काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाइ गरेर बागमतीबाट करिब २० हजार टन फोहाेर निकालिएको छ।
०७२ जेठ ५ गते बागमती सफाइ महाअभियान सुरु भएको हो। त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घन्टा सफाइ गरिँदै आएको छ।
साप्ताहिक रूपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहाेर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ। सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बागमती पूर्ण रूपमा सफा हुन सकेको छैन।
सर्वसाधारणले बागमतीमा यसरी फोहाेर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन। फोहाेर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।
महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बागमती नदीको फोहाेर संकलन गरेका छन्।
स्वस्फूर्त रूपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन्। सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साहले बताए।
सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ। वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ।
जागरणमूलक बागमती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर सयभन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ।
सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती नदी किनारको दायाँबायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको बागमती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुमबासीका कारण प्रभावित भएको छ।
अधिकारसम्पन्न बागमती समितिको सञ्चालक सदस्यसमेत रहेकीकी सफाइ अभियानकर्मी डा. माला खरेल नदी किनारका सुकुमबासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताइन्।
काठमाडौं महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन्।