड १० लाख ३४ हजार ५ सय अर्थात ६१.३६ प्रतिशत मतमा ४.०७ प्रतिशत बदर भएको छ । जसमा रोल्पामा सबैभन्दा धेरै ६.५३ र मनाङमा सबैभन्दा कम ०.२७ प्रतिशत बदर भएको आयोगले जनाएको छ । 

समानुपातिकमा खसेको १ करोड १० लाख २८ हजार ३७६ अर्थात ६१.३१ प्रतिशत मतमा ६.५५ प्रतिशत बदर भएको छ । यसमा ९.४५ प्रतिशतसहित बाँकेमा सबैभन्दा धेरै र मनाङमा १.५३ प्रतिशत अर्थात् सबैभन्दा कम मत बदर भएको छ । 

मतदान धेरै डोल्पामा, कम रोल्पामा
सबैभन्दा धेरै मतदान डोल्पामा भएको छ । २२ हजार ७७४ मतदाता भएको डोल्पामा १७ हजार ८८७ मत खसेको छ । यो कुल मतदाताको ७८.६९ प्रतिशत हो । त्यस्तै, एक लाख ४५ हजार ४७१ मतदाता रहेको रोल्पामा ६७ हजार २१ मत मात्रै खस्यो । यो कुल मतदाताको ४६.०७ प्रतिशत हो । 

समानुपातिकतर्फ पनि सबैभन्दा धेरै मत डोल्पा र कम रोल्पामै खसेको छ । डोल्पामा १८ हजार ३१५ अर्थात् ८०.४२ प्रतिशत मत खस्दा रोल्पामा ६७ हजार ७३३ अर्थात् ४६.५६ प्रतिशत मत खसेको हो । निर्वाचनमा प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत र समानुपातिकतर्फ  ६१.८५ प्रतिशत अर्थात् १ करोड ११ लाख २६ हजार २२६ मत खसेको थियो ।