१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
पवन तिमिल्सिना काठमाडाैं
२०७९ मङ्सिर २७ मंगलबार १०:१९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऋणीमाथि ऋण थोपर्दा तरलताको समस्या आयो : गभर्नर

बैंकर भन्छन्– सरकार, राष्ट्र बैंक र निजी क्षेत्रको मिलन बिन्दु नै अहिलेको चुनौती

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २७ मंगलबार १०:१९:००

वाणिज्य बैंकहरूले ऋणीमाथि ऋण थोपर्दा लगानीयोग्य तरलताको समस्या आएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै उनले बैंकहरूले ऋण असुल्नुभन्दा पनि ऋणीमाथि ऋण थप्दै जाँदा प्रणालीमा स्रोतको अभाव भएको उनले बताए । उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी सहज बन्दै गइरहेको छ ।

ऋणमाथि ऋणको परम्पराले नयाँ ऋणीलाई भित्रिन दिएनन् । ऋणीको व्यवसाय विस्तार भएको देखिँदैन । तर, ऋण थपिएको थपियै छन् । हाम्रो प्रणाली नै त्यस्तो बनिसक्यो ।’ बैंकहरू ऋण उठाउनभन्दा बढी ऋण थप्न तम्सिएकै कारण बजारमा तरलताको समस्या ज्युँका त्युँ रहेको उनको भनाइ छ । पुराना ऋणीलाई ब्याज तिराउन मात्रै बैंकहरूले ऋण थपिरहेको उनको विश्लेषण छ ।

ब्याज तिरेपछि बैंकहरूको आम्दानी पनि बढेको देखिने भएकाले सकभर ऋण थप्नमै बैंकहरूलाई सहज हुने उनको भनाइ छ । उनले भने, ‘बैंकहरूले ऋणीलाई ब्याज तिर्नलाई ऋण दिने गरेका छन् । त्यहीँ ब्याज देखाएर आफ्नो आम्दानी देखाउँछौँ । ती दिन हामीले क्रमशः हटाउँदै जानुपर्छ ।’

 सहज बन्दै लगानीयोग्य तरलता
राष्ट्र बैंकका गभर्नर अधिकारीले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गइरहेको बताए । विगतमा अधिकतम तीन खर्बसम्म पुगेको स्थायी तरलता सुविधा अहिले पाँच अर्बमा सीमित भएको छ । त्यस्तै, अधिकतम साढे ८ प्रतिशतसम्म पुगेको अन्तरबैंक ब्याजदर आइतबारसम्म ७.०८ प्रतिशत कायम भएको छ ।

शोधनान्तर स्थितिमा समेत सुधार आइरहेको राष्ट्र बैंकको तीन महिनाको तथ्यांकले देखाएको छ । यी सबै तथ्यांकले बजारमा तरलता सहज बन्दै गइरहेको संकेत मिलेको गभर्नर अधिकारीको भनाइ छ । अहिलेको समस्या नेपालको मात्र नभई संसारभरको रहेको भन्दै वर्तमान समयमा सबै पक्षले सहनशीलता देखाउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘यो नेपाल मात्रको होइन, संसारभरिकै विषय हो । अमेरिकाकै नीतिगत ब्याजदर ०.२५ बाट ४.२५ प्रतिशत पुग्यो । महँगी, ऊर्जा संकटलगायतका समस्याले संसारलाई नै गाँजिरहेको छ । त्यसैले हामी सबैले सहनुपर्छ ।’

बैंकर्स संघका अध्यक्ष उपाध्यायले पनि अर्काे वर्ष नेपालमा मात्र नभई विश्वव्यापी बैंकिङ क्षेत्रमा सुधारको संकेत देखिने बताए । ‘विगत दुई वर्षयता नेपालको बैंकिङ क्षेत्रको असन्तुलन मिलाउन प्रयासरत छौँ,’ उनले भने, ‘सन् २०२३ सम्मको परिवेश हेर्दा विश्वव्यापी बैंकिङ क्षेत्रमै दिगो स्रोत संकलन, ब्याजदर व्यवस्थापन, जोखिममा आधारित कर्जा मूल्यांकन, आक्रामक व्यावसायिक रणनीति र डिजिटल बैंकिङतर्फ केन्द्रित भएको आशातीत अवस्था आएको छ ।’

 त्रिकोणात्मक मिलन बिन्दु नै अहिलेको चुनौती : अध्यक्ष उपाध्याय
सरकार, राष्ट्र बैंक र निजी क्षेत्रको मिलन बिन्दु नै वर्तमान समस्याको मुख्य चुनौती रहेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले बताएका छन् । सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिको लक्ष्यबमोजिमको विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र निजी क्षेत्रले उठाएको ब्याजदर स्थायित्वको त्रिकोणात्मक मिलन बिन्दु नै अहिलेको मुख्य चुनौती रहेको उनले बताए ।

उनले भने, ‘विद्यमान बैंकिङ प्रणालीमा चुनौतीका रूपमा उच्चतम ब्याजदर, स्रोत संकलन, अर्थतन्त्रमा आएको मन्दी, बढ्दो व्यापारघाटाका कारण तरलतामा परेको चापका कारण बैंकहरू कर्जा गुणस्तरीयतामा प्रभावित भएको देखिन्छ ।’ यस्तै बढ्दो कर्जाको ब्याजदर र महँगीका कारण उद्योगी–व्यवसायी उत्पादनमुखी हुन नसकेको उनको भनाइ छ ।